१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

जुम्लामा अहिले स्याउको समय

जुम्लाका किसानलाई यो समय स्याउ टिप्न भ्याइनभ्याइ छ। स्याउ टिपेर व्यापारीलाई बेच्न किसान लागि परेका छन्। स्याउको बगैंचामै व्यापारी पुगेर लिन थालेपछि किसानलाई निकै राहात मिलेको छ। अहिले बगैंचा राताम्य छन्। गाडी र झाडीमा समेत स्याउ नै स्याउ छ। जहाँतहीँ स्याउको सिजन हुँदा जुम्लाको सुरन्दरतामा साथ मिलेको छ।  

स्याउ किसान जीवनबहादुर बुढा स्याउले जुम्लाको समृद्धि हासिल गरिरहेको बताउँछन्। ‘यो समय स्याउको हो। अहिले निरन्तर कर्णाली राजमार्गबाट स्याउ निर्यात भइरहेको छ,’ उनले भने। कर्णाली राजमार्ग हुँदै जुम्ला पुगेका आन्तरिक तथा बाह्य पर्यटक पनि स्याउ बगैंचामा पुगेर रमाउन थालेका छन्। उनीहरू बगैंचामा पुगेर स्याउको स्वाद लिने र रमाइलो गर्ने गरेको किसानको भनाइ छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार यो वर्ष स्याउ उत्पादनमा गिरावट आएको छ। तर कम उत्पादन भएपनि माग बढ्दो छ। जसका कारण किसान घाटामा पर्ने सम्भावना छैन।  

यो वर्ष स्याउको क्षेत्रफल मुताविक स्याउ नपलेको बताइएको छ। तर मूल्य पनि कम छैन। जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले भने, ‘स्याउ उत्पादनको तथ्यांक संकलन हुँदैछ। हरेक स्थानीय तहका कृषि शाखासँग समन्वय भइरहेको छ। तर यो वर्ष ५ हजार मेट्रिकटनभन्दा बढी स्याउ उत्पादन नहुने अनुमान गरिएको छ ’

यसपटकको स्याउ पूर्ण रूपमा पाक्न पाएको छ। रङ भरिन पाएको छ। गुलियो मात्रा शतप्रशित रहेका प्राविधिकको भनाइ छ। कृषि विकास कार्यालयले भदौ १० गतेभन्दा अगावै किसानलाई स्याउ नटिप्न आग्रह गरेपछि यहाँको स्याउले पूर्ण रूपमा पाक्न पाएको हो।  

अहिले बगैंचामै व्यापारीले प्रतिकेजी ६० रूपैयाँमा स्याउ खरिद गरिरहेका छन्। अहिलेसम्म दुई सय मेट्रिकटन स्याउ जिल्ला बाहिर निर्यात भएको बताइएको छ। यहाँको स्याउको लागि सबैभन्दा नजिकैको बजार सुर्खेत हो। त्यसपछि कोहलपुर, नेपालगन्ज हुँदै काठमाडौं र पूर्वको बजारसम्म जाने गरेको छ। नेपालगन्जमा जुम्ली स्याउको प्रतिकेजी १ सय ३० रूपैयाँ र सुर्खेतमा ९० देखि एक सय रूपैयाँसम्म प्रतिकेजी मूल्य छ।  

यो वर्ष कृषि विकास कार्यालयले ९ हजार मेट्रिकटन स्याउ फलाउने लक्ष्य राखेको थियो। तर पाँच हजार मेट्रिकटन स्याउ मात्र फल्ने अनुमान गरिएको छ। जुम्ला स्याउ अंकित २१ हजार कार्टुन बाँडिएको छ। यहाँका किसानले त्यहीँ कार्टुनमा स्याउ बजारसम्म पुर्याएका छन्। यो कार्टुनमा केमीकल प्रयोग नगरको शुद्ध अर्गानिक स्याउ मात्र राखिँदै आएको बताइएको छ।

गत पुष/माघमा हिउँ नपुर्न, चैत/वैशाखमा तुवालोले चिचिला झार्नु र स्याउ बर्षैपिच्छे पालो गरेर फल्ने भएकोले यो वर्ष उत्पादनमा कमी आएको कृषि विज्ञको  भनाइ छ।  

स्याउ टिप्न किसानको आफ्नै नियम

जुम्लाका किसानले स्याउ टिप्नको लागि सामाजिक नियम बनाएका छन्। त्यो नियम अनुसार भदौ २० देखि मात्रै स्याउ टिप्न पाइन्छ। त्यो भन्दा अघि स्याउ टिप्ने किसान यो नियमभित्र पर्दैन। जिल्लाको पातारासी, गुठिचौर र कनकासुन्दरी गाउँपालिकाका किसानले आफ्नै सामाजिक नियम बनाएर स्याउ टिप्न थालेका हुन्।  

अहिलेसम्म उक्त स्थानीय तहमा स्याउ टिपिएको छैन। उनीहरूका अनुसार स्याउ टिप्न भदौ २० गते माथिको समय उपयुक्त हो। यो बेला स्याउमा पूर्ण कलर आउँछ। गुलियो मात्र पूर्ण रूपमा भरिन्छ। 

प्रकाशित: २३ भाद्र २०७८ ०२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App