२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

कोलाहलपूर्ण बन्दै लेकसाइडको ‘नाइट लाइफ’

व्यवसायी भन्छन्ः व्यवसाय मर्यादित हुन सकेन

पोखराको पर्यटकीय क्षेत्र लेकसाइड। तस्बिरः उमेश पुन/नागरिक

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन व्यवसायलाई उकास्न सघाउने भन्दै स्थानीय प्रशासनले यहाँको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा राती अबेरसम्म व्यवसाय संचालन गर्न अनुमति दियो। प्रशासनको अनुमतिले लेकसाइडका धेरै व्यवसाय राती अबेरसम्म खुल्न त थाले, तर, अबेरसम्म खुल्ने कतिपय व्यवसाय व्यवस्थित नहुँदा त्यसको मार परेको भन्दै अरु व्यवसायीले गुनासो गर्न थालेका छन्।

राती अबेरसम्म खुल्ने डान्स, डिस्को, दोहोरी लगायतका व्यवसायका कारण पछिल्लो समय लेकसाइडको ‘नाइट लाइफ’ कोलाहलपूर्ण बन्दै गएको अरु व्यवसायीको भनाई छ। पोखरा घुम्न आएका पाहुनालाई सुविधा होस भनेर राती अबेरसम्म व्यवसाय खोल्न प्रशासनले अनुमति दिएपनि व्यवसायीले व्यवस्थापन गर्न नजान्दा रात्री जीवनशैली झनै कोलाहलपूर्ण बनेको स्थानीयको गुनासो छ।  

स्थानीयका अनुसार अहिले राती ११ बजेपछि लेकसाइड अशान्त बन्दै जान्छ। मध्यरात हुँदै जाँदा झै झगडा हुने, मदिरा सेवन गरेर होहल्ला गर्ने, तिब्रगतिमा सवारी हाक्ने, ठुलो आवाजको म्युजिक बजाएर डान्स, डिस्को संचालन गर्ने लगायतका समस्या बढेका छन्। ती समस्याका अरु व्यवसायी र स्थानीयलाई सकस परेको उनीहरुले बताए। ‘एकजना स्थानीय भन्छन, ‘पछिल्लो समय लेकसाइडको माहोल राम्रो छैन। जति रात छिप्पिँदै जान्छ, उत्ति नै होहल्ला बढ्छ । मध्यरात पछि त झनै सकसपूर्ण बन्छ।’

ती स्थानीयका अनुसार मदिरा सेवन गरेर होहल्ला गर्ने, बाहिरैसम्म चर्काे आवाज आउनेगरि म्युजिक बजाउने गरिएको छ। अबेर गरि डान्स, डिस्कोबाट बाहिरिएका पाहुना होहल्ला गर्दा झनै समस्या थपिएको उनीहरुको भनाई छ। ‘पर्यटनमा शान्त वातावरण पनि चाहिन्छ। कतिपय व्यवसायीले आफ्नो व्यवसायलाई साउन्डप्रुफ बनाउन नसक्दा त्यसको असर अरुलाई परेको छ,’ उनले भने, ‘मध्यरात हुँदै जाँदा लेकसाइड पुरै होहल्लाले प्रदुषित बनिसक्छ।’

पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार केही अघिसम्म लेकसाइडमा रात्रीकालिन व्यवसाय बेलुकी ८ बजेसम्म मात्र संचालन गर्न दिइन्थ्यो। तर, पछिल्लो समय कोरोनाले थलिएको व्यवसायलाई उकास्न सहयोग होस भनेर स्थानीय प्रशासनले मध्यरातसम्म व्यवसाय खोल्न दिइएको छ। ‘रात्रीकालिन व्यवसाय अनुशासित हुनै सकेन। त्यसले गर्दा अबेरसम्म खुलेको व्यवसायले लेकसाइडलाई अशान्त बनायो,’ सुवेदीले भने, ‘यही अवस्था रहिरहे पोखरा आएका पोखरा आएका पाहुना अन्यत्रै जानेछन्।’  

सुवेदीका अनुसार राती अबेरगरि खुल्ने डान्स, डिस्को, दोहारी लगायतका व्यवसायले गर्दा समस्या बढेको छ। ‘राती ११ बजेसम्म डान्स, डिस्को संचालन गर्ने सुरसार नै हूँदैन। रात ढल्दै जाँदा बल्ल डिस्को र डान्स संचालन हुन्छन्। त्यसपछि अन्यत्र खानपिन गरेर आएका पाहुनाको होहल्ला बढ्छ,’ उनले भने, ‘ती डान्स, डिस्कोबाट निस्केको ठुलो आवाजको कारणले आसपासका मान्छे सुत्न सकेका छैनन।’ उनका अनुसार डान्स, डिस्को संचालन भएका ठाउँ आसपासका होटलमा बसेका पाहुना समते होहल्लाले सुत्न नपाएको भन्दै अन्यत्र बसाई सर्ने गरेका छन्।  

‘लेकसाइडमा अहिले शान्ति सुरक्षाको समस्या छ। मध्यरातमा डान्स, डिस्कोबाट बाहिरिएका पाहुना बाटोमै एकअर्काबीच कुटपिट गरिरहेका हुन्छन,’ उनले भने। कोरोनाका कारण स्थापित गर्नका लागि भन्दै ढिलासम्म व्यवसाय खोल्न दिँदा झनै बिस्थापित हुने त्रास बढेको उनले बताए। ‘पाहुना नै बसाई सर्ने त्रास छ। बेलैमा रोकथाम गर्न सकिएन भने यसले पर्यटन क्षेत्र नै ध्वस्त हुनेछ,’ उनले भने, ‘२४ घण्टा व्यवसाय खोल्दा आपत्ति छैन, तर व्यवस्थापन हुन सकेको छैन। व्यवसाय मर्यादित हुन सकेन।’ आवासीय क्षेत्रमा सबैखाले व्यवसाय हुँदाको समस्या रहेको उनले बताए।  

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान) पोखराका अध्यक्ष लक्ष्मण बराल पनि अबेरसम्म खोलेर व्यवसाय संचालन गर्दा अरुलाई अप्ठेरो पार्न नहुने बताउँछन्। ‘एकजनाले व्यवसाय गर्दा अरुलाई असर पर्नु हुँदैन भन्नेमा हामी सचेत हुनुपर्छ,’ उनले भने, ‘पर्यटनमा शान्ति सुरक्षाको माहोल बिग्रनु हुँदैन।’

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपिबहादुर भट्टराई पनि पछिल्लो समयमा राती अबेरसम्म व्यवसाय खुल्दा त्यसको मार अरु क्षेत्रमा परेको बताउँछन्। ‘रातको समयमा होहल्ला बढेको छ। डान्स, डिस्कोमा भित्र पाहुना रमाएका हुन्छन, तर बाहिर निस्कदा होहल्ला गर्छन। त्यसले शान्ति सुरक्षा र साउन्ड प्रदुषण बढेको हो। रात्रीकालिन व्यवसाय व्यवस्थित बन्नुपर्छ,’ भट्टराईले भने, ‘राती अबेरसम्म खोल्न दिँदा समस्या भएको हो, यसमा व्यवसायी पनि जिम्मेवार हुनुपर्छ। सरकारले शान्ति सुरक्षा दिनुपर्छ।’

उनका अनुसार कोरोनाले थलिएको पर्यटनमा सहज होस भनेर राती अबेरसम्म व्यवसाय खोल्न स्थानीय प्रशासनले अनुमति दिएको छ। तर, त्यो व्यवसाय मर्यादित हुन सकेको छैन। कतिपय व्यवसायीले अरुको मर्का बुझ्न नसक्दा यो समस्या दोहोरिने गरेको छ। ‘व्यवसाय १० बजे बन्द गरेर चल्दैन भनेर अबेरसम्म खुल्न दिइएको हो। कोरोना संक्रमण घट्दै जाँदा अबेरसम्म संचालन गर्न दिइएको हो,’ उनले भने, ‘तर, व्यवसाय मर्यादित र व्यवस्थित हुन सकेको छैन।’ 

उनका अनुसार राती २ बजेपछि सबै व्यवसाय पूर्ण रुपमा बन्द हुनुपर्ने भनेर निर्णय भएको हो। केही वर्ष अघि पनि कतिपय व्यवसायीले अदालतबाट आदेश लिएर राती २ बजेसम्म व्यवसाय संचालनको अनुमति लिएका थिए। तर, अरु व्यवसायीले पनि पाउनुपर्छ भनेर माग गरेपछि प्रशासनले अनुमति दिएपनि व्यवस्थित हुन नसकेको उनले बताए।  

‘हामी आफै पनि सचेत हुनुपर्छ। स्थानीय प्रशासनले पनि ध्यान दिनुपर्छ। आन्तरिक पर्यटकको भीड बढ्दा होहल्ला बढ्ने हुन्छ। आन्तरिक पर्यटक बढेसँगै समस्या थपिएको छ,’ उनले भने, ‘अब त्यसलाई नियन्त्रण गर्नुपर्छ। यसप्रति सबै चिन्तित हुनुपर्छ।’ यस्तै माहोल रहिरहे विदेशी पाहुना आउँदाको दिनमा नराम्रो सन्देश जाने उनले बताए। ‘विदेशी शान्त माहोलमा बस्न चाहछन। तर अहिलेको होहल्लाले समस्या पार्ने देखिएको छ,’ उनले भने। अबेरसम्म खुलेका डान्स र डिस्को लगायतका व्यवसायबाट निस्किएका पाहुनाको होहल्ला बढि रहेको उनले बताए। ‘मध्यरातपछिको आवाजले अरुलाई अप्ठेरो पारेको छ। रात्रीकालिन व्यवसाय पूर्णरुपमा साउन्ड प्रुफ बनाउनुपर्छ भन्ने हाम्रो चाहना हो,’ उनले भने।  

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार राती १ बजेसम्म लेकसाइड खुला रहने गरि प्रशासनले अनुमति दिएको छ। अबेरसम्म खोल्ने अनुमति पाउँदैमा शान्ति सुरक्षामा खलल पु¥याउन नपाउने उनले बताए। ‘स्थानीय प्रशासनले राती १ बजेसम्म व्यवसाय खोल्न पाउने अनुमति दिएको हो। समाजमा शान्ति सुरक्षामा खलल नआओस भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘सुरक्षाको दृष्टिकोणले सुरक्षाकर्मी पनि परिचालन गरेका छौ।’ उनले पनि व्यवसायी आफै सचेत हुनुपर्ने बताए। ‘आफु मात्र नभई अरुका लागि पनि हेर्नुपर्छ। समग्र व्यवसायीको दायित्व पनि रहन्छ,’ आचार्यले भने, ‘एकजनाको व्यवसायको कारणले अर्काेले अप्ठेरो महसुस गर्नु हुँदैन।’

प्रकाशित: २४ कार्तिक २०७८ ०९:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App