२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल केही महिनाका लागि बन्द

लाङटाङ पदमार्गमा पर्ने होटल। तस्बिर: हिमनाथ/नागरिक

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि पर्यटकीयस्थल लाङटाङ  क्षेत्रका होटल केही महिनाका लागि बन्द भएका छन्।  

लाङटाङ क्षेत्रमा दैनिक ६० जनासम्म स्वदेशी पर्यटक गइरहेका र गोसाइँकुण्ड गाउँपालिका–६ मा कोरोना संक्रमित थपिएपछि त्यहाँका होटल व्यवसायी समितिको आग्रहमा होटल, लज तथा चियापसल बन्द भएका हुन्।  

गोसाइँकुण्ड गाउँपालिका–४ को वडा कार्यालयका अनुसार पदमार्गको रिम्छे, लामा होटल, रिभर साइड, घोडा तबेला, गुम्बा डाँडा, लाङटाङ, मुण्डुप, क्यान्जिन लगायतका क्षेत्रमा रहेका होटल, लज तथा चिया पसल केही महिना सञ्चालनमा आउने छैनन्।  

पर्यटकको आगमन बढ्दै जाँदा कोरोना संक्रमणको जोखिम पनि बढ्ने भएकाले उक्त निर्णय गरिएको कार्यालयले जनाएको छ। निर्णय सँगै लाङटाङ पदमार्गमा सञ्चालनमा रहेका होटल मंगलबारदेखि नै बन्द भएका छन्।  

पछिल्लो केही साता यता लाङटाङ जाने नेपाली पर्यटकको संख्या बढ्दै गएको क्यान्जिका होटल व्यवसायी ग्याल्बु लामाले बताए।  जिल्लामा आएका पर्यटकमध्ये ९० प्रतिशत पर्यटक लाङटाङ जाने गरेका छन्। लाङटाङ पुग्ने पर्यटकमध्ये सीमित पर्यटकले गन्जला पास गर्ने गरेका छन्। केही पर्यटक भने धार्मिकस्थल गोसाइँकुण्ड हुँदै सुन्दरीजल समेत जान्छन्।  

नेपालको तेस्रो गन्तव्य स्थलको रूपमा परिचित लाङटाङमा लाङटाङ हिमाल, पुरानो गुम्बा, क्यान्जेन उपत्यका र नेपालको पहिलो चिज कम्पनी लगायतका पर्यटकीय क्षेत्र छन्। याला पिक, क्यान्जिन रि, च्यारकुरी पिक त्यहाँका थप टे«किङ स्थल हुन्। ती क्षेत्रमा वर्षेनी हजारौं पर्यटक पुग्ने गरेका छन्।  

गाइड र पोर्टरबिना समेत जान सकिने भएकाले यस क्षेत्रमा पर्यटकको आगमन बढेको थियो। कोभिड–१९ का कारण लामो समयसम्म पर्यटकको आगमन शुन्य भएको लाङटाङमा  एक महिना अघिदेखि पर्यटक आउन थालेका थिए।  

गएको पुस अघिसम्म पर्यटकीय क्षेत्र लाङटाङमा इजरायल, फ्रान्स, क्यानडा, जापान, इटली, अमेरिका, थाइल्याण्ड, बेलायत, कोरिया, रसिया, स्पेन, उरुग्वे, सिंगापुर लगायतका देशका पर्यटक जाने गरेका थिए।  

लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका पर्यटकमध्ये करिव ९० प्रतिशत पर्यटक लाङटाङ पुग्छन्। लाङटाङबासी तिब्बतियन भाषा बोल्ने गर्दछन्। लाङटाङमा तिब्बतियन, नेपाली र अंग्रेजी भाषा बढी बोलिन्छ। 

प्रकाशित: १८ कार्तिक २०७७ ०३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App