४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गण्डकी प्रदेशः १० महिनामा ३७ प्रतिशत बजेट खर्च

गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा झन्डै ३७ प्रतिशत मात्र बजेट खर्च भएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा ३५ अर्ब ७२ करोड १२ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा आर्थिक वर्षको १० महिनाको अवधिमा जम्मा ३६.८३ प्रतिशत बजेट खर्च गरेको गण्डकी प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको हो ।  

यस अवधिमा प्रदेश सरकारले चालुतर्फ ३१.८ र पुँजिगततर्फ ४०.११ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक ईन्द्रप्रसाद पौडेलले जानकारी दिए । चालुतर्फ १४ अर्ब ८ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रदेश सरकारले १० महिनाको अवधीमा चालु खर्चतर्फ ४ अर्ब ४७ करोड ६८ लाख अर्थात ३१.८ प्रतिशत खर्च गरेको छ । पुँजिगततर्फ २१ अर्ब ६३ करोड ९२ लाख बजेट विनियोजन गरेकोमा बैशाख मसान्त सम्ममा ८ अर्ब ६७ करोड ९२ लाख अर्थात ४०.११ प्रतिशत बजेट खर्च भएको छ ।

प्रदेशको सबैभन्दा धेरै बजेट भएको भौतिक पूर्वाधार मन्त्रालयका लागि १६ अर्ब २० करोड ५६ लाख बजेट विनियोजन भएकोमा बैशाख मसान्तसम्ममा ७ अर्ब ८५ करोड ६० लाख रुपैयाँ अर्थात ४८.४८ प्रतिशत बजेट खर्च गरेको छ ।  

दोश्रो धेरै बजेट भएको सामाजिक विकास मन्त्रालयलाई ५ अर्ब २८ करोड २८ लाख बजेट विनियोजन भएकोमा १ अर्ब ६९ करोड ८० लाख अर्थात ३२.१४ प्रतिशत खर्च भएको छ ।  प्रदेशको भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयलाई ३ अर्ब १८ करोड १६ लाख बजेट विनियोजन भएकोमा ६२ करोड ६३ लाख अर्थात १९.६९ प्रतिशत बजेट खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयलाई १९ करोड ६३ लाख बजेट विनियोजन भएकोमा ४ करोड ३४ लाख अर्थात २२.१५ प्रतिशत बजेट खर्च गरेको छ ।

यसैगरी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि १ अर्ब ९० करोड २४ लाख विनियोजन भएकोमा ७२ करोड १३ लाख अर्थात ३७.९२ प्रतिशत खर्च गरेको छ ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि ६१ करोड ६० लाख बजेट विनियोजन भएकोमा २२ करोड २० लाख अर्थात ३६.०४ प्रतिशत खर्च भएको छ । मुख्यमन्त्री कार्यालयका लागि २ अर्ब ५० करोड ७२ लाख बजेट विनियोजन भएकोमा ४८ करोड १० लाख अर्थात १९.१९ प्रतिशत खर्च गरेको छ । ‘कोरोना संक्रमणले गर्दा बजेट खर्चनमा केही समस्या भएको हो,’ पौडेलले भने । 

प्रकाशित: १० जेष्ठ २०७८ ०८:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App