१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

उदयपुरमा जेठ २८ सम्म निषेधाज्ञा, बैंकहरु ३ दिन खुल्ने

उदयपुरमा अर्को एकसाता निषेधाज्ञा थपिएको छ। अहिलेसम्म जिल्लामा संक्रमित र मृत्यु हुने क्रम नरोकिएकाले आउँदो २८ गतेसम्मलाई निषेधाज्ञा थप्ने निर्णय भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) उदयपुरले जनाएको छ।  

गत वैशाख २५ गतेदेखि सुरु निषेधाज्ञा बढाउने यो चौथो निर्णय हो। सुरुमा वैशाख ३१ गतेसम्म लगाइएको निषेधाज्ञा संक्रमण र मृत्यु संख्या बढ्दै गएपछि पहिलो साता, दोस्रो साता, तेस्रो सातासम्म लम्ब्याइएको थियो। तेस्रो चरणसम्म पनि संक्रमितको संख्या नघटेपछि चौथो पटक एकसाता बढाउनु परेको प्रमुख जिल्ला अधिकारी तथा डिसिसिएमसी अध्यक्ष तुलसीराम सेंढाईले बताए।

डिसीसीएमसीले बैंक तथा बित्तीय संस्थाहरु पनि आंशिक खोल्ने निर्णय गरेको छ। अघिल्लो दुईसाता यता कारोबार बन्द गरिएका बैंकहरु आइतबार, मंगलबार र बिहीबार आंशिक समय खोल्ने निर्णय भएको हो।  

उदयपुरमा बिहीबारसम्ममा सक्रिय संक्रमित संख्या ४ सय ८० महिलासहित १ हजार ६४ पुगेको छ। पछिल्लो २४ घण्टाभित्र निको हुनेको संख्या १ सय ११ महिलासहित २ सय ६३ पुगेको छ। कोभिडका कारण शुक्रबार विहान चौदण्डीगढी नगरपालिका ६ का ४७ वर्षीय १ पुरुषको ज्यान गएसँगै मृतक संख्या ३९ पुगेको छ।  

बेलटारकै उदयपुर कोभिड अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि  केही दिनअघि बिराटनगर रिफर गरिएको थियो। विराट मेडिकल कलेजको भेन्टिलेटरमा उपचारत उनको शुक्रबार विहान ज्यान गएको चौदण्डीगढी ६ का वडाध्यक्ष कमल राईले बताए।

वडाध्यक्ष राईका अनुसार शुक्रबारसहित चौदण्डीगढीमा कोभिडले मृतकको संख्या २ महिलासहित ७ जना पुगेको छ।

प्रकाशित: २१ जेष्ठ २०७८ ०८:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App