७ वैशाख २०८१ शुक्रबार
अर्थ

पाँच महिनामा १३ हजारलाई निःशुल्क सीप

सीप सिकेर वैदेशिक रोजगारीमा जान चाहनुहुन्छ? सीप सिक्न चाहना छ भने तपाईंका लागि खुसीको खबर छ। वैदेशिक रोजगारीमा जानेलाई लक्षित गरी वैदेशिक रोजगार बोर्ड र सुरक्षित आप्रवासन परियोजनाले अबको पाँच महिनामा कम्तीमा १३ हजारलाई विभिन्न ट्रेडमा निःशुल्क सीप सिकाउँदैछन्।  

वैदेशिक रोजगारीमा जाने युवायुवतीको जोखिम कम गर्ने उद्देश्यले पहिलोपटक यति ठूलो संख्यालाई निःशुल्क सीप सिकाउन थालिएको हो। बोर्डका उपसचिव दीनबन्धु सुवेदीले कोरोना महामारीका कारण रोकिएका विभिन्न ट्रेडका सीप तालिम सुरु गरिएको बताए ।

‘वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उद्देश्य अनुरूप निःशुल्क सीप सिकाउन थालिएको हो,’ उनले भने, ‘सीप सिकाएर पठाउँदा वैदेशिक रोजगारी सुरक्षित हुन्छ भन्ने अपेक्षा गरेका छौं ।’ बोर्डबाहेक सुरक्षित आप्रवासन परियोजनाले यो वर्ष एक हजारलाई निःशुल्क सीप सिकाउन सुरु गरेको छ।  

परियोजनाकी टिम लिडर सीता घिमिरेले ३० दिने तालिमको दौरानमा विदेशमा गर्ने काम मात्र नभई गन्तव्य मुलुकबारे तीन दिनसम्म जानकारी पनि दिने गरिएको बताइन्। उनले यो वर्ष एक हजार विदेश जान खोजेका युवालाई र दुई हजार ६ सय वैदेशिक रोजगारीबाट फर्किएकालाई निःशुल्क सीप सिकाउने कार्यक्रम रहेको बताइन्।  

विगतदेखि नै सीप सिकाउनु पर्ने आवाज उठ्दै आए पनि वैदेशिक रोजगारीमा जानेले त्यस्तो अवसर पाउन सकेका थिएनन्। जुनसुकै पेसा र कामका लागि सीप नभई नहुने भए पनि अहिलेसम्म सीपलाई जोड नदिँदा वैदेशिक रोजगारी असुरक्षित हुने गरेको गुनासो व्याप्त छ।  

काम गर्ने समूहका युवाले सीप नसिक्दा गुणस्तरीय काम र उत्पादकत्व वृद्धिमा समस्या परेको छ। बोर्डले अघिल्लो वर्ष तीन हजार चार सयलाई निःशुल्क सीप सिकाएको थियो। सुवेदीले अघिल्लो वर्ष पन्ध्र हजारलाई निःशुल्क सीप सिकाउने लक्ष्य राखिए पनि कोरोना महामारी लगायतका विभिन्न कारणले सम्भव नभएको बताए। हाल स्वदेशमा मात्र नभई वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांश युवायुवतीसँग कुनै पनि सीप हुने गरेको छैन।  

बोर्डका अनुसार बर्सेनि वैदेशिक रोजगारीमा जाने करिब पाँच लाख युवामध्ये २५ प्रतिशत मात्र दक्ष/अर्धदक्ष हुने गरेका छन्। करिब ७५ प्रतिशत युवा कुनै पनि सीपबिना वैदेशिक रोजगारीमा जाँदा एकातिर गन्तव्य मुलुकमा जाने संख्याको तुलनामा रेमिटेन्स भित्रिन सकेको छैन भने अर्कोतर्फ सीपबिना वैदेशिक रोजगारीमा गएका युवा जोखिममा पर्ने गरेका छन्।  

सीप नसिकेकै कारण वैदेशिक रोजगारीमा जाने युवाको संख्याको तुलनामा भित्रिने रेमिटेन्स न्यून रहेको विज्ञ बताउँछन्। आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक रोजगारीमा गएका युवाले आठ खर्ब ७५ अर्ब रूपैयाँ रेमिटेन्स पठाएका थिए। वैदेशिक रोजगारीको मृत्युको कारणमा कतिपयले प्राविधिक सीप र शिक्षाको कमीलाई पनि बताउँछन्। वैदेशिक रोजगारीमा गएका कतिपय युवाले एसी, हिटर जस्ता उपकरण चलाउन नजान्दा अनाहकमा ज्यान जाने गरेको पाइन्छ। त्यस्तै कतिपयसँग सडक पार गर्दा ध्यान दिनुपर्ने ज्ञान समेत नभएको बताइन्छ।  

आर्थिक वर्ष २०७५/७६ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका युवामध्ये सात सय ५३ को निधन भएको थियो। विज्ञहरू सीप सिकेर वैदेशिक रोजगारीमा जाँदा युवायुवतीले अहिलेको भन्दा बढी पारिश्रमिक पाउने र जसले गर्दा मुलुक र स्वयं व्यक्तिको आर्थिक जीवन स्तरमा सुधार हुने बताउँछन्।  

बोर्डका पूर्व कार्यकारी निर्देशक रघुराज काफ्ले वैदेशिक रोजगारीमा जानेलाई सीप सिकाउन आवश्यक भए पनि सीप सिकाएपछि के गर्ने भन्ने कुरा झनै महत्वपूर्ण भएको बताउँछन्। ‘यतिखेर १०–१२ हजारलाई मात्र नभई धेरैलाई सीपको जरूरी छ,’ उनले भने, ‘कुनै पनि पेसा र व्यवसाय सुरु गर्नका लागि सहुलियत कर्जा र अन्य लगानीको आवश्यक पर्छ ।’  

सीप नसिकेर वैदेशिक रोजगारीमा जाँदा जोखिममा पर्ने मात्र नभई पारिश्रमिक पनि थोरै पाउने गरेको अनुभव छ। सीप नसकी साउदी अरेबिया र कतारमा रोजगारीका लागि गएका गुल्मी, मालिका गाउँपालिका–३ का रेशमबहादुर थापाले पहिलाको जस्तो समस्या नआओस् भनेर यतिखेर सीप सिकिरहेको बताए। दुई सातायता उनले माछापोखरीस्थित निखिल मल्टिसर्भिसेजमा सटरिङको सीप सिकिरहेका छन्। 

प्रकाशित: ११ फाल्गुन २०७७ ०५:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App