डिभिजन वन कार्यालय बैतडीले उत्पादन गरेका डेढ लाख बिरुवा वितरण गरिने तयारी गरेको छ। जिल्लाका पाँच वटा नर्सरीमा उत्पादन भएको जडिबुटी, फलफूलका बिरुवा निःशुल्करुपमा वितरण गरिने डिभिजन वन प्रमुख केशव पराजुलीले बताए।
जडिबुटी, फलफूल लगायत १० प्रजातिका बिरुवा उत्पादन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालय र सव डिभिजन कार्यालयहरु गरी पाँच स्थानका नर्सरीमा बिरुवा उत्पादन गरिएका हन्।
डिभिजन वन कार्यालय, सवडिभिजन कार्यालयहरु पाटन, गाँजरी, हाट र गोकुलेश्वरमा नर्सरी स्थापना गरेर बिरुवा उत्पादन गरिएका हुन्। उत्पादन गरिएका बिरुवामा दाँते ओखर २० हजार, तेजपत्ता, लप्सी, बाँस,अमला, रिठ्ठालगायतका रहेका छन्। गोकुलेश्वरमा रहेको सव डिभिजन कार्यालयबाट किसानलाई निःशुल्क वितरण भइरहेको र अन्य ठाउँका नर्सरीबाट केही दिनबाट वितरण हुने डिभिजन प्रमुख पराजुलीले जानकारी दिए।
प्रकाशित: ७ असार २०७८ १०:३६ सोमबार