४ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

हिमालयन र इन्भेस्टमेन्ट बैंक गाभिने, सेयर अनुपात बराबर

बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा मर्जरसम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे (बायाँ) र हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम। तस्बिर: नागरिक

लामो प्रयासपछि बिहिबार ‘क’ वर्गका हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंकबीच मर्जर समझदारी भएको छ। इन्भेस्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाँडे र हिमालयनका समकक्षी तुलसीप्रसाद गौतमले राजधानीमा आयोजित एक कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। यी बैंक एक भएपछिको नाम ‘हिमालयन एन्ड नेपाल इन्भेस्टमेन्ट बैंक’ राख्ने सहमति भएको छ।

मर्जपछि बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक राणा हुनेछन्। अहिले पाँडे इन्भेस्टमेन्ट बैंकका अध्यक्ष र राणा हिमालयन बैंकका सिइओ छन्। राणाको कार्यकाल सकिएपछि ज्योति पाण्डे सिइओ हुनेछन्। ज्योति अहिले इन्भेस्टमेन्ट बैंकमा सिइओ छन्।  

मर्जरपछि यो संस्था मुलुकको सबैभन्दा ठूलो वाणिज्य बैंक हुनेछ। कुल चुक्ता पुँजी २६ अर्ब ९४ करोड १७ लाख रूपैयाँ कुल निक्षेप करिब तीन खर्ब ११ अर्ब रूपैयाँ पुग्नेछ, जुन अहिलेका वाणिज्य बैंकमध्ये सबभन्दा बढी हो।  

दुवै बैंकको सम्पत्ति तथा दायित्व मूल्यांकन १ सेयर बराबर १ हुने बताइएको छ। अर्थात एउटा बैंकको १० कित्ता सेयर हुनेले मर्जपछि नै त्यत्ति नै कित्ता सेयर प्राप्त गर्नेछन्। अबको तीन महिनामा एकीकृत रूपमा कारोबार थाल्ने लक्ष्य लिइएको छ। यी दुई बैंकको मर्जरलाई बिग मर्जरको रूपमा लिइएको छ। यसअघि ग्लोबल आइएमई र जनता बैंकबीच बिग मर्जर भएको थियो।  

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको संख्या बढी भएको भन्दै मर्जरलाई प्रोत्साहन गर्ने नीति लिएको छ। यी दुई बैंकको मर्जपछि वाणिज्य बैंकको संख्या २६ मा झरे पनि राष्ट्र बैंकका अधिकारीहरू नेपालमा बढीमा १५ वटासम्म ‘क’ वर्गका बैंक भए पुग्ने बताउने गर्छन्।  

मर्जरपछि बन्ने बैंक सञ्चालक समितिमा दुवैको तर्फबाट ३–३ जना नियुक्त हुने र नयाँ सञ्चालक समितिले स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको सञ्चालक समिति बनाउने सहमति भएको छ।  

अहिले इन्भेस्टमेन्टको १४.१० अर्ब र हिमालयनको ७.६७ अर्बको जगेडा तथा कोष छ। कर्जा लगानीतर्फ इन्भेस्टमेन्टको १६०.९८ अर्ब र हिमालयनको १२७.१४ अर्ब रहेको विज्ञप्तिमा उल्लेख छ। निक्षेपतर्फ इन्भेस्टमेन्टको १६८.२९ अर्ब र हिमालयनको १४३.७० अर्ब रहेको हुँदा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुने पनि विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: ३१ वैशाख २०७८ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App