२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

चीनको जिडिपी १८.३ प्रतिशतले बढ्यो

चीनको अर्थतन्त्र यस वर्षको पहिलो त्रैमासिक अवधिमा तीव्र गतिमा वृद्धि भएको शुक्रबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ। कोरोना भाइरस महामारीका कारण केही शिथिल देखिएको अर्थतन्त्रमा यस वर्ष आश्चर्यजनक प्रगति देखिएको हो।

चीनले विगत तीन दशकयता देशको अर्थतन्त्रको त्रैमासिक विवरण तयार गर्न थालेको थियो। यस वर्ष पहिलो त्रैमासमा कूल गार्हस्थ उत्पादन (जिडिपी) १८.३ प्रतिशतले वृद्धि भएको चिनियाँ सरकारी अधिकारीहरूले बताएका छन्।  

यद्यपी, एएफपीले अर्थशास्त्रीबीच गरेको सर्भेको तुलनामा यो वृद्धि केही कम हो। सन् २०१९ को अन्त्यतिर कोरोना महामारी चीनको उहानबाट फैलिए पनि सरकारले अपनाएको कडा नियन्त्रण उपाय र आम सर्वसाधारण पनि घरमै बसिदिएकाले चीनमा कोभिड चाँडै नियन्त्रणमा आएको थियो।  

राष्ट्रिय तथ्यांक ब्युरोकी प्रवक्ता लिउ आइहुवाले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रिय अर्थतन्त्र राम्रो ढंगबाट अगाडि बढिरहेको प्रतिक्रिया दिइन्। ‘अघिल्लो वर्षको तुलनामा जिडिपीमा तीव्र वृद्धि देखिनुमा एउटा कारण अघिल्लो वर्ष जिडिपीमा न्यून वृद्धि पनि हो,’ उनले भनिन्।  

गत मार्चमा खुद्रा बिक्रीमा निकै बढी वृद्धि भएको छ। चिनियाँ अर्थतन्त्रको आधार स्तम्भको रूपमा रहेको उपभोक्ता क्षेत्रमा राम्रो प्रगति भएको तथ्यांकले देखाएको छ। औद्योगिक उत्पादन त्रैमासिक अवधिमा अनुमान गरिएभन्दा केही कम अर्थात् २४.५ प्रतिशतले वृद्धि भएको छ। केही दिनअघि मात्र सार्वजनिक विवरणमा चीनको आयातभन्दा निर्यात मार्च महिनामा निकै बढेको देखाइएको थियो।

 प्रवक्ता लिउले अन्तर्राष्ट्रिय परिदृश्य अझै पनि अनिश्चितताले घेरिएको बताइन्। विश्वका विभिन्न मुलुकमा कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिए पनि खोपको वितरण असन्तुलित रहेको र धेरैजसो मुलुकमा भाइरस फैलिने क्रम बढेसँगै लकडाउन र अन्य सुरक्षात्मक उपाय अपाउन थालिएका छन्।चीनमा सहरी बेरोजगारी दर पनि केही घटेको छ। पहिलो त्रैमासिक अवधिमा सहरी बेरोजगारी ५.३ प्रतिशत हाराहारीमा छ।

प्रकाशित: ६ वैशाख २०७८ ०३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App