१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

व्यवसाय छाडेर अकबरे खुर्सानीको खेती

आफ्नो बारीमा लगाएको अकबरे खुर्सानी टिप्दै किसान जितबहादुर भट्ट। तस्बिरः नरहरि सापकोटा÷नागरिक

गोरखाको गण्डकी गाउँपालिका–४ फुजेल ढाबेमा एकसय १७ रोपनी जग्गामा खुर्सानी खेती गरिएको छ। किसान जितबहादुर भट्टले आफ्नो १६ रोपनी र १ सय १ रोपनी जग्गा भाडामा लिएर खेती गर्दै आएका हुन्।  

‘यती ठुलो क्षेत्रफलमा अकबरे खुर्सानी लगाइएको म नै पहिलो किसान हुँ जस्तो लागेको छ,’ किसान भट्टले भने ‘तर अहिलेसम्म मैले कहीँ कतैबाट अनुदान, सहयोग लिएको छैन।’ दुईवर्षदेखि उनले खुर्सानी लगाउने तयारी थाले । गत भदौदेखि उत्पादन लिन सुरु गरे। ‘बेमौसमी वर्षातले खुर्सानी खत्तम भयो,’ उनले भने ‘यो बेला ३० लाख रुपैयाँ सम्मको खुर्सानी बेच्नुपर्ने बेला एकलाख ५० हजारको मात्रै बेचे।’ अहिलेसम्म पाँच क्वीन्टल मात्र खुर्सानी बिक्री गरेको उनले बताए। ‘बिक्री गर्न भने समस्या छैन, अहिले दुईसय २५ रुपैयाँ प्रतिकिलोमा बिक्री हुन्छ,’ उनले भने ‘तर उत्पादन यो सिजनमा भएन, वर्षातले बोट सखाप बनायो।’

खुर्सानी खेतीका लागि मात्रै उनले ३७ लाख रुपैयाँ खर्च गरेका छन्। ‘वर्षातले नबिगारेको भए लगानी गरेजति ओत्ने थियो’ उनले भने ‘अहिले व्यवसाय सुरु गर्दा लागेको ऋण तिर्न सक्ने अवस्था छैन, मैले कतैबाट सहयोग भयो भने खुर्सानीको पकेट क्षेत्रको रुपमा बिकास गर्ने योजना पनि बनाएको छु।’ त्यहाँको हावापानीमा अकबरे खुर्सानी राम्रो फल्ने उनले बताए। पिरो पनि अत्याधिक हुने हुँदा माग भने बढी रहेको किसान भट्ट बताउँछन्।  

जितबहादुर भट्ट भुतपूर्व सैनिक हुन्। २०५६ सालमा नेपाली सेनाबाट निवृत्त भए। त्यसपछि उनको बसोबास गोरखा नगरपालिका १३ देउराली रामशाह टोलमा भयो। उनी सामाजिक क्षेत्रमा सक्रिय भए। रामशाह टोल सुधार समितिको दुई कार्यकाल अध्यक्ष भएर काम गरे। बिभिन्न सामाजिक संघ संस्थामा उनी आवद्ध रहे। मझुवामा रहेको गोरखकाली रबर उद्योगको बचाउ समितिमा ६ वर्ष सम्म संयोजक भएर स्थानीयको प्रतिनिधित्व गर्दै अभियान चलाए। त्यो सँगै उनले पेशा व्यवसाय पनि गरेका थिए। भूकम्प, नाकाबन्दी जस्ता कारणले उनको ब्यापार खस्कियो। अन्ततः उनी किसानी गर्ने सोच बनाएर फुजेल फर्किए।  

२०७४ सालमा गाउँ फर्किएका उनले बाख्रा पाल्ने सोच बनाए। गाउँमा ब्यवस्थित रुपमा चल्न नसकेको कालिका कृषक समुहले संचालन गरेको बाख्रा फार्म उनले लिए। उनको योजना बाख्रा पालनमा बन्यो। २०७५ मा उनले २२ वटा बाख्राबाट व्यवसाय थाले। ८६ वटा सम्म बाख्र फर्ममा पुग्यो। एकै पटक ५३ वटा सम्म बाख्रा मरेपछि ठुलो आर्थिक क्षती ब्यहोर्नुपरेको उनले बताए। बाख्रालाई मात्रै १४ लाख रुपैयाँ उनले लगानी गरेको बताउँछन्।  

‘बाख्राबाट क्षती भएपछि खुर्सानीको सम्भावना देखे,’ उनले भने ‘७५ हजार बिरुवा लगाएको २५ हजार भन्दा बढि पानीले खत्तम बनाएपछि समस्या भएको हो।’ खुुर्सानी तीनवर्ष सम्म रहने उनी बताउँछन्। वर्षमा दुईदेखि चारपटक  टिप्न मिल्छ। ‘पाकेको खुर्सानीको माग धेरै छ’ किसान भट्ट भन्छन्। उनले स्थानीय १० जना महिलालाईलाई रोजगारी दिएका छन्। दैनिक छ सय रुपैयाँमा बिहान बेलुकी घरको काम गरेर कमाई गर्न पाउँदा स्थानीय पनि दंग छन्।  

‘एक सय १७ रोपनी क्षेत्रफलमा खुर्सानी नेपालकै नमुना हुनुपर्छ,’ भट्ट भन्छन् ‘तर मेरो खेती अनुसार वडा, पालिका, प्रदेश, ज्ञान केन्दको सहयोग भएमा अझ बिस्तारमा सहज हुन्थ्यो ।’ बाँझोबारी जोत्न दुई वर्षअघि कृषि ज्ञान केन्द्रले थोरै सहयोग गरेको र अन्यथा सबै ऋण लिएर काम गर्नुपर्दा उत्पादन नहुँदा समस्या परेको उनले बताए।  

खुसार्नीको छेउछाउमा उनले फूल पनि लगाएका छन् । सयपत्री फूल लगाउँदा खुर्सानीमा किरा कम लागेको उनको अनुभव छ। साथै खाली जमिनको पनि उपयोग भएको र फूलबाट पनि केही आम्दानी लिन सकिने उनले बताए। खुर्सानीलाई किथ्रिका र झुसिलकिराले भने सताउँछ। ‘साथ सहयोग मिल्यो भने खुर्सानीलाई यस क्षेत्रको पहिचान बनाउने योजनामा छु’ उनले भने।  

प्रकाशित: ३ मंसिर २०७८ १०:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App