१६ चैत्र २०८० शुक्रबार
अर्थ

कास्कीमा कृषि ज्ञान केन्द्र स्थापना

कास्कीमा पहिलोपटक कृषि ज्ञान केन्द्र स्थापना भएको छ। गण्डकी प्रदेशको राजधानी भएर पनि कास्कीमा यसअघि कृषि ज्ञान केन्द्र थिएन। यसअघि स्याङ्जामा रहेको कृषि ज्ञान केन्द्रले कास्की पनि हेथ्र्यो। तर प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका सबै जिल्लामा ज्ञान केन्द्र स्थापना गर्ने निर्णय गरेपछि पोखरा महानगरपालिका, वडा नम्बर १७ बिरौटामा स्थापना गरेको हो ।

ज्ञान केन्द्रको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे। कृषिसम्बन्धी कुनै पनि सेवा लिन अर्को जिल्ला धाउनुपर्ने बाध्यता हटाउन मन्त्रालयले सबै जिल्लामा ज्ञान केन्द्र स्थापना गर्ने निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले बताए। सोही निर्णय अनुसार पोखरामा पनि ज्ञान केन्द्र स्थापना गरिएको उनले बताए।

 कृषि ज्ञान केन्द्र स्थापना गर्नेमा कास्की दसौं नम्बरमा परेको छ। यसअघि स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, लमजुङ, तनहुँ, गोरखा र नवलपुरमा ज्ञान केन्द्र स्थापना भइसकेको मन्त्रालयले जनाएको छ। मनाङमा भने ज्ञान केन्द्र स्थापना नभएको र केही समयपछि स्थापना गरिने मन्त्रालयका सचिव सबनम शिवाकोटीले जानकारी दिइन्। पोखरामा कृषि ज्ञान केन्द्र स्थापना भएसँगै कास्कीका कृषक अब कृषिको समस्या लिएर अर्को जिल्ला धाउनु नपर्ने मन्त्री थापाले बताए।  

ज्ञान केन्द्रमा वरिष्ठ कृषि अधिकृतको नेतृत्वमा कर्मचारी खटिने मन्त्रालयले जनाएको छ। उद्घाटन सत्रमा प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कृषिमा उच्च प्रविधिको प्रयोग बढाउन सरकार प्रयत्नरत रहेको बताए। प्रविधिको प्रयोगसँगै उत्पादकत्व वृद्धि हुने उनको भनाइ छ। जसका लागि सरकारले जमिनको चक्लाबन्दी गर्ने, प्रविधियुक्त दक्ष जनशक्ति विकास गर्ने, प्रदेशका सबै पालिकाको माटो परीक्षण गर्दै कहाँ के उत्पादन गर्न सकिन्छ भन्ने तथ्यांक संकलन गर्ने बताए ।

गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले सीमित स्रोत र साधनबाट उच्चतम फाइदा लिन कृषिको व्यवसायीकरण गर्नुपर्ने बताए। सरकारले कृषकबाट उत्पादित वस्तुको बजार ग्यारेन्टी गर्नुका साथै समर्थन मूल्य पनि तोक्नुपर्नेमा उनको जोड थियो।

प्रकाशित: ११ फाल्गुन २०७७ ०५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App