७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उदयपुर सिमेन्टमा नयाँ जिएमको दुई महिना

फागुनमा गैंडा सिमेन्टको बिक्री बढ्यो

उदयपुर सिमेन्ट उद्योग । तस्बिरः महेश्वर

पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन गैंडा सिमेन्ट फागुनमा यस वर्षकै बढी बिकेको छ। दुई वर्षसम्म महाप्रबन्धक (जिएम)विहीन रहेको उद्योगले बुधबार विज्ञप्ती जारी गर्दै गत माघ १ गते गोपीकृष्ण न्यौपाने नयाँ जिएम भएयताको प्रगति सार्वजनिक गर्दै सो जानकारी दिएको हो।

न्यौपानेले कार्यभार सम्हालेपछि भए/गरेका प्रगति समेटेर जारी १५ बुँदे विज्ञप्तीमा उद्योगले फागुनमा २ लाख ३८ हजार ३ सय ७१ बोरा सिमेन्ट बिक्री गरेको उल्लेख छ। माघमा २ लाख ११ हजार १ सय ३८ बोरा सिमेन्ट बेचेको उद्योगले अहिले उत्पादन र बिक्री दुवै प्रगति उन्मुख भएको जनाएको छ । न्यौपाने आउँदा कोईला अभावमा बन्द उद्योग १० दिनभित्रै कोईला र अन्य कच्चा पदार्थ बन्दोबस्त गरी सञ्चालन गरिएको उल्लेख छ।  

माघसम्म ६५ करोड ८२ लाख चालु दायित्वलाई उद्योगले आफ्नै स्रोत परिचालन गरी हालसम्म ३२ करोडभन्दा बढी भुक्तानी गरेको जनाएको छ। कोइला ल्याएवापत सिमेन्ट भुक्तानी दिने प्रचलनको अन्त्य गर्दै बिक्रेतालाई लक्ष्यमा आधारित कमिसन, बैंक ग्यारेण्टी, नगद छुटजस्ता स्किम (योजना)सहित नयाँ बिक्री नीति लिएर बिक्रेता संख्या बढाएको दावी गरिएको छ। कोईलाको भुक्तानी सिमेन्ट दिँदा बिक्रेता घट्दै गएकाले नीति बद्लिनु परेको उसको भनाइ छ।  

नयाँ बिक्री नीति अवलम्बन गरेपछि प्रदेश १, २ र बागमतीमा अधिकृत बिक्रेताको संख्या १ सय २ पुगेर गैंडा सिमेन्टको बजारमा दह्रोे उपस्थिति देखिएको उद्योगले जनाएको छ। न्यौपाने आउँदा बन्द उद्योग मर्मतसम्भार गर्न केही समय लागेकाले क्लिंकर उत्पादन लक्ष्य अनुसार हुन नसके पनि बजारमा सिमेन्ट अभाव भने हुन नदिएको उद्योगको दावी छ।  

जिएम न्यौपानेले सञ्चालक समितिका निर्णय, ट्रेड युनियन र मजदुर कर्मचारीको सुझाव सल्लाह र साथ लिँदै अघि बढेकाले उद्योग क्रमशः सुधारतर्फ गएको निश्कर्ष निकालेको छ। यसअघि नियमित खान नपाएको कर्मचारीको मासिक तलब भत्ता, नागरिक लगानी कोष, संचय कोष र अतिरिक्त पारिश्रमिक (ओटी)को भुक्तानी नियमित गर्न थालिएको पनि विज्ञप्तीमा जनाइएको छ।

लोडसेडिङमा उद्योगको विद्युत लाइनबाट प्रभावितक्षेत्रमा जोडिएको लाइन लोडसेडिङ अन्त्यपछि पनि जारी रहेकाले उद्योगलाई लगभग मासिक ५ लाख अतिरिक्त भार (नोक्सानी) पर्दै आएकोमा जिएम न्यौपानेले ती सबै लाईन हटाएर नोक्सानीको अन्त्य गरेका छन्। प्रदूषण कम गर्न स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको सहयोग लिएर उद्योगमा जडान गरिएको प्रदूषण नियन्त्रण यन्त्र (इपी) मर्मत र सरसफाई सुरु भएको छ।  

वर्षौंसम्म लेखापरीक्षण नहुने उद्योगको आर्थिक पारदर्शिता कायम गर्न चालुवर्ष पुससम्मको आन्तरिक लेखापरीक्षण अद्यावधिक गरिसकेको छ भने कर्मचारीलाई अनावश्यक काजको प्रचलन हटाइएको छ। उद्योगको हितविपतिर काम गर्ने जो कोहीलाई कारबाही र राम्रो काम गर्नेलाई प्रोत्साहनको प्रचलन सुरु गरिएको छ। उद्योगलाई आवश्यक सामान खरिद गर्दा गुणस्तर कायम गर्न बिभिन्न कमिटीहरु गठन गरी सामानको भौतिक परीक्षण थर्न थालिएको छ भने वर्षाैंदेखि छरपस्ट कवाडी (थोत्रा) सामानको संकलन र व्यवस्थापन गर्ने, उद्योगको जग्गाको यकिन गरी संरक्षण कार्य थालिएको छ।  

डेडिकेटेड फिडरवापत भुक्तानी भईसकेको २२ करोड बढी रकम, विद्युत प्राधिकरणलाई तिर्न बाँकी रकमबाट मिलान गर्न सम्बन्धित निकायसँग अनुरोध गरिएको छ। उद्योगको किल्न र प्लाण्टको अवस्थाको परामर्शदाताबाट अध्ययन गराई तत्काल मर्मतसंभार गरी बाह्रै काल उद्योग चलिरहने बनाउन गृहकार्य थालिएको छ। आउँदो १ वर्षभित्रै ७० करोड थप लगानी गरी १ मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने ‘ब्याकअप सोलार प्लाण्ट’सहित किल्न सेल फेर्ने योजना पनि न्यौपानेले अघि सारेका छन्।  

हाल दैनिक ८ सय मेट्रिक टन उत्पादन क्षमताको उद्योगको महत्वपूर्ण यन्त्र ‘रिइन्फोर्समेन्ट सस्पेन्सन प्रेहिटर’ जडान गरी १ हजार १ सय मेट्रिक टन उत्पादन क्षमता पुर्‍याउने कार्ययोजना पनि जिएम न्यौपानेले अघि सारेको विज्ञप्तीमा उल्लेख छ। जसका लागि नेपाल सरकारसँग बजेट माग्दै पत्राचार गरिएको र सकारात्मक प्रतिक्रिया आएको उद्योगले दावी गरेको छ। दक्षिण एसियाकै गुणस्तरमध्येको एक उसिउलिको अपार चूनढुंगा खानीको भरपुर उपयोग गर्दै प्रशासनले भन्दा प्रणाली (सिस्टम)ले चल्ने बनाउन दीर्घकालीन योजना न्यौपानेले बुनेका छन्।  

उद्योगका प्रवक्ता रामबहादुर जिसीद्वारा जारी विज्ञप्तीमा यन्त्र उपकरणले साथ दिए २ वर्षभित्र उद्योगलाई नाफामा लाने जिएम न्यौपानेको योजना रहेको उल्लेख छ। झट्ट हेर्दा हाल ५ अर्ब ५० करोड नोक्सान बेहोरिरहेको देखिए पनि ९५ प्रतिशत स्वदेशी कच्चा पदार्थको प्रयोगबाट उत्पादन हुने गैंडा सिमेन्टले सरकारलाई वार्षिक १ अर्ब राजस्व तिर्दै आएको र ३ सय ४० कर्मचारीले प्रत्यक्ष रोजगारी पाएको विज्ञप्तीमा जनाइएको छ।

प्रकाशित: ६ चैत्र २०७७ ०५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App