६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनकोसी मरिण डाइभर्सन आयोजनालाई २ अर्ब ४६ करोड बजेट विनियोजन

फाइल तस्बिर: सुनकोसी नदी ।

सरकारले सुनकोसी मरिण डाइभर्सन परियोजनालाई तीव्र गतिमा काम अगाडी बढाउन २ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजानिक गरेको बजेटमा यहाँको सुनकोसी गाउँपालिकाको सुनकोसी नदीलाई मरिण गाउँपालिकाको मरिण खोलामा मिसाउने परियोजनालाई उक्त बजेट विनियोजन गरेका हुन्।  

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजानिक गर्ने क्रममा उक्त योजनालाई प्राथमिकताका साथ बजेट विनियोजन गरेको हो। सुनकोसी मरिण डाइभर्सनलाई राष्ट्रिय गौरबको आयोजना घोषणा गर्दै गत वर्षदेखिनै सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्दै आएकोमा यस वर्ष सरकारले पुनः बजेट विनियोजन गरेको हो। गत फागुन २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका उक्त परियोजनाका लागि सरकारले बजेट बिनियोजन गरेसँगै स्थानीय उत्साहित भएका छन्। तोकिएकै समयमा उक्त आयोजना बन्ने आशा पलाएको स्थानीय बताउँछन्।

सुनकोसी गाउँपालिका ६ स्थित सुनकोसी नदीको पानीलाई सुरुङमार्फत मरिण खोलामा खसाल्ने यो आयोजनाको प्रमुख लक्ष्य हो। सोही अनुसार कमलामाई नगरपालिका २ कुसुमटार आसपासका स्थानीयलाई आयोजनाले अधिग्रहण गर्ने जग्गाको मुआब्जा समेत दिइसकिएको छ। आयोजनाबाट सुनकोसीको ६७ क्युमेक्स पानी मरिणमा खसाल्ने योजना बनेको छ। 

सुनकोसी गाँउपालिकाको वडा नं. ७ को सुनकोसी नदीमा १२ मिटर उचाईको बाँध बाँधि ६७ क्युविक प्रति सेकेन्ड पानी १३ दशमलव १ किलोमिटर सुरुङगको माध्यमबाट कमलामाई नगरपालिका वडा नं. २ को कुसुमटारस्थित मरिन खोलामा पानी खसालिने यो आयोजनाले लक्ष्य रहेको छ। आयोजनाबाट सुनकोसीको ६७ क्युमेक्स पानी मरिणमा खसाल्ने र त्यसबाट साढे २८ मेगावाट बिजुलीसमेत उत्पादन गर्ने सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख शुशिलचन्द्र आचार्यले जनाए। विद्युत आयोजनाको पावर हाउस भने कमलामाई नगरपालिका वडा नं. २ को कुसुमटार फाँटमै रहने छ। सुनकोसीको पानी डाइभर्सनपछि मरिण नदीमा मिसाउन कमलामाई नगरपालिका–२ कुुसुमटार फाँटमै खसालिने छ। 

उक्त फाटबाट मरिण नदी हुदै ४२ किलोमिटर दूरीमा रहेको बागमती बाँधमा पानी पुर्‍याइ सिँचाइको सुविधा बढाउने लक्ष्य सरकारको छ। आयोजना निर्देशक आचार्यका अनुसार भेरी बबई आयोजना निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इसिन्जनियरिङ (कोभेक)ले सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको छ। निर्माण कम्पनीले कार्यालय तथा क्याम्प राख्नका लागि आवश्यक कामहरु गरिहेको र काम सुचारु रहेको आयोजनाले जनाएको छ। सो आयोजनाको सुरुङ भने टनेल बोरिङ मेशनि (टीबीएम)ले खन्ने आयोजनाले जनाएको छ। उक्त मेसिन ल्याउनका लागि निषेधाज्ञाका कारण समस्या भएको र अब अनुमति लिएर मेसिनसमेत ल्याउने कामलाई अगाडी बढाइने आयोजना प्रमुख आचार्यले बताए।  

मुआब्जाको विषयमा सिन्धुलीतर्फ सबै प्रभावितले मुआब्जा बुझिसकेका छन्, उनले भने, रामेछापका प्रभावितलाई वितरण गर्ने तयारी हुँदैछ। तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको कुल १ लाख २२ हजार हेक्टरमा सिँचाइ पुर्‍याउने यो आयोजनाको उद्देश्य रहेको बजेट भाषणकै क्रममा अर्थमन्त्री पौडेलले बताए। सुनकोसीको पानी डाइभर्सनपछि मरिण नदीमा मिसाउन कमलामाई नगरपालिका–२ कुसुमटार फाँटमै खसालिने छ। उक्त फाटबाट मरिण नदी हुँदै ४२ किलोमिटर दूरीमा रहेको बागमती बाँधमा पानी पुर्‍याइ सिँचाइको सुविधा बढाउने लक्ष्य सरकारको छ।

प्रकाशित: १६ जेष्ठ २०७८ ०९:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App