४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बुद्ध एयरको पोखरा–नेपालगञ्ज उडान सुरु

पोखरा विमानस्थलबाट आइतबार नेपालगञ्ज जाँदै गरेका यात्रुलाई बिदाई गर्दै । तस्बिरः उमेश पुन÷नागरिक

बुद्ध एयरले आइतबारदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान सुरु गरेको छ । पोखरा र नेपालगञ्जबीच उडान गर्दा आन्तरिक सहित भारतीय पर्यटकलाई पोखरा ल्याउन र लैजान सहज हुने एयरलाईन्सको भनाई छ ।  

आइतबारको पहिलो उडानमा १८ जना यात्रु पोखराबाट नेपालगञ्ज गएका थिए भने नेपालगञ्जबाट १७ जना यात्रु पोखरा आएका थिए । पोखराबाट गएका यात्रुलाई बिदाई र नेपालगञ्जबाट आएका यात्रुलाई पोखरा विमानस्थलमा पर्यटन व्यवसायी र एयरलाइन्स पदाधिकारीले स्वागत गरेका थिए ।  

यसअघि बुद्धले गत बैशाख १८ गतेदेखि नै पोखरा–नेपालगञ्ज उडान गर्ने योजना बनाएको भएपनि कोरोना भाइरस संक्रमण बढेपछि रोकिएको थियो । बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालका अनुसार बुद्धले पहिलो चरणमा सातामा तीनदिन (आइतबार, बुधबार र शुक्रबार) पोखरा–नेपालगञ्ज–पोखरा रुटमा उडान गर्दैछ । बुधबारका लागि पनि ५० प्रतिशत टिकट बुकिङ भईसकेको बरालले जानकारी दिए ।  

बरालले पहिलो चरणमा सातामा तीनदिन मात्र उडान गर्ने तालिका बनाएपनि यात्रुको चाप बढ्दै गएमा सातैदिन वा दिनमै एकभन्दा बढी उडान पनि गर्ने योजना बनाएको बताए । ‘पोखरा–नेपालगञ्ज सम्भावनावयुक्त हवाई रुट हो । कोरोनाका कारण अहिले भारतीय बोर्डर नखुल्दा आउजाउ रोकिएको भएपनि अवस्था सहज हुँदा यात्रु अभाव हुँदैन,’ उनले भने, ‘भारतीय सहरसँग नजिक भएको र भारतीय पाहुना आउजाउ गर्ने हुँदा पनि हवाई उडानलाई यात्रु अभाव नहुने हाम्रो अनुमान  हो ।’  

बरालका अनुसार पोखराबाट बिहान ९ बजेर १० मिनेटमा जहाज नेपालगञ्जका लागि उडनेछ । नेपालगञ्जबाट १० बजे पोखराका लागि उडान हुनेछ । १८ सिट क्षमताका बीचक्राफ्ट १९००डी सिरिजका जहाजबाट पहिलो चरणमा यो रुटमा उडान थालेको बुद्धले बताएको छ । ‘यात्रुको चाप बढेमा ठुलाआकारका जहाज वा दैनिक उडानसंख्या पनि थप्न सकिन्छ,’ उनले भने, ‘पोखरा–नेपालगञ्ज स्थलमार्गको यात्रा लामो अवधिको हुने भएकोले पनि यात्रुले हवाई यात्रा रोज्ने अनुमान छ ।’  

नेपालगञ्जबाट केही घण्टाको दूरिमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली चिसापानी भएकोले पनि पर्यटकीय गतिविधि बढाउन यो उडानले सघाउने उनले बताए । पोखरा–नेपालगञ्ज ३५ मिनेटको उडान हो । बुद्धले यो रुटमा तीनप्रकारको भाडादर तोकेको छ । सबैभन्दा महंगो भाडा ७६ सय ३५ रुपैयाँ पर्नेछ । मध्यमस्तरको भाडादर ५५ सय ३५ र सबैभन्दा सस्तो ४९ सय ३५ रुपैयाँ हो । यात्रुको चाप अनुसार भाडादर पनि तलमाथि भइरहने उनले बताए । बुद्धसँग अहिले ७० सिट क्षमताका एटिआर७२–५०० सिरिजका ११ वटा जहाज छन् । त्यस्तै ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर४२–३२०’ र १८ सिट क्षमताका बिचक्राफ्ट १९०० डी दुईवटा जहाज छन् ।  

अहिले बुद्धले पोखराबाट काठमाडौं, भैरहवा र भरतपुर उडान गरिरहेको छ । पोखरा–काठमाडौं अहिले बुद्धले दैनिक आठवटा उडान गरिरहेको छ । त्यस्तै पोखरा–भैरहवा दैनिक दुई र पोखरा–भरतपुर दैनिक एउटा उडान भईरहेको छ । त्यसबाहेक बुद्धले पोखराबाट विराटनगर र सिमरासम्म पनि बैशाखदेखि नै उडान थाल्ने योजना बनाएको थियो । कोरोना संक्रमणले ती रुटमा पनि उडान रोकिएकोमा अब छिटै सुरु गर्ने योजना रहेको बरालले बताए ।

प्रकाशित: १७ श्रावण २०७८ १०:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App