१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

अन्नपूर्ण फेरोको पदयात्रामा ह्विलचेयरका पाहुना

५४१६ मिटर उचाईको थोराङला भञ्ज्याङ पार गर्ने तयारी

जहाज चढेर मनाङ पुगेका विदेशी पाहुनाले ह्विलचेयर ओराल्दै । तस्बिरः नागरिक

कोरोना भाइरस संक्रमणको दोश्रो लहर कमजोर भएको मौका पारेर पर्यटन क्षेत्र केही ब्यूतिने प्रयासमा छ । यही प्रयासबीच विदेशी पर्यटकले पनि नेपाल घुमघाममा चाँसो देखाउन थालेको व्यवसायीको भनाई छ । त्यही क्रममा अन्नपूर्ण फेरो पदयात्रा लागि आएका ४२ जना विदेशी समुह यतिबेला हिमाली जिल्ला मनाङको माथिल्लो मनाङमा पुगेका छन् ।  

५४१६ मिटर उचाईको थोराङला भञ्ज्याङ पार गर्ने उद्देश्य सहित मनाङ उक्लेको त्यो समुहमा सामान्य अवस्था बाहेक फरक शारिरिक क्षमताका पदयात्री पनि सहभागि छन् । अर्थात, समुहमा ह्विलचेयरमै बसेर थोराङला भञ्ज्याङ पार गर्ने उद्देश्यका साथ सहभागि भएका फरक क्षमता (अपांगता भएका) का व्यक्ति पनि छन् । उनीहरुले ह्विलचेयरमै बसेर थोराङला भञ्ज्याङ पार गर्ने साहस बटुलेका छन् ।

मनाङ पुगेका पर्यटक ह्विलचेयरमा गुड्दै । तस्बिरः सौजन्यः विनोद गुरुङ

इजरायली पाहुनाको यो टोली काठमाडौंबाट पोखरा हुँदै जहाज चार्टर गरेर मनाङको हुम्दे पुगेको थियो । बाढीपहिरोका कारण स्थलमार्गमा हिडडुल समस्या भएपछि विहीबार समिट एयरको जहाज चार्टर गरेर दुई समुह मनाङ पुगेको थियो । अर्काे एक समुह शुक्रबार हेलिकप्टर चार्टर गरेर मनाङ पुगेको छ । ४२ जना विदेशी सहितको यो समुहमा नेपाली सहयोगी समेत गर्दा झन्डै ८० जना रहेका छन् । उनीहरु थोराङला भञ्ज्याङ पार गरेर मुस्ताङ हुँदै पोखरा झर्नेछन् ।  

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार फरक क्षमताका इजरायलीको यस्तै समुहको यो तेश्रो पदयात्रा हो । अघिल्लो वर्ष कोरोना संक्रमणले गर्दा टिम आउन सकेको थिएन । कोरोना सुरु हुनु अघि यस्तै दुई समुहले यो रुटको पदयात्रा पुरा गरिसकेको छ । अहिले कोरोना संक्रमण कमजोर भएको मौका पारेर तेश्रो समुह पदयात्रामा आएको उनले बताए ।  

समुहका ६ जना ह्विलचेयरमा हिडडुल गर्नुपर्ने अवस्थाका विदेशी छन् । एकजना दृष्टिविहीन छन । अरु सामान्य अवस्थाका पदयात्री हुन् । ह्विलचेयर र डो¥याएर हिड्नुपर्ने ती विदेशीका सहयोगी सहितको समुहले मनाङ र मुस्ताङबीचको थोराङला भञ्ज्याङ पार गर्ने लक्ष्यका साथ आएको उनले बताए । समुहमा चिकित्सक, ह्विलचेयरका प्राविधिक पनि सहभागि छन् ।

समुहको अन्नपूर्ण फेरोको पदयात्राको चाँजो मास्टर हिमालय ट्रेक्स एण्ड एक्सपिडिसनले मिलाएको हो । मास्टर हिमालयका म्यानेजर विवेक पाण्डेका अनुसार यो समुह नितान्त पदयात्राका लागि आएको हो । इजरायली पर्यटकले अन्नपूर्ण क्षेत्रको पदयात्रा निकै नै रुचाउँछन । पाँचदिन अघि उनीहरु नेपाल आएका थिए । त्यसपछि पोखरा हुँदै मनाङ पुगेका छन । अक्टोवर दोश्रो साता उनीहरुको स्वदेश फर्किने तालिका छन ।  

‘यस्तै प्रकृतिका अपांगता भएका पर्यटक यसअघि पनि आएका हुन । अहिले त्यसैको निरन्तरता हो,’ पाण्डेले भने, ‘तर, अहिलेको अवस्था फरक छ । कोरोनाले त्राहिमाम बनाएको बेला पनि विदेशी पर्यटकको ठुलो समुह आएको छ । त्यसमा पनि ह्विलचेयरमै बसेर साहसिक पर्यटकीय रुटको पदयात्रा पुरा गर्ने योजनामा पाहुना छन् । यसले साहसिक पर्यटन क्षेत्रमा विशेष अर्थ राख्छ ।’

पाण्डेका अनुसार यो समुहमा १३ देखि ६५ वर्ष उमेरसम्मका विदेशी छन् । अपांगता भएका व्यक्तिका लागि आफैले बनाएको विशेष ह्विलचेयर लिएर उनीहरु आएका छन । निकै नै कम तौल भएको र सहजै गुडाउन मिल्ने खालको ह्विलचेयर उनीहरुसँग छ । उनीहरुलाई सघाउने नेपाली सहयोगी पनि छन । ह्विलचेयरमा गुडाउँदा अगाडि र पछाडि एकएक जना चाहिन्छन ।  

‘विश्वकै साहसिक र आकर्षक मानिएको साहसिक पर्यटकीय पदमार्गको पहिचान बनाएको थोराङला भञ्ज्याङ पार गर्नु कम्ति चूनौतीपूर्ण होईन, तर विदेशी पाहुना हौसिएर आएका छन त्यसमा पनि अपांगता भएका व्यक्ति, सहभागि छन,’उनले भने, ‘हरेक वर्ष पालैपालो यस्तै समुह आउने गर्छ । चिकित्सक र सहयोगी भने दोहोरिएर पनि आउने गर्छन ।’ गुड्न नमिल्ने ठाउँमा सहयोगीले बोकेरै ती विदेशीलाई उकाल्ने र ओराल्नेछन ।

मनाङसम्म पुग्ने सडकमार्ग अप्ठेरो हुँदा यो पटक उनीहरु हवाईजहाज मार्फत हुम्दे पुगेका छन । अघिल्ला यात्रामा उनीहरु गाडीबाटै लम्जुङको बेसीसहर हुँदै उकालो लाग्थे । पदयात्राका यी विदेशी थोराङला भञ्ज्याङ पार गरेर मुक्तिनाथ हुँदै मुस्ताङ ओर्लिनेछन । त्यसपछि हवाईजहाजबाट पोखरा हुँदै फर्किनेछन ।

पर्यटनमा सहयोग

कोरोनाले थलिएको बेला पहिलो पटक ठुलो समुह पदयात्राका लागिएको आएको छ । त्यसमा पनि फरक क्षमताका विदेशी पनि सहभागि हुँदा त्यसले पर्यटनमा सकारात्मक अर्थ राख्ने मनाङका अगुवा पर्यटन व्यवसायी बिनोद गुरुङ बताउँछन । ‘नेपालको पदयात्रा क्षेत्र सुरक्षित रहेको सन्देश यो समुहको यात्राले दिन्छ । कोरोनाले थलिएको बेला पनि नेपाल घुमघामका लागि सुरक्षित रहेको भन्ने यसले बुझाउँछ,’ उनले भने, ‘लामो समय पाहुनाविहीन भएको बेला पर्यटन क्षेत्र चलायमान बनाउने संकेत देखिएको छ ।’

विदेशी पदयात्रा टोलीको व्यवस्थापन गरेको मास्टर हिमालयका पाण्डेले पनि कोरोना संक्रमणपछि यो नै सबैभन्दा ठुलो समुहलाई पदयात्रामा पठाएको बताए । ‘यी विदेशी भित्रिँदा नेपाली कामदारले काम पाएका छन । होटल, हवाईजहाज, हेलिकप्टरको समेत व्यापार हुन्छ । त्यसैले पर्यटनको लाभ सबैले पाउने हो,’ उनले भने, ‘कम्तिमा नेपालको पदयात्राप्रति अझै विदेशीको विश्वास छ भन्ने यसले देखाएको छ ।’

एक्यापका गौतम पनि विदेशी र स्वदेशी गरि ८० जना हाराहारीमा मनाङ उक्लिँदा त्यसले पर्यटनमा सकारात्मक अर्थ राख्ने बताउँछन । ‘कोरोना संक्रमण सुरु भएपछि एक्यापले पनि सबैभन्दा ठुलो समुहलाई मनाङमा पाएको छ । त्यसमा पनि साहसिक रुटमा पदयात्राका लागि आएका फरक क्षमताका पर्यटकबाट जाने सन्देशले पक्कै सकारात्मक अर्थ राख्नेछ,’ गौतमले भने, ‘पदयात्रा र घुमघामका लागि नेपाल सुरक्षित रहेको भन्ने सन्देश फैलिनेछ । नेपालको पदयात्रा झनै रोमाञ्चक छ भन्ने सन्देश पनि पुग्नेछ ।’ कोरोनाले थलिएको पर्यटन क्षेत्रमा विदेशीका यस्तो समुहको पदयात्राले व्यवसायीलाई समेत हौस्याउने उनले बताए ।

प्रकाशित: १६ आश्विन २०७८ ११:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App