६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

निर्माण पूरा नहुँदै भत्किने अवस्थामा पुग्यो पुल

चार वर्षअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने बकैया नदीको एउटा पुल अधुरै अवस्थामा जीर्ण बन्न पुगेको छ। रौतहट सदरमुकाम गौर नगरपालिका र ईशनाथ नगरपालिकालाई जोड्न बकैया नदीमाथि पुल निर्माण सुरु भएको थियो।२०७१ असार २९ मा ठेक्का सकार गरेर २०७४ असार २५ भित्र निर्माण सम्पन्न गरिसक्नुपर्नेमा पप्पु कन्सट्रक्सनले करिब ५० प्रतिशत काम गरेर छोडेको छ।

१४ करोड ९३ लाखमा उक्त पुल निर्माण गर्ने ठेक्का पप्पुले लिएको थियो। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुल शिलान्यास गर्दा कम्पनीले निर्धारित समयभित्रै काम सम्पन्न गर्ने वचनबद्धता प्रकट गरेको थियो। समयमा पुल निर्माण हुन नसक्दा निरन्तर जीर्ण बन्दै गएको र भत्किने अवस्थामा पुगेको स्थानीयको भनाइ छ।  

पुलमा गुणस्तरहीन सामग्री प्रयोग गरिएकोले पुलबाट सिमेन्ट झर्न लागेको तथा फलामे डन्डीमा खिया लागेर बर्बाद भइरहेको उनीहरूको गुनासो छ। गौर नगरपालिका, वडा नम्बर ४ का वडाध्यक्ष भुवनेश्वर शाहीले जिल्ला प्रशासन कार्यालय, प्रदेश तथा केन्द्र सरकारको सम्बन्धित मन्त्रालय र निकायलाई जति गुहार्दा पनि कसैले काम सम्पन्न गराउनतिर चासो नदिएको गुनासो गरे।  

बर्खामा स्थानीयबासी डुंगाको अति नै कठिन र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा रहेको उनको भनाइ छ। निर्माणाधीन पुललाई हेर्दै स्थानीयबासी सरकारलाई सराप्दै डुंगामा वारपार गर्न बाध्य हुने निश्चित रहेको वडाध्यक्ष शाहीको भनाइ छ। गौर ४, टिकुलिया गाउँका स्थानीयको अधिकांश खेतबारी बकैया नदीभन्दा पश्चितिर नै छ। बिहानदेखि बेलुकासम्म स्थानीयबासी घाँस लिन तथा खेतबारीको काम गर्न नदी पारि जान्छन्। हिउँदमा बाँसको लचका बनाएर नदी वारपार गर्ने गरेका स्थानीयबासी बर्खायाममा डुंगाको सहारामा कहालीलाग्दो किसिमले वारपार गर्न बाध्य हुन्छन्। केही वर्षपहिले कैयौं जनाको मृत्यु यही निर्माणाधीन पुलको पिल्लरमा डुंगा ठोक्किएर भएको थियो।

निर्माणाधीन पुलको बिमबाट आफैं गिटी झरिरहेको देखिएकोले गुणस्तरहीन सामग्रीको प्रयोग गरेर पुलको निर्माण गरिएको स्पष्ट भएको स्थानीयको आरोप छ। गुणस्तरहीन सामग्रीको प्रयोग गरी निर्माण गरिएको पुलको संरचना भत्काएर नयाँ बनाउन पनि स्थानीयले माग गरेका छन्। पुल निर्माण भएपछि ईशनाथ, राजपुर, परोहा तथा मौलापुर नगरपालिका बासिन्दालाई पनि सदरमुकाम गौर आवतजावत गर्न सजिलो हुने देखिएको छ।

अन्तिमपटक पुल निर्माणको लागि थप गरिएको म्याद २०७८ असार समान्तसम्म रहेको भनी निर्माण कम्पनीले केही निर्माण सामग्री खसालेको छ। समय घर्किसकेकोले कुनै पनि हालतमा निर्माण कार्य सम्पन्न हुन नसक्ने स्थानीयको गुनासो रहेको छ। स्थानीय राजकुमार ठाकुरले पुलको निर्माण समयमा नै भए लाखौं नागरिकलाई सजिलो हुने बताए।

प्रकाशित: २४ वैशाख २०७८ ०३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App