coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

गण्डकी प्रदेशको बजेट खर्च झन्डै ७२ प्रतिशत

असारमा मात्र साढे ९ अर्ब रुपैयाँ खर्च

गण्डकी प्रदेशले कुल बजेटको झण्डै ७२ प्रतिशत मात्र खर्च गरेको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा ७१.९ प्रतिशत बजेट खर्च गरेको हो । यो अघिल्लो वर्षको भन्दा ८.१९ प्रतिशत बढी हो । अघिल्लो वर्ष गण्डकी प्रदेश सरकारले ६३.७१ प्रतिशत मात्र बजेट खर्च गरेको थियो ।  

प्रदेश सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी र त्यसको रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञा लगायतका बाबजुत पनि सन्तोषजनक बजेट खर्च गरेको बताएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा ३६ अर्ब २० करोड ८८ लाख ४ हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा २५ अर्ब ७४ करोड १३ लाख ९१ हजार ६ सय २४ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय पोखराले जनाएको छ ।

बजेट खर्च अन्तर्गत विकास (पूँजीगत) खर्च ७७.८९ प्रतिशत तथा चालुतर्फ ५९.७८ प्रतिशत खर्च गरेको कोषले जानकारी दिएको छ । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०७७/०७८ मा पूँजिगततर्फ २२ अर्ब ६१ करोड ३८ लाख ६४ हजार रुपैयँँ बजेट विनियोजन गरेकोमा १७ अर्ब ६१ करोड ४४ लाख ८१ हजार रुपैयाँ मात्र खर्च गरेको छ । त्यस्तै चालुतर्फ १३ अर्ब ५९ करोड ४९ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा ८ अर्ब १२ करोड ६९ लाख १० हजार रुपैयाँ खर्च गरेको गण्डकी प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय पोखराका प्रदेश लेखा नियन्त्रक ईन्द्रप्रसाद पौडेलले जानाकारी दिए ।

मन्त्रालयगत खर्च अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा ४६.५४ प्रतिशत बजेट खर्च गरेको छ । २ अर्ब ५० करोड ७२ लाख १४ हजार बजेट रहेकोमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले १ अर्ब १६ करोड ६९ लाख ७८ हजार रुपैयाँ बजेट खर्च गरेको छ । त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले ३५.२६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । २० करोड ६३ लाख ७५ हजार बजेट रहेको आर्थिक मामिलाले ७ करोड २७ लाख ६४ हजार खर्च गरेको छ ।

त्यस्तै, आन्तरिक मामिला तथा कानून मन्त्रालयले ७४.३५ प्रतिशत बजेट खर्च गरेको छ । ६८ करोड ३ लाख ९० हजार बजेट रहेकोमा आन्तरिक मामिलाले ५० करोड ५८ लाख ८८ हजार खर्च गरेको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ७५.९५ प्रतिशत बजेट खर्च गरेको छ । १ अर्ब ८८ करोड ६४ लाख २२ हजार रुपैयाँ बजेट रहेको सो मन्त्रालयले १ अर्ब ४३ करोड २७ लाख २३ हजार बजेट खर्च गरेको हो ।

भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले ६६.११ प्रतिशत बजेट खर्च गरेको छ । कुल ३ अर्ब २० करोड ९५ लाख ४४ हजार बजेट रहेको सो मन्त्रालयले २ अर्ब १२ करोड १८ लाख १५ हजार रुपैयाँ बजेट खर्च गरेको हो ।भौतिक पूर्वाधार विकास मन्त्रालयले ८१.२८ प्रतिशत खर्च गरेको छ । १८ अर्ब २५ करोड ४९ लाख ५ हजार बजेट रहेको सो मन्त्रालयले १४ अर्ब ८३ करोड ७६ लाख ६ हजार रुपैयाँ खर्च गरेको हो ।

सामाजिक विकास मन्त्रालयले ६१.८२ प्रतिशत बजेट खर्चिएको छ । कुल ५ अर्ब ४२ करोड ४९ लाख २५ हजार रुपैयाँ बजेट रहेको सो मन्त्रालयले ३ अर्ब ४६ करोड २० लाख ६४ हजार रुपैयाँ बजेट खर्चिएको छ । प्रदेश लेखा नियन्त्रक पौडेलले समग्रमा गत आर्थिक वर्षको बजेट खर्च सन्तोषजनक देखिएको बताए । कोरोना माहामारी र त्यसबाट उत्पन्न परिस्थिति नियन्त्रणमा लिन निषेधाज्ञा लगाइएका कारण खर्च क्षमता केही घटेको उनले बताए । ९० प्रतिशत भन्दा बढी बजेट खर्च गर्ने लक्ष्य राखेको प्रदेश सरकारले निषेधाज्ञा र महामारी नभएको भए लक्ष्य भेट्टाउने स्थिति देखिएको उनको भनाई छ ।

असारमा मात्र साढे ९ अर्ब रुपैयाँ खर्च  

गण्डकी प्रदेश सरकारले असारे विकासलाई यस वर्ष पनि निरन्तरता दिएको छ । प्रदेश सरकारले कुल बजेटको २८ प्रतिशत बजेट अर्थात करिब साढे ९ अर्ब रुपैयाँ असारमा मात्र खर्च गरेको हो । जेठ मसान्तसम्म ४३.९ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले असार मसान्तसम्ममा ७१.९ प्रतिशत बजेट खर्च गरेको छ । असारमा २८ प्रतिशत बजेट खर्च भएको देखिएपनि यो सबै असारमा मात्र खर्च भएको नभई बैशाख र जेठमा गरेका कामको भुक्तानि समेत यहि महिना गरेका कारण असारमा बढी खर्च भएको देखिएको प्रदेश लेखा नियन्त्रक पौडेलले बताए ।

प्रकाशित: १ श्रावण २०७८ १२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App