७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उदयपुर सिमेन्टमा नयाँ जिएमको सय दिनः एकैदिन साढे १७ हजार बोरा बिक्रीको किर्तीमान

उदयपुर सिमेन्ट उद्योग लि.को प्रवेशद्वार । तस्बिरः महेश्वर

दक्षिण एसियाकै उत्कृष्ट गुणस्तरीय गैंडा सिमेन्ट बिक्रीमा एकैदिन साढे १७ हजार बढी बोरा बिक्रीको किर्तीमान कायम भएको छ । पूर्ण सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योग (उसिउलि)बाट उत्पादित गैंडा सिमेन्ट बिगत १२ वर्षयता एकैदिन सबभन्दा धेरै बिक्री भएको नयाँ किर्तीमान हो ।  

दुई वर्षसम्म नेतृत्वविहीन हुन पुगेको उद्योगले नयाँ महाप्रबन्धक (जिएम) पाएको शुक्रबार सय दिन पुगेको अवसरमा बिक्रीको नयाँ किर्तीमानबारे जानकारी दिएको हो । माघ १ गते नेतृत्व सम्हाल्न आएका जिएम गोपीकृष्ण न्यौपानेले कार्यकालको सय दिनको प्रगतिबारे नागरिकलाई जानकारी दिँदै वैशाख ६ गते एकैदिन १७ हजार ३ सय ६४ बोरा सिमेन्ट बिक्री भएको बताए । उनका अनुसार पछिल्लो १२ वर्षमा यो बिक्री नयाँ किर्तीमान हो । ०४९ सालदेखि व्यवसायिक उत्पादन थालेको उद्योगले स्थापनापछि ०५५ सालतिर एकपटक धेरै बिक्री भएपछि यो नै अर्को नयाँ किर्तीमान भएको जिएम न्यौपानेले बताए ।  

‘म आउनुभन्दा अगाडि ०५५ तिर यसको हाराहारी सिमेन्ट बिक्री भएको अभिलेखमा देखियो तर, त्यसयता बढीमा १२ हजार बोराभन्दा धेरै बिकेको रेकर्ड छैन’ जिएम न्यौपानेले भने ‘पछिल्लो १२ वर्षमा मेरो कार्यकाल सुरु भएको सयदिनभित्र यो किर्तीमान कायम हुनुलाई मैले सुखद परिणामको रुपमा हेरेको छु ।’ सो बिक्रीशबाट एकैदिन उद्योगले १ करोड २९ लाख ५० हजार ७१ रुपैयाँ प्राप्त भएको उनले बताए । पछिल्लो समय सिमेन्ट बिक्रीदर ह्वात्तै बढेको छ भने दैनिक कम्तीमा सरदर ८ देखि १२/१३ हजार बोरा सिमेन्ट बजार जाने गरेको छ । धेरै सिमेन्ट बिक्री हुनुमा उद्योगका कर्मचारी, मजदुर, ट्रेड युनियनआबद्ध संस्थाहरु, अधिकृत बिक्रेतालगायत सबैपक्षलाई जिएम न्यौपानेले धन्यवाद दिएका छन् ।

माघमा पहिलो चोटी उद्योग आउँदा कोईला, जिप्सनलगायत कच्चा पदार्थ नभएकाले १० दिनमा सामग्री जुटाएर उद्योग सञ्चालनमा ल्याएको उनको भनाई छ । जसका बाबजुद माघमा २ लाख ११ हजार १ सय ३८ बोरा सिमेन्ट बेचेको उद्योगले फागुनमा २ लाख ३८ हजार ३ सय ७१ बोरा बिक्री गरेको न्यौपानेले बताए । उद्योगले आर्थिक वर्ष सुरुदेखिको ६ महिनामा बेचेजत्तिकै सिमेन्ट न्यौपानेको सयदिनको कार्यकालमा बिकेको जनाएको छ । बिक्री विभागका कर्मचारी कुवेर काफ्लेका अनुसार साउन १ देखि पुस मसान्तसम्म ६ लाख ९८ हजार ५ सय ८६ बोरा सिमेन्ट बिकेकोमा न्यौपानेको सय दिनमै माघ १ देखि वैशाख ९ भित्र ६ लाख ६० हजार १ सय ७३ बोरा सिमेन्ट बेचेको बताए । यसको आधारमा सय दिनको बिक्री झण्डै ६ महिनामा बिके बराबर भएको काफ्लेले बताए ।  

अहिले उत्पादन र बिक्री दुवैमा प्रगति भएको र आफू आउँदा ६५ करोड ८२ लाख रहेको चालु दायित्वलाई सयदिनमा ५० लाख भुक्तानी गरिसकेको बताए । बाँकी १६ करोड दायित्व आउँदो असारभित्र भुक्तानी गरिसक्ने गरी लागी परेको उनको भनाई छ । ‘बाँकी दायित्व पनि चालु वर्ष (असार)भित्रै तिरिसक्ने गरी सिमेन्ट उत्पादन र बिक्रीमा मेरो ध्यान गएको छ’ उनले भने ‘यन्त्र उपकरणले धोका नदिए त्यो ठूलो कुरा पनि होईन ।’  

उद्योगले पछिल्लो समय कोइला र जिप्सनलगायत सामग्री ल्याएवापत सिमेन्ट नै भुक्तानी (वस्तु बिनिमय) दिने प्रणालीको पनि अन्त्य गरेको छ । सिमेन्ट अन्यत्र बेचेर पाटीलाई भुक्तानी गर्दा नगदै दिने प्रचलन बसाएको उद्योगले जनाएको छ । कोईला र जिप्सनको भुक्तानी सिमेन्टबाट गर्दा बिक्रेताले लक्ष्यमा आधारित बिक्रीको कमिसन, बैंक ग्यारेण्टी, नगद छुटजस्ता स्किम नपाउने हुनाले उद्योग र पाटी दुवैलाई घाटा हुने भएकाले त्यस्तो प्रणाली अन्त्य गरिएको न्यौपाने बताउँछन् । नयाँ बिक्री नीति लिएपछि प्रदेश १, २ र बागमतीमा अधिकृत बिक्रेताको संख्या वृद्धि हुनुका साथै सिमेन्ट बिक्री पनि दोब्बर भएको छ । यो प्रणालीलाई अझ बजबुत बनाउँदै बिक्री दर बढाउने लक्ष्य लिएको जिएम न्यौपानेले बताए ।

प्रदूषण क्षेत्रका स्थानीयलाई लोडसेडिङका बेला उद्योगको लाईनबाट विद्युत उपभोग गर्गेगर्दा मासिक ४ लाख हाराहारी उद्योगलाई पर्दै आएको आर्थिक भार पनि हटाएको उनले दावी गरेका छन् । उद्योगको लाईनबाट जोडेको विद्युत नियमित लाईनसँग जोडेर सेवा पाएपछि एकातिर उपभोक्ता विद्युत उपभोग गर्न पाएका छन् भने उद्योगलाई अतिरिक्त आर्थिक भार पनि हटेकाले दुवैपक्षलाई फाईदा पुगेको छ । अव डेडिकेटेड लाईनवापत उद्योगले तिरेको २२ करोड रुपैंया कोविड कहरमा उद्योगले तिर्न बाँकी २० करोड रुपैयाँसँग मिलान गर्न मन्त्रालयलाई आग्रह गरेको उनले बताएका छन् । कोविडकालमा उद्योग नचले पनि कर्मचारीलाई तलबभत्तालगायत सेवा सुविधा र विद्युतवापत भएको खर्चले उद्योगलाई भएको क्षति डेडिकेटेड लाईनवापतको रकमसँग मिलान गर्न सके घाटा कम गर्न सकिने उनले बताए ।

आफ्नो कार्यकालमा उद्योगलाई अल्पकालीन र दीर्घकालीनरुपमा मजबुत बनाउँदै लानका लागि सञ्चालक समितिका निर्णय, ट्रेड युनियन र मजदुर कर्मचारीसँग नियमित सुझाव सल्लाह लिएर साथ सहयोग माग्दै आएको उनले बताएका छन् । ३ वर्षे कार्यकालभरी साथ र सहयोग पाए वास्तविक सरकारी उद्योगको रुपमा उसिउलिलाई स्थापित गरेर छाड्ने अठोट उनको छ । न्यौपानेले उद्योगलाई राम्रो बनाउन सबभन्दा ठूलो भूमिका कर्मचारी मजदुरको रहने भएकाले उनीहरुलाई यसअघि नियमित खान नपाएको मासिक तलबभत्ता समयमै खुवाउन थालेको तथा नागरिक लगानी कोष, संचय कोष र अतिरिक्त पारिश्रमिक (ओटी)को सुविधा भुक्तानी पनि नियमित गर्दे आएको बताए ।

उद्योगले आर्थिक पारदर्शिताका लागि समयमै लेखापरीक्षण गर्ने नीति लिएर चालु वर्षको पुससम्मको आन्तरिक लेखापरीक्षण गरिसकेको जनाएको छ । त्यस्तै यसअघि कायम रहेको कर्मचारीलाई अनावश्यक काज बिदा हटाइएको छ । उद्योगको हितविपरित काम गर्ने कर्मचारीलाई कारबाही गर्ने तथा राम्रो काम गरेवापत पुरस्कार र प्रोत्साहन गर्ने नीति अलवम्बन गरिएको छ । उद्योगलाई चाहिने सामान खरिद गर्दा गुणस्तर कायम गर्न बिभिन्न कमिटी गठन गरी सामानको भौतिक परीक्षण थर्ने तथा वर्षाैंदेखि छरपस्ट रहेका कवाडी (थोत्रा) सामान संकलन गरी  व्यवस्थापन गर्न सुरु भएको छ ।

प्रकाशित: १० वैशाख २०७८ १३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App