२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

कोभिड प्रभावित साना व्यवसायीलाई अनुदान

पातारासी ५ का रमेश बुढा गाउँका साना व्यवसायी हुन्। उनले गाउँमै खाद्य तथा खुद्रा पसल खोलेका छन्। कोभिडका कारण लकडाउन भएपछि उनले पर्याप्त सामान बजारदेखि ल्याउन सकेनन्। घरमा राखिएको सबै सामान बिक्री भइसक्यो। लामो समय उनी बेरोजगारजस्तै बने। उनको व्यवसायमा निकै घाटा हुन पुग्यो।  

खुद्रा व्यापारबाटै घरखर्च, छोराछोरीको पठनपाठन र नुनतेल जोहो गर्दै आइरहेका रमेशले बीचमा चरम अभाव खेप्नु पर्यो। चार वर्षदेखि खुद्रा पसल थालेका उनले दुइ बर्ष कोरानाका कारण पसल खोल्न पाएनन्।  एकातिर कोरोनाको त्रास र अर्कोतर्फ बढ्दै गएको व्यापार घाटाले बैंक तथा वित्तीय संस्थाबाट निकालेको ऋणको किस्ता कसरी तिर्ने भन्ने चिन्ता थपियो। पछिल्लो समयमा वल्र्डभिजन इन्टरनेशनलको आर्थिक सहयोगमा किर्डाक नेपालले व्यवसाय पुर्नस्थापनाका लागि सहयोग गरेपछि उनको व्यापार लयमा फर्कदैछ। उनले भने, ‘कोरोना पनि सामान्यतिर जाँदैछ। सहयोग पाएपछि पसल पनि लयमा फर्कदैछ। फेरि गाउँमा खुद्रा खोल्ने जागर चलेको छ।’

पातारासी ७ की चन्द्रमाया थापाले पनि जुम्ला रारा जाने सडकको उर्थुमा खुद्रा व्यापार गर्दै आएकी छिन्। रारा जाने छोटो मार्ग भएकाले उर्थु पटमारा सडकबाट दैनिक सयौँ पर्यटक तथा स्थानीयको आवतजावत हुने भएकाले व्यापार राम्रै थियो। उनले खुद्रा बेचेर कस्मेटिक सामान बेच्न थालेकी थिइन्। पहिलो र दोस्रो चरणको कोरोनाले थापाको व्यापारमा गिरावट आयो। निकै ठूलो घाटा बेहोर्नुपर्यो।

घर खर्च, लुगाफाटो फेर्ने एकमात्र माध्यम खुद्रा व्यापार ठप्प भएपछि चिन्तामा रहेकी चन्द्रमाया थापालाई व्यवसाय पुर्नस्थापनाको लागि छनौट गरियो। उनले खुद्रा पसल गर्दा आवश्यक पर्ने सामान पाइन्। अहिले उनको पसल चम्केको छ। व्यापार केही महिनामै दोब्बर भएको उनी बताउँछिन्।    

रमेश बुढाले भने, ‘कोरोनाले व्यापार घाटामा थियो। ऋण तिर्नै मुस्किल भएको अवस्थामा फेरि आफ्नै लगानीले व्यापार सुचारु गर्न सम्भव नै थिएन। तर वल्र्डभिजन र किर्डाक नेपालले सहयोग गरेर व्यापारमा उत्साह थप्यो। अनि राहत महसुस भएको छ।’ अहिले थप आफ्नो लगानी गरेर व्यवसायमै जुटेको र घाटामा परेको व्यापार पूनर्स्थापना गर्न थोरै भएपनि सहयोग र ऊर्जा थपिदिएको उनले बताए।

कोभिड प्रभावित व्यवसायी पुर्नस्थापित भएका रमेश र चन्द्रमाया एक उदाहरणमात्र हुन्। वल्र्डभिजनको सहकार्यमा किर्डाक नेपाल जुम्लाद्वारा सञ्चालित (एकीकृत पोषण तथा उत्थानशील परियोजना) मार्फत् कोरोनाबाट प्रभावित जुम्लाका ३ सय ५५ जना व्यवसायीलाई पूनर्स्थापना गरिएको छ।  

पातारासी, तातोपानी र तिला गाउँपालिकाका ३ सय ५५ जना कोभिड प्रभावित व्यवसायीलाई पुनस्र्थापना गरिएको छ। किर्डाक नेपाल जुम्लाका फिल्ड कार्यक्रम प्रबन्धक भेषबहादुर रावल   कोभिड प्रभावित व्यवसायीलाई वडाको सिफारिसमा आधारमा पूनर्स्थापना गरिएको बताउँछन्।  उनका अनुसार उनीहरुलाई व्यापार सञ्चालन र लेखाजोखा सम्बन्धी तालिम समेत प्रदान गरिएको थियो।  

कोभिड प्रभावित पुर्नस्थापित भएका व्यवसायहरूको व्यवसाय जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा नेतृत्वको टोलीले अनुगमन गरेको छ। उपप्रमुख कार्मा बुढाले व्यवसाय सञ्चालन, प्रर्वद्धन र स्थानीयको आयआर्जन वृद्धि तथा पोषण स्थितिमा सुधार, उत्पादन वृद्धि लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको बताए। उनले भने,‘लगानी सानो भएपनि उन्नति ठिकै भएको छ। व्यवसाय निरन्तरता दिने हौसला मिलेको छ। व्यवसायमा लगानी गर्ने वातावरण बनेको छ।’

जुम्लाका कोभिड प्रभावित व्यवसायीको पुर्नस्थापनाको लागि करिब १ करोड बढी बजेट लगानी गरेको छ। पातारासी, तिला र तातोपानीमा गरी १ करोड ४० लाख १४ हजार ८ सय रुपैयाँ लगानी गरिएको फिल्ड कार्यक्रम प्रबन्धक भेष बहादुर रावल बताउँछन्। व्यवसायको प्रकृति अनुसार १६ हजार देखि ५० हजार सम्मको सामाग्री सहयोग गरिएको छ।  

पोषण स्थिति सुधार आयआर्जन वृद्धिका लागि जुम्लाका ४ सय ४२ जना किसानलाई ७० लाख ७५ हजार बराबरको कृषि सामाग्री वितरण गरिएको छ।  जुम्लाका १ हजार ६७ जनालाई ३१ लाख ६० हजार ८० सय रुपैयाँ बराबरको राहत उपलब्ध गराइएको छ।  

कोभिड प्रभावित १ सय ९७ खुद्रा व्यापार, १६ वटा होटल व्यवसाय, १ ग्रिल उद्योग, ६ वटा फलफूल प्रशोधन, ११ वटा फर्निचर उद्योग, ४ वटा फ्रेस हाउसलाई पुर्नस्थापना गर्न लगानी गरिएको छ। यसैगरी ५६ जना बाख्रापालन व्यवसायीलाई ५० हजार रुपैयाँका दरले सहयोग गरी व्यवसाय पुनस्र्थापना गरिएको छ। ५ वटा आरन व्यवसाय, ४ वटा भैसीपालन व्यवसाय, २१ जनाको सिलाईकटाई व्यवसाय, स्याउ नर्सरी, इलेक्ट्रोनिक, मोबाइल मर्मत लगायत १९ प्रकारका व्यवसायको पूनर्स्थापनाका लागि लगानी गरिएको छ। अहिले कोभिडका कारण मर्कामा परेका व्यवसायीले राहतको अनुभुति गरिरहेका छन्।

प्रकाशित: १७ भाद्र २०७८ ०९:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App