२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

आजदेखि थप आन्तरिक र बाह्य उडान

सरकारले आइतबारदेखि थप आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि अनुमति दिएको छ। आइतबारदेखि आन्तरिकतर्फका उडानमा सम्बन्धित विमान कम्पनीले मागे जति अनुमति पाएका छन्। अन्तर्राष्ट्रियतर्फको उडान संख्या थप गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडानको नयाँ तालिका सहित नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिएको निर्देशन अनुसार थप उडान अनुमति दिइएको हो।  

प्राधिकरणले आवश्यक स्वास्थ्य मापदण्डसहित उडान सञ्चालन गर्न स्वदेशी र विदेशी वायुसेवा कम्पनीलाई अनुमति दिएको हो। यसअघि वायुसेवा सञ्चालकको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले यात्रु उद्धार सहज र सस्तोका लागि उडान संख्या थप्न सरकारसमक्ष माग गर्दै आएको थियो।  

असार १७ देखि खुलेको आन्तरिकतर्फको उडान हाल लकडाउन पहिलेको उडान संख्याको आधारमा ५० प्रतिशत मात्रै सञ्चालनमा थियो। अब भने सबै उडान पहिलेकै अवस्थामा फर्किएका छन्। गत वैशाख २० देखि बन्द रहेको आन्तरिक उडान खुलेसँगै यात्रुसंख्या उल्लेख्य देखिएको छ। त्यस्तै, अन्तर्राष्ट्रियतर्फका उडानसमेत सहज हुँदै गएका छन्। अन्तर्राष्ट्रियतर्फ अब सातामा ५३ वटा उडान हुनेछन्। विभिन्न मुलुकका गन्तव्यमा उडान भर्न स्वदेशी र विदेशी विमान कम्पनीले अनुमति पाएका हुन्। यसअघि उडान खुला गरेका गन्तव्यमध्ये भारत बाहेकका मुलुकमा हुने उडान संख्या थप गरिएको हो।  

भारतको नयाँ दिल्लीमा नेपाल वायुसेवा निगमले बुधबार र एयर इन्डियाले सोमबार उडान अनुमति पाएका छन्। यस्तै दुबईमा नेपाल एयरलाइन्सले हरेक मंगलबार र बिहीबार तथा हिमालय एयरलाइन्सले आइतबार, मंगलबार र बिहीबार उडान अनुमति पाएका छन्। फ्लाई दुबईले आइतबार, बुधबार र शुक्रबारका लागि अनुमति पाएको छ। कतारको दोहामा नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक दिन एक–एक उडान गर्नेछन्। हिमालय एयरलाइन्सले दमाममा साताको चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ।

क्वालालाम्पुरमा नेपाल एयरलाइन्सले बुधबार र शनिबार र हिमालय एयरलाइन्सले बिहीबार, शुक्रबार र शनिबार उडान अनुमति पाएको छ। टर्किस एयरलाइन्सले टर्कीको इस्तानबुलमा सोमबार, बिहीबार र शनिबार उडान गर्नेछ। जजिरा एयरवेजले कुवेतमा साताको पाँच दिन सोमबार, मंगलबार, बुधबार, बिहीबार र शनिबार उडान गर्नेछ। सलाम एयरले ओमानको मस्कटमा सातामा तीन दिन सोमबार, बुधबार र शनिबार उडान गर्ने तालिका छ।

एयर अरेबियाले आबुधाबीमा आइतबार र मंगलबारको उडान तालिका पाएको छ। सिंगापुर एयरले हरेक आइतबार काठमाडौं उडान गर्नेछ। कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ देखि अन्तर्राष्ट्रिय उडान स्थगन गरेको थियो। 

प्रकाशित: २७ असार २०७८ ०४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App