२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

लाङटाङ निकुञ्जमा ४२ वर्षमा तीन लाख ४० हजार पर्यटक

रसुवामा विदेशी पर्यटकको आगमन कहिलेबाट सुरु भयो भन्ने आधिकारिक तथ्यांक छैन्। तर २०३२ चैत ९ गते लाङटाङ राष्ट्रिय निकुञ्जको स्थापना भएपछि पर्यटकको तथ्यांक राख्न सुरु गरिएको हो। आर्थिक वर्ष २०३५/३६ मा ८ सय ८३ पर्यटक निकुञ्ज अवलोकन गर्न पुगेको तथ्यांकमा उल्लेख छ। यसभन्दा अगाडिको तथ्यांक छैन। गएको ४२ वर्षमा तीन लाख ४० हजारभन्दा बढी पर्यटक निकुञ्ज भित्रिएका छन्।  

निकुञ्ज स्थापना भएदेखि गत आर्थिक वर्ष (२०७६/७७) सम्ममा ३ लाख ४० हजार ६ सय ७६ विदेशी तथा सार्क राष्ट्रका पर्यटक निकुञ्ज आएको तथ्यांकमा उल्लेख छ। निकुञ्ज आउने पर्यटकमध्ये धेरैजसो जिल्लामा रहेका धार्मिक, प्राकृतिक र ऐतिहासिक सम्पदाको अध्ययन, अवलोकन तथा अनुसन्धानका लागि आउने गरेको पाइएको छ।

निकुञ्जमा पर्यटक प्रवद्र्धनका कार्यक्रम सञ्चालन भएका कारण पछिल्लो समय पर्यटक बढ्दै गएको प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताइन्। पदमार्ग सुधार, विश्रामस्थल निर्माण, सूचना बोर्डको स्थापनालगायतका काम गरिएको उनको भनाइ छ। कोभिड–१९ का कारण एक वर्षसम्म पर्यटक आगमन प्रभावित भएको भए पनि अहिले पुनः पर्यटक आउने क्रम सुरु भएको छ।  

पछिल्लो समय जिल्लामा नेपाली पर्यटक बढी संख्यामा भित्रिरहेका छन्। तथ्यांक अनुसार लाङटाङ राष्ट्रिय निकुञ्जमा सबैभन्दा कम आर्थिक वर्ष २०३५/३६ मा ८ सय ८३ पर्यटक र सबैभन्दा बढी आर्थिक वर्ष २०७५/७६ मा १७ हजार ६ सय ९१ पर्यटक आएका छन्। रसुवामा धार्मिकस्थल गोसाइँकुण्डलगायतका १ सयभन्दा बढी कुण्ड, ऐतिहासिक स्थल रसुवागढी, लाङटाङ, विभिन्न हिमश्रृङ्खला, तामाङ सम्पदा मार्ग, ५५ वटा गुम्बालगायतका प्राकृतिक तथा मानव निर्मित सम्पदाहरू रहेका छन्।

त्यसैगरी लाङटाङ राष्ट्रिय निकुञ्जमा विश्वको दुर्लभ वन्यजन्तु रेडपान्डा, हिमचितुवालगायतका जीवजन्तु पाइन्छ। जिल्लामा वार्षिक रूपमा ८ हजारदेखि १८ हजारसम्म पर्यटक भित्रने गरेका छन्। पछिल्लो समय नेपाली पर्यटकले समेत प्रवेश शुल्क तिरेर आउने गरेका छन्। शुल्क तिरेर आउने नेपाली पर्यटकको संख्या समेत तथ्यांकमा समावेश गरिएको छ।  

जिल्लामा चार वटा पदमार्ग रहेका छन्। धुन्चे लौरीवीना चन्दनबारी बुद्ध मन्दिर हुँदै गोसाइँकुण्ड पुगिने गोसाइँकुण्ड पदमार्ग, धुन्चे–ठूलोस्याफ्रु–लामाहोटल हुँदै लाङटाङ पुगिने लाङटाङ पदमार्ग, धुन्चे–स्याफ्रु–गोल्जुङ हुँदै गत्लाङ पुगिने तामाङ सम्पदा मार्ग र धैबुङबाट लोकिल हुँदै यार्सासम्म पुगिने रसुवामा मार्ग गरेर चार वटा पदमार्ग सञ्चालनमा छन्।

जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरेपनि असोज १५ गतेदेखि कात्तिक मसान्त र चैतदेखि वैसाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन्। सिजनको समयमा लाङटाङमा दैनिक डेढ सय जनासम्म पर्यटक जाने गरेका छन्। निकुञ्जमा आएका पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ पुग्ने गरेकोमा पछिल्लो समय गोसाइँकुण्ड जानेको संख्या बढ्दै गएको छ।  

काठमाडौंबाट नुवाकोट, बेत्रावती, कालीकास्थान, धुन्चे, स्याफ्रुबेंसी, लामा होटल, घोडा तबेला हुँदै लाङटाङ पुग्न सकिन्छ। लाङटाङ जाने पर्यटक करिब १० दिनसम्म बस्ने गरेका छन्। ‘यहाँ आउने पर्यटक सरदर १० दिनसम्म बस्छन्’, होटल व्यावसायी डिण्डुप लामाले भने, गन्जला पास गर्नेहरू बढी समय रहन्छन्।’

प्रकाशित: १६ चैत्र २०७७ ०३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App