सिजन पर्यटनको हो । पर्यटन व्यवसाय भने सुनसान छ । पर्यटकीय घान्द्रुक गाँउ पर्यटकविहीन छ । पर्यटक आगमनमा रोक लगाइएको छ । होटलहरु सबै मंसिरको पहिलो सातासम्म बन्द छन् । होटल सबै बन्द भएपछि स्थानीयबासीहरु भने व्यवसायिक खेतीको रुपमा लगाइएको अलैंची खेती स्याहार तथा अलैंची टिप्न व्यस्त छन् ।
घान्द्रुकमा अलैंची खेती शुरु गरिएको लामो समय भने भएको छैन । २०७३ सालदेखि खेती शुरु गरिएको थियो । लगाइएको तीन वर्षपछि बल्ल उत्पादन लिन शुरु गरिएको छ । तर खासै उत्पादन भने भएन् । यो वर्ष उत्पादन ८ सय केजी हुने अनुमान गरिएको छ । गत वर्ष र यो वर्षको उत्पादित अलैंची झण्डै ११ सय केजी(सुकेको) बिक्रीको लागि तयार हुने अन्नपूर्ण अलैंची ब्लग समितिका अध्यक्ष विशाल गुरुङले सुनाए । ‘लगाईएको दुई वर्षपछि उत्पादन लिन थालेपनि पहिलो वर्ष खासै राम्रो भएन’ उनले भने–‘यो वर्ष ८ सय केजी भन्दा बढी बिक्रीको लागि तयार हुन्छ ।’
धान, मकै, कोदो मात्रै उत्पादन गर्दै आएका स्थानीय किसानले नगदेबालीको रुपमा अलैंची खेती तर्फ आर्कषित हुदैं गएको उनको भनाई थियो । ‘सेपिलो र सिँचाइयुक्त तर पानी बग्ने ठाँउमा अलैंची खेती हुने गर्छ । घान्द्रुकमा झण्डै १ सय रोपनी क्षेत्रफलमा लगाइएको छ । ‘अलैंचीलाई राम्ररी रेखदेख गर्न सकिए लामो समयसम्म आम्दानी लिन सकिन्छ ।’ समितिका सदस्यको रुपमा रहेका छोमरोङका विशाल गुरुङले सुनाए–‘२० देखि ३० वर्षसम्म आम्दानी हुन्छ । त्यसको लागि गोडमेल र मलजल गर्नुपर्छ ।’ एउटै बोटबाट आधा केजी सुकेको अलैंची उत्पादन लिन सकिन्छ । ‘काँचो ५ केजी बराबर एक केजी सुकेको बस्छ ।’ उनले भने ।
बजारमा माग छ । युरोपको शहरमा माग हुने गरेको छ । यहीको बजार क्षेत्रसँगै छिमेकी भारतमा समेत निर्यात हुने गरेको छ । यो वर्ष खासै अलैंचीको मूल्य भने परेको छैन् । प्रतिकेजी ६ सय रुपैयाँमा बिक्री हुदैं आएको छ । ‘कतिपयले दुईहजार रुपैयाँ प्रतिकेजीसम्म बिक्री गरे । तर अहिले बजार भाउ खासै छैन्’ सदस्य गुरुङले भने–‘बजार भाउ पहिला पाईन्छ भनेर लगाईयो । तर अहिले बजार मूल्य घट्यो भनेर हरेस खानु हुदैन ।’ युरोपमा १३ देखि १८ डलरमा प्रतिकेजीमा बिक्री हुने गरेको छ । उत्पादन लिन बढीमा तीन वर्ष कुर्नुपर्छ । तीन वर्षपछि लगातार एउटैबोटबाट लामो समयसम्म उत्पादन लिन सकिने विश्वास स्थानीयबासीको छ ।
अलैंची विशेष गरी ८ सय मिटरदेखिको उचाईमा हुन्छ । घान्द्रुक विशेष गरी १६ देखि १८ सय मिटरको उचाईमा लगाइएको छ । ‘यो वर्ष खेतीलाई अझै विस्तार गर्दै लैजाने योजना छ ।’ समितिका अध्यक्ष गुरुङले भने–‘अर्को वर्ष थप एक सय रोपनीमा विस्तार गर्ने योजना छ ।’ भारलाङ, गोल्साई तथा रामसाई प्रजातिका अलैंची खेती हुने गरेको छ । घान्द्रुकमा रामसाई नामक अलैंची खेती गरिएको समितिले जनाएको छ । समितिले उत्पादन लिने समयमा छाडा चौपायाकै कारण खासै लाभ लिन नसकिएको उल्लेख गर्दै ६ लाख रुपैयाँको लागतमा तारबार लगाई संरक्षण गरिएपछि उत्पादन लिन सहज भएको छ ।
समितिले उत्पादित अलैंचीको बजारीकरणमा समेत ध्यान दिएको छ । ‘स्वदेशमै रोजगारीको अवसर सृजना हुने भएकोले स्थानीयबासी अलैंचीप्रति उत्सुकता जागेको छ ।’ सदस्य अमृत गुरुङले भने–‘परिवारसँगै बसेर काम गर्न सकिन्छ । अलैंची खेतीले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने विश्वास छ ।’ विशेष गरी पोखराकै बजारसँगै पूर्वको झापासम्म निर्यात हुने गरेको छ । समितिमा ५० जना आवद्ध छन् । समितिले प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजनासँग साझेदारी गर्दै अलैंची खेतीलाई व्यवसायिक उत्पादनमा जोड दिएको छ । घान्द्रुक बाहेक कास्कीकै भदौरे, सल्यान लगायतका ठाँउमा २ हजार रोपनी विस्तार गर्ने योजना रहेको छ । ४ लाख बेर्ना लगाईने छ ।
प्रकाशित: २१ कार्तिक २०७७ १३:४२ शुक्रबार