२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

ताप्लेजुङमा अलैंचीबाट १३५ करोड

ताप्लेजुङको अलैंची जोनले ढाकेको क्षेत्रमा उत्पादित अलैंची बिक्रीबाट पछिल्लो भर्खरै सकिएको आर्थिक वर्षमा किसानले १३५ करोडभन्दा बढी आम्दानी लिएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैंची जोन ताप्लेजुङले शनिबार एक विवरण सार्वजनिक गर्दै यो उक्त जानकारी हो।  

वरिष्ठ कृषि विकास अधिकृत शम्भुप्रसाद देवका अनुसार जोनले ढाकेको क्षेत्रबाट २ हजार ६ मेट्रिक टन उत्पादन भएकोमा २ हजार टन बिक्री भएको छ। आन्तरिक खपत ज्यादै कम हुने भएकोले करिब ६ मेट्रिक टन अलैंची मात्र ताप्लेजुङमा खपत भएको देवले बताए। अलैंची जोनले ताप्लेजुङमा ३ हजार ७ सय हेक्टर क्षेत्रफल ओगटे पनि ३ हजार ४ सय हेक्टरमात्र उत्पादनशील क्षेत्र रहेको उनले जानकारी दिए। 

फुङ्लिङ नगरपालिकाका ११ वटै वडा, मैवाखोला गाउँपालिकाका ६ वटै वडा, मिक्वाखोला गाउँपालिकाका ५ वटै वडा, फक्ताङ्लुङ गाउँपालिकाको ७ वडामध्ये वडा नं ७ बाहेकका ६ वडा, आठराई त्रिवेणी गाउँपालिकाका वडा नं ३, ४ र ५, पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं १ र ३, मेरिङ्देन गाउँपालिकाको वडा नं ३ खाम्लुङ बाहेक बाँकी ५ वडा र सिरिजंगा गाउँपालिकाको वडा नं ६ मामाङ्खे गरी यहाँका ६१ मध्ये ३९ वटा वडामा जोन कार्यक्रमको कार्यक्षेत्र छ। जोनको कार्यक्षेत्र सिदिङ्वा गाउँपालिकाका कुनै पनि वडामा छैन। यसबाहेक बाँकी ८ स्थानीय तहका कुनैमा पूरै वडा र कुनैमा आशिंक वडा अलैंची जोनको कार्यक्षेत्रभित्र समेटिएका छन्।  

पुँजीगतमा शतप्रतिशत खर्च  

सामान्यतया अधिकांश सरकारी तथा गैरसरकारी संस्थाको चालु बजेट पूरै र पुँजीगत बजेट कम खर्च हुने गर्छ। तर अलैंची जोन कार्यान्वयन एकाइ ताप्लेजुङको नतिजा भने ठीक उल्टो भएको छ। जोनले पुँजीगत बजेट शतप्रतिशत खर्च गरेको छ भने चालु बजेट करिब ८३ प्रतिशत मात्र खर्च गरेको छ। वरिष्ठ कृषि विकास अधिकृत देवका अनुसार ३३ लाख ७० हजार पुँजीगत बजेट रहेकोमा यो शतप्रतिशत खर्च भएको हो।

यस्तै, ३ करोड ७० लाख ५६ हजार चालु बजेट रहेकोमा ८२.८४ प्रतिशत अर्थात ३ करोड ७ लाख रूपैयाँमात्र खर्च भएको छ। वरिष्ठ कृषि विकास अधिकृत (उपसचिव) १ सहित १३ जनाको दरबन्दी रहेकोमा शाखा अधिकृत सो सरहका २ जना कृषि अधिकृत बाहेक ११ जनाको पदपूर्ति भएको छ। अहिले लेखापाल १, नासु १, नायब प्राविधिक सहायक (करार) ४, हलुका सवारी चालक १ र कार्यालय सहयोगी ३ गरी १३ मध्ये ११ जनाको पदपूर्ति भएको अलैंची जोन कार्यान्वयन एकाइ ताप्लेजुङले जनाएको छ।  

के उपलब्धि हासिल गर्‍यो जोनले  

अलैंची जोनले स्थानीय तहको लागत साझेदारीमा बीउ स्रोत केन्द्र स्थापना, जोन सञ्चालनका लागि चक्लाबन्दीमा सहकारी, निजी क्षेत्रबाट माग संकलन, सम्भाव्यता अध्ययन गरी ५ वटा कार्यक्रम सञ्चालन, गत वर्ष विस्तार भएको क्षेत्र (ताप्लेजुङका २३) र यस वर्ष विस्तार भएको क्षेत्र (पाँचथरका १४) गरी ३७ वटा पूर्वाधार निर्माणका काम भएका छन्। प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन सञ्चालन अनुदान, कृषि यान्त्रिक उपकरण तथा प्राथमिक प्रशोधन सामग्री (अलैंची सुकाउने भट्टी ४० वटा र ३७ जना लाभग्राहीलाई मेसिनरी औजार) वितरण, स्थानीय तहको समन्वयमा नर्सरी स्रोत केन्द्र स्थापनाका कार्य समेत सम्पन्न भएको जोनले जनाएको छ। 

जोनले फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिममा परियोजना कार्यान्वयन एकाइ ताप्लेजुङ, फक्ताङ्लुङ गाउँपालिका र नोवल सहकारी संस्था लिमिटेडको साझेदारीमा टिस्यू कल्चर ल्याब स्थापना गरिएकोलाई यो अवधिकै अनुकरणीय कार्यको रूपमा चित्रित गरेको छ। 

प्रकाशित: ४ श्रावण २०७८ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App