१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अन्योलमा छन् मुरी थन्क्याउने बेलाका किसान

काटेकै दिन धान थन्क्याउन थालियोः किसान

तनहुँको शुक्लागण्डकी नगरपालिकाको फाँटमा पाकेर काट्नयोग्य अवस्थाको धानखेती। तस्बिरः नागरिक

तनहुँको ब्यास नगरपालिका–११ का किसान राजेन्द्र पौडेलको १० रोपनी क्षेत्रफल खेतमा रोपेको धान पाकेर काट्न योग्य बनेको छ। तर, उनले अझै धान काट्ने सुर कसेका छैनन्। कारण–केहीदिन अघिको बेमौसमी वर्षाले पूर्व र पश्चिम क्षेत्रमा धानखेतीमा ब्यापक क्षति पुर्‍यायो। त्यसले गर्दा पौडेले पनि तर्सिएका हुन्।

अझै पनि वर्षाको त्रास रहिरहेकोले धान काट्न नथालेको पौडेल बताउँछन्। ‘अहिले झट्ट हेर्दा मौसम त ठिकै देखिन्छ। तर, बेलाबेला मौसमी जानकारी थाहा पाउँदा र वर्षादको कुरा सुन्दा त्रास छ। त्यही भएर धान काट्न थालेको छैन,’ उनले भने । दसैं अघि नै काटेको केही धान पानीमा भिजेकोले तर्सिएको उनले सुनाए।  उनका अनुसार अहिले फाँटमा धान पाकेर पहेलपुर छ। काट्न योग्य अवस्थामा धान छ। तर, सबै किसानले काट्न थालिसकेका छैनन। फेरि पनि वर्षा हुने पो हो कि भनेर किसानले केहीदिन पर्खेको उनले सुनाए।

‘बरु, बोटमै रहँदा खासै असर गर्दैन। तर, पानीमा डुब्यो भने त बर्वाद हुन्छ,’ पौडेलले भने, ‘मुरि थन्क्याउने बेलाको धान नोक्सान हुँदा किसान मर्माहत छन्। फेरि पनि त्यस्तै अवस्था आउने पो हो कि भन्ने डर हो।’ उनले अझै केहीदिन पर्खेर मात्र धान काट्ने बताए।  

तनहुँकै शुक्लागण्डकी–८ की किसान मञ्जु श्रेष्ठले पनि बेमौसमी वर्षाले गर्दा धान भित्र्याउने तरखरमा रहेका किसान त्रसित रहेको बताईन्। ‘वर्षामा रोप्ने बेलामा त्रास, हिउँदमा भित्र्याउने बेलामा डर भयो,’ श्रेष्ठले भनिन, ‘किसानलाई सधै मार छ।’ उनले पनि आफुले काटेको केही धान पानीमा डुबेको बताईन्। ‘दसैं अघि नै काटेको धान पानीमा डुब्यो। अब फेरि पनि वर्षा हुने हो की भन्ने डर छ,’ उनले भनिन, ‘वर्षाको त्रासले किसानलाई अन्योल बनाएको छ।’

उनका अनुसार कतिपय किसानले पाकेर ठिक्क परेको धान बल्ल सोमबारदेखि काट्न पनि थालेका छन्। तर, धान काटेका किसान राती निदाउन भने सकेका छैनन। ‘दिउँसो काटेको धान राती वर्षा भएर डुब्ने हो कि भन्ने त्रास सर्वत्र छ,’ श्रेष्ठले भनिन, ‘धान काट्न थालेका किसानले पनि हतारहतार काम गरेका छन्। किसान जतिसक्दो छिटो धान भित्र्याउन चाहन्छन्।’

पोखरा महानगरपालिकाको लेखनाथ क्षेत्रका किसान कमल अधिकारीका काटेको धान कम्तिमा तीनदिन सुकाएर मात्र थन्क्याउने अघिल्ला वर्षको चलन तोडेर अहिले किसानले काटेकै दिन थन्क्याउने गरेका छन्। ‘काटेको धान तीदिनसम्म खेतमै सुकाएर मात्र भित्र्याउँदा ठिक्क हुन्थ्यो। तर, अहिले वर्षादको डरले किसानले हतारहतारमा काटेकै दिन धान थन्क्याउने गरेका छन,’ अधिकारीले भने, ‘बेमौसमी वर्षाले केहीदिन अघि अन्य प्रदेशमा ब्यापक क्षति पुर्‍याएपछि सबैतिरका किसान तर्सिएका छन्। कास्कीमा पनि त्यसकै असर परेको हो।’ उनका अनुसार लेखनाथ क्षेत्रका केही किसानले बल्ल सोमबारदेखि धान काट्न थालेका छन्। तर, किसान निकै नै हतारोमा छन्। किनकी कुनैपनि रात वर्षा हुन सक्ने भएकोले किसान तर्सिएका छन्।

कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख शालिकराम अधिकारी पनि मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार अब मौसममा सुधार आउने भनिएको छ। तर, कास्कीमा बढी पानी पर्ने भएकोले किसान विभागको सूचनाप्रति उत्तिसारो विश्वस्त छैनन्। विभागको पूर्वानुमान पनि कास्कीको हकमा हत्तपत्ति नमिल्ने भएकोले किसान त्रसित रहेको उनले बताए।

‘काटेको धान तुरुन्तै पानीमा डुब्दा नोक्सान हुन्छ। तर, बोटमै रहँदा खासै फरक पर्दैन,’ अधिकारीले भने, ‘त्यही भएर किसान केहीदिनको पर्खाइमा छन्। अन्यत्रको जस्तो क्षति नहोस भन्ने किसानको चाहना छ।’ 

उनका अनुसार विभिन्न फाँटमा रोेपेको मन्सुली धान काट्ने बेला भएको छ। पोखरा क्षेत्रमा गरिने जेठोबुढो धान खेती अझै पाकेको छैन। त्यस्तै लोकनाथ, रामधान पनि काट्ने बेला भएको छ। उनका अनुसार किसान पनि एकसाताको मौसमको विश्लेषणमा छन्। ‘धान काटिहाल्ने की केहीदिन पर्खिने भन्ने दोधारमा त छन् नै,’ उनले भने, ‘किसान तनावमा पनि छन्। किनकी केहीदिन अघिको क्षति किसानले देखिसकेका छन्।’ पानीमा डुबाएर क्षति गर्नु भन्दा केहीदिन पर्खेर भएपनि भित्र्याउनुपर्छ भनेर किसानले पर्खेको पनि उनले बताए।

त्यस्तै कृषि ज्ञान केन्द्र स्याङजाका प्रमुख बिनोद हमाल पनि त्यस क्षेत्रका किसानले धान भिœयाउन हतारो गरेका छैनन। उनका अनुसार हाइब्रिड धान काट्न ढिलाई भईसकेको छ। स्याङजामा हाईब्रिड कम छ। तर, अरु धान पाकिसकेको भएपनि किसान पर्ख र हेरको अवस्थामा छन्। ‘पाकेको धान पनि काट्न हतार गरेका छैनन्। एकदुईदिन नकाट्दा फरक पर्दैन भन्ने उनीहरुमा छ,’ हमालले भने, ‘धान काट्दा क्षति हुने पो हो की भनेर यो पटक किसान तर्सेका छन्।’ कृषि ज्ञान केन्द्र स्याङजाले पाकेको भएपनि अझै केहीदिन धान काट्न हतार नगर्नु भनेर भनिसकेको हमालले बताए। स्याङजाको चापाकोट नगरपालिका, गल्याङ विरुवा लगायतका क्षेत्रमा बढी धानखेती हुन्छ। 

गण्डकी प्रदेश कृषि निर्देशनालयका अनुसार प्रदेशमा १ लाख १७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। त्यसमध्ये ११ सय ९२ हेक्टरको मात्र धान केहीदिनन अघिको वेमौसमी वर्षादका कारण क्षति भएको छ। बाँकी ३ हजार हेक्टरको आंशिक क्षति रहेको निर्देशनालयको भनाई छ। गण्डकी प्रदेशको १ लाख १३ हजार हेक्टर क्षेत्रफलको धान सुरक्षित रहेको  निर्देशनालयले बताएको छ।

प्रकाशित: ९ कार्तिक २०७८ ०९:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App