१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भक्तपुरका बन्द इँटा उद्योग सञ्चालनको तयारी, नगरपालिका स्वीकृतिको विपक्षमा

कोरोना संक्रमणका कारण बन्द भक्तपुरका इँटा उद्योगहरु यो वर्ष सञ्चालन हुने भएका छन्। इँटा व्यवसायीहरुले उद्योग सञ्चालनको तयारी गरिरहेका छन्। अहिले उद्योग सञ्चालनका लागि आवश्यक जनशक्ति र विभिन्न संसाधनको जोहो गर्ने क्रममा इँटा व्यवसायीहरु लागेका छन्।

भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्बाले लामो समयसम्म बन्द रहेका उद्योगहरु यो वर्षबाट सञ्चालन गर्ने गरी तयारी भइरहेको बताए।

उद्योगीहरुले कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिएर २०७६ साल चैतदेखि इँटा उद्योग बन्द गरेका थिए। २०७७ सालमा पनि उनीहरुले इँटा उद्योग सञ्चालन गरेका थिएनन्। बढ्दो स्वास्थ्य जोखिमका कारण केही समय इँटा उद्योग सञ्चालन नगर्नका लागि गत वर्ष चाँगुनारायण नगरपालिकाले समेत अनुरोध गरेको थियो। ‘सोही अनुरोधका आधारमा बन्द भएका उद्योगहरु यो वर्षदेखि सञ्चालन गर्ने क्रममा छौं’, संघका अध्यक्ष ह्योम्बाले भने।

उनले लामो समय इँटा उद्योग बन्द हुँदा बढेको इँटाको मागसमेत पूरा गर्न मुश्किल हुनेमात्र नभई लामो समयसम्म उद्योगमा आश्रित मजदुरहरु बेरोजगार बस्नु परेकाले उद्योग सञ्चालन गर्न लागिएको बताए।

व्यवसायीहरुले उद्योग बन्द हुँदा त्यसको प्रभाव जिल्लामा मात्र नभई अन्य सबै क्षेत्रमा परेको थियो।इँटा उद्योग सञ्चालनका लागि व्यवसायीहरुले पेश्की समेत बाँडिसकेका छन्। अहिले उद्योगमा इँटा पार्ने मजदुरहरु आउन थालेको व्यवसायीहरुले जानकारी दिए।

इँटा उद्योगमा विशेष गरी काभ्रे, सिन्धुपाल्चोक, धादिङ, रामेछाप, सर्लाही, रोल्पा, रुकुम, कालिकोट, दाङलगायतका जिल्लाबाट मजदुरहरु आउने गरेका छन्। इँटा उद्योग सञ्चालन नहुँदा उद्योगीहरु मर्कामा परेको व्यवसायीहरुको भनाइ छ।

उनीहरुले एक वर्ष उद्योग सञ्चालन नगर्दा प्रति इँटा उद्योग एक करोड बढी घाटा व्यहोरेको बताए। भक्तपुरमा मात्र ६२ वटा इँटा उद्योग छन्। एउटा उद्योगले उद्योग सञ्चालनको समयमा न्यूनत्तम ३ सयदेखि ५ सयसम्म मजदुरलाई रोजगारी दिने गरेको छ।  

विशेषतः इँटा उद्योग मंसिरदेखि जेठसम्म(६ महिना) सञ्चालन हुने गरेका छन्। गत वर्ष इँटा उद्योग सञ्चालन गर्न नपाउँदा उद्योगले धेरै घाटा व्यहोरेको ताथलीको जय महाकाली इँटा उद्योगका प्रबन्धक हरिराम बुयोले बताए। उनले उद्योग सञ्चालन नभए पनि भाडामा लिइरहेको जग्गाको कुत तिर्नुपरेको, उद्योगका धेरै सामानहरु बिग्रिएको बताए।

व्यवसायीहरुले यो वर्ष इँटा उद्योगमा आउने मजदुरहरुलाई खोपको प्रबन्ध समेत गर्ने गरी तयारी गरिरहेको संघका अध्यक्ष ह्योम्बाले बताए। उनले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर उद्योग सञ्चालनको तयारी गरिरहेको बताए।

व्यवसायीहरुले इँटा भट्टा सञ्चालनको तयारी गरे पनि चाँगुनारायण नगरपालिका भने उद्योग सञ्चालन गर्न दिने मुडमा देखिएको छैन। नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले इँटा भट्टा सञ्चालनका लागि नगरपालिकाले तत्कालै अनुमति नदिने बताए। ‘ हामीले इँटा उद्योग नचलाउनुस् भनिरहेका छौं, त्यसको मुख्य कारण कोभिड नै अरु सहायक कुराहरु पनि छन्’, उनले भने। उनले ती सहायक कुरा भने खुलाउन चाहेनन्।

स्थानीय तहको निर्वाचनसँगै इँटा उद्योगी र स्थानीय पालिकाबीच अदृष्य द्वन्द्व रहेको थियो। व्यवसायीहरुको अहिलेको तयारीले पनि नगरपालिका र व्यवसायीबीच तिक्तताको अवस्था सिर्जना हुने सम्भावना छ। भक्तपुरका इँटा भट्टाको कारण प्रदूषण बढेको आरोप व्यवसायीहरुले खेप्दै आएका छन् भने व्यवसायीहरुले इँटा उद्योग क्रमशः वातावरणमैत्री बन्दै गइरहेको बताउँदै आएका छन्।

कर मिनाहाको माग

व्यवसायीहरुले उद्योग बन्द रहेको समयको कर मिनाहाको माग गरेका छन्। उनीहरुले चाँगुनारायण नगरपालिकाले इँटा उद्योगबाट वार्षिक रुपमा लिँदै आएको कर  मिनाहा गरिदिन नगरपालिकासमक्ष माग गरेका छन्।

उनीहरुले वार्षिक प्रति इँटा उद्योग ७ लाखको दरले कर तिर्दै आएका छन्। उद्योग सञ्चालन नभएको बेला कर तिर्नका लागि स्रोत अभाव भएको भन्दै उनीहरुले कर मिनाहा गर्न नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रसमक्ष माग गरेको संघका अध्यक्ष नातिभाइ ह्योम्बाले बताए।

प्रकाशित: २५ कार्तिक २०७८ ०५:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App