१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘खोप लगाऊ, व्यवसाय खोल्न देऊ’

पर्यटनसँग सम्बद्ध पोखराका दुई संस्थाले कोरोनाविरुद्धको खोप उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेका छन्। पर्यटनसँग सम्बद्ध पृथ्वी होटल व्यवसायी समिति र सिटी रेस्टुरेन्ट एन्ड बार एसोसियसन (सिटी रेबान), पोखराले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाउँदै कोरोना खोपको माग गरेका हुन्।  

कोभिड–१९ का कारण लगाइएको लकडाउन तथा निषेधाज्ञाका कारण पर्यटनसँग सम्बद्ध होटल तथा रेस्टुरेन्टहरू थला परेकाले यसको पुनरुत्थान गर्ने एउटा मात्र विकल्प भनेको कोरोना खोप भएको उनीहरूको भनाइ छ। ‘कोरोनाबाट बच्दै पर्यटन व्यवसाय सञ्चालन गर्ने एउटै उपाय भनेको कोरोना खोप हो, योबिना व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था छैन। त्यसैले हामीलाई प्राथमिकतामा राखेर खोपको व्यवस्था गरियोस्,’ ज्ञापनपत्रमा भनिएको छ।

पृथ्वी होटल व्यवसायी समिति र सिटी रेबान पोखराले सरकारले तोकेको स्वास्थ्य मापदण्ड कायम गरेर व्यवसाय सञ्चालन गर्न दिन पनि माग गरेको छ। उनीहरूले असार २५ गते सम्ममा कर चुक्ता गर्न दिएको समयसीमा एकदमै न्यून भएको भन्दै त्यसलाई ३ महिना लम्ब्याउन आग्रह गरेका छन्। त्यस्तै, सरकारी भवनमा सरकारले भाडामा ५० प्रतिशत छुट दिएकाले निजी क्षेत्रसँग सम्बद्ध व्यवसायीलाई पनि सोही बमोजिम छुट गर्न, गराउन समन्वय गर्न आग्रह गरेका छन्।

संस्थाहरूले बैंकको कर्जा भुक्तानीको समयावधि थप थप गर्न तथा व्यवसायीले तिर्ने घरबहाल कर छुट गर्न र बैंकको ब्याज तथा अन्य करमा समेत सहुलियत प्रदान गर्न माग गरेका छन्। उनीहरूले विद्युत् डिमान्ड शुल्कमा दिइएको छुट सकारात्मक भए पनि घरपेटीकै मिटर बक्सबाट विद्युत् उपभोग गर्ने व्यवसायीले छुट नपाएकाले त्यस्ताको पहिचान गरी छुट दिनुका साथै पानी महसुल कम्तीमा एक वर्षको र टेलिफोन र इन्टरनेट लगायत महसुलमा समेत विशेष सहुलियत व्यवस्था मिलाउन आग्रह गरेका छन्।

संस्थाहरूले घर भाडा वृद्धि दुई वर्षपछि मात्र गर्ने व्यवस्था मिलाउन, व्यवसायीले लिएको बैंक कर्जाको ब्याज र किस्ता तिर्ने समय यसअघि तोकिएको भन्दा दुई वर्ष बढाउन र ब्याजमा सहुलियत प्रदान गर्न, लकडाउन र निषेधाज्ञाको समयमा तिर्नुपर्ने बैंक ब्याज सावाँमा गाभेर पछि तिर्ने व्यवस्था मिलाउन, जीवनरक्षा कोषमार्फत कर्जा लिँदा व्यवसायको प्रोपर्टी देखाएर कर्जा लिन पाउने व्यवस्था गर्न माग  गरेका छन्।

व्यवसायीले सरकारले होटल व्यवसायलाई उद्योगसरह मान्यता दिने घोषणा गरेकाले त्यसलाई यथाशीघ्र लागू गर्न आग्रह गरेका छन् । उनीहरूले राज्यले जहिले पनि पोखराको फेवा लेकसाइडलाई मात्रै प्राथमिकतामा राखेकोप्रति असन्तुष्टि जनाउँदै आगामी कार्यक्रम तथा निर्णयमा पोखराका पर्यटनसँग सम्बद्ध सबै व्यवसाय संघ–संस्थालाई समावेश गराउन माग गरेका छन्।

दुई संस्थाको प्रतिनिधित्व गरेर गएका पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष हरिप्रसाद पाण्डे र सिटी रेबान पोखराका अध्यक्ष दीपकप्रसाद तिमिल्सिनाले संयुक्त रूपमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ११ बुँदे ज्ञापनपत्र बुझाएका थिए।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले यथाशीघ्र खोपको व्यवस्था गर्न प्रदेश सरकार लागिरहेको बताए । तर खोप ल्याउने अधिकार प्रदेशमा नभई संघ सरकारमा भएकाले कठिन भएको उनको भनाइ थियो । यद्यपि संघ सरकारले बाधा अवरोध फुकुवा गरिदिए प्रदेश आफैंले खोप ल्याउन सक्ने भन्दै खोप दिनका लागि केही देशहरू तयार भएको उनले बताए।

प्रकाशित: २५ असार २०७८ ०३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App