६ वैशाख २०८१ बिहीबार
अर्थ

जथाभावी खनिएका मोटरबाटोले पानीका मुहान संकटमा

वर्षौ पुराना मुहान सुक्ने अवस्थामा

पोखरा महानगरपालिका–२६ को ठुलोपँधेरोमा स्थानीय गृहिणीको भीडभाड । तस्बिर सौजन्यः राजन सुवेदी

खास्टेतालको सिरान क्षेत्रमा दुई ठूला पँधेरा छन्। स्थानीयबासीले ती पँधेरालाई नरेशपुर ठूलोपँधेरो र ठूलोपँधेरो नाम दिएका छन्। पोखरा महानगरपालिका–२६ मा पर्ने यी दुई पँधेरामा कुनैबेला गाउँका झन्डै सय घरका बासिन्दा खानेपानीका लागि निर्भर थिए।  

अरु कुनै श्रोत नहुँदा त्यहाँको ढुंगानाथर, पँधेरोमाथिका बासिन्दा तिनै पँधेराको पानीमा निर्भर थिए। हिउँदताका पानी कम हुँदा मध्यरातमै गाउँले टुकी बालेरै कुवामा पानी भर्न पुगिसक्थे। गाउँलेले प्रयोग गरेर बचेको पानी बगेर खास्टेतालमा आइपुग्थ्यो। सिंगो बस्तीलाई दुईवटा पँधेराले वर्षाैदेखि बाह््रैमास पानी खुवाएका थिए।  

पछिल्लो समय त्यहाँ मोटरबाटो बिस्तार गरियो। पँधेरालाई बीचमा पारेर तल र माथिबाट मोटरबाटो खनिए।  

पँधेराको माथिल्लो क्षेत्र हुँदै गएको बाटो कालिका बस्तीमा पुग्छ भने तल्लो बाटोले लेखनाथ क्षेत्रका सातवटा ताललाई जोड्छ। पछिल्लो दशकमा ती सडक खन्न थालिएका थिए। कच्ची भएकोले सडकमा हिउँदमा मात्र मोटर गुड्छ।  

मोटरबाटोले घेरेसँगै दुइवटै पँँधेरामा अहिले पानी कम आउन थालेको छ। नरेशपुर ठूलोपँधेरोमा त झनै कम पानी आउँछ। वन विज्ञान अध्ययन संस्थान अन्तर्गत पोखरास्थित वन क्याम्पसले पछिल्लो समय पोखरा उपत्यकाभित्रका तालको जलाधार क्षेत्रको पानीको मुलबारे अध्ययन गरेको थियो। वन क्याम्पसका प्राध्यापक तथा अध्ययन टोलीका संयोजक राजन सुवेदीका अनुसार जलाधार क्षेत्रको मुलको अवस्था पत्ता लगाउन यो अध्ययन गरिएको थियो।  

यूएसएआईडीसहित डब्लुडब्लुएफ हरियो वन प्रोग्रामको सहयोगमा क्याम्पसले अध्ययन गरेको थियो। अध्ययनको उद्देश्य थियो–पोखराका नौवटै तालको जलाधार क्षेत्रका मुलको अवस्था पत्ता लगाउनु।  

दुईवर्ष अघि थालिएको यो अध्ययन केही महिना अघि सकिएको छ। जलाधार क्षेत्रका मुलको अध्ययन गर्ने क्रममा टोली खास्टेतालको ठुलापँधेरामा पनि पुग्यो। अध्ययन टोलीले भौगोलिक विधिसहित विभिन्न कोणबाट अध्ययन गर्दा ठूलापँधेराबारे निकालेको निष्कर्ष भने निकै नै फरक थियो। त्यो हो–मोटरबाटोको कारण खास्टेका जलाधार क्षेत्रका दुवै पँँधेरो जोखिममा छन्। संरक्षण नगर्ने हो भने अबका केहीवर्षमा ती दुवै पँधेरा सुख्खा हुनेछन। सिरान क्षेत्रमा खनिएको मोटरबाटोले पँधेरोलाई सुख्खा बनाउने निश्चित छ।  

वन क्याम्पसको जलाधार व्यवस्थापन विभाग अन्तर्गतका वातावरण विज्ञानका प्राध्यापक सुवेदीका अनुसार ठूलोपँधेरोको अध्ययन गर्दा मोटरबाटोले जोखिममा ल्याएको पुष्टि भएको थियो। ‘हामीले बाहिरबाट हेरेर मुल पहिल्याएका हुन्छौ। तर, त्यो मुलको पनि श्रोत हुन्छ।

जसलाई हामीले ‘रिचार्ज एरिया’ भन्छौ,’ सुवेदीले भने, ‘रिचार्ज एरियाको पानी बगेर कता निस्केको छ भनेर खोजी हुन्छ।’ उनका अनुसार दुइवटै ठूलापँधेरोको सिरान क्षेत्रमा जमिनले सोसेको पानी पँधेरोमा निस्कन रोकिनुमा मुख्य कारण मोटरबाटोको बिच्छेद हो। ‘पँधेराको सिरान क्षेत्रले सोसेको पानी मोटरबाटोले बिच्छेद गराएर पँधेरोमा आउन रोकेको छ,’ उनले भने, ‘सिरानमा मोटरबाटो खनिदिँदा पँँधेरोको श्रोतलाई असर पारेको छ।  

अबको केहीवर्ष पछि ती पँधेरा सुक्ने सम्भावना छ। नरेशपुर पँधेरो झनै जोखिममा छ।’ सिरान क्षेत्रमा जमिनले सोसेको पानीलाई मोटरबाटोले बिच्छेद गरिदिएको र त्यो पानी अन्यत्रै डाईभर्ट भएको सुवेदीले बताए।  

उनका अनुसार माथिल्लो क्षेत्रको जमिनमा गरिएका गतिविधिले तल्लो भेगमा पानीका श्रोतलाई असर पर्छ। त्यसको प्रमाण खास्टेतालको जलाधार क्षेत्रको दुई ठुलापँधेरोमा देख्न सकिन्छ। क्याम्पसले यो अध्ययन पानीको चरम अभाव हुने हिउँको समय (बैशाख–जेठतिर) मा गरेको थियो। उनका अनुसार मुलको पनि आधार क्षेत्रलाई संरक्षण गरिदिनुपर्छ। तर, खास्टेमाथिको यो बस्तीमा पँधेरामाथि संरक्षण गर्नुको साटो मोटरबाटो खनिएको उनले बताए। ‘तलको मुल संरक्षण गर्ने हो भने सिरान क्षेत्रमा संरक्षण गर्नुपर्छ, नत्र तल असर गर्छ,’ उनले भने।

उनका अनुसार पानीको मुल संरक्षण गर्न सिरान क्षेत्रमा सुधार गर्नुपर्छ। मुलको आधार क्षेत्रमा आकाशे पानी रोकिने उपाय अवलम्बन गर्नुपर्छ। त्यसका लागि पानी कम सोस्ने विरुवा रोप्नुपर्छ। सकेसम्म पानी बग्नेगरि जमिन भिरालो बनाउनु हुँदैन। बरु खेतका गरा वा कुलो बनाएर पनि पानी बग्न रोक्न सकिने उनले बताए।

आकाशे पानी सकेसम्म बग्न नदिई जमिनले नै सोस्ने गरि सिरान क्षेत्रमा पोखरी बनाउन सकिने पनि उनले बताए। तर, खास्टेका यी पँधेराको मुललाई नै असर पार्नेगरि मोटरबाटो खनिएको उनले बताए।

‘हामीले खास्टेमा यो समस्या बढी देखेका हौ। तर, जथाभावि खनिएका मोटरबाटोले अहिले पानीको श्रोतमा असर पारेको छ,’ सुवेदीले भने, ‘गाउँगाउँमा डोजर लगाएर बाटो खनिएको छ। त्यसको मार पानीको श्रोतलाई परेको छ। मोटरबाटोले पानीको श्रोतलाई नै बिखण्डन गरिदिन्छ।’ धेरैठाउँमा अहिले मोटरबाटोका कारण पानीको मुल सुक्न थालेको उनले बताए।

‘बाहिर सतही रुपबाट यो थाहा हुँदैन। पानी कहाँबाट पसेर कताबाट निस्केको छ भन्ने खोजी हुनुपर्छ,’ उनले भने, ‘पानीको मुल डाइभर्ट हुँदा त्यसले इकोसिस्टममा असर पर्छ। त्यत्तिमात्र नभई वन जंगल, मानवबस्ती, चराचुरुङगि सहित स–साना किरालाई पनि असर पारेको हुन्छ।’

स्थानीयबासिन पनि पँधेरोको तल र माथिबाट मोटरबाटो लैजाँदा असन्तुष्ट थिए। तर उनीहरुको असन्तुष्टिलाई कसैले सुनुवाई गरिदिएनन्। स्थानीय विकास सुनार भन्छन, ‘हामीले मोटरबाटो खन्दा नै पँधेरालाई असर नपर्नेगरि खनिदिन बारम्बार आग्रह गरेका हौ। तर, हाम्रो गुनासो कसैले सुनिदिएन।’  

लेखनाथ साना सहरी खानेपानी आयोजनाबाट पानी वितरण गर्ने भन्दै प्राकृतिक पँधेरालाई जोगाउन चाँसो नदिएको उनले बताए। ‘पाइपबाटै घरघरमा पानी आएपछि कुवा किन चाहियो भनेर जथाभावि डोजर चलाइयो,’ सुनारले भने, ‘हामी स्थानीयले वर्षाैदेखि पानी खाइरहेको पँधेरो अबका केहीवर्षमा सुक्ने अवस्थामा पुग्नेछन्।’

मोटरबाटो खन्दा पँधेरालाई त मार पारियो नै जथाभावि खोल्सीमा माटो फ्याक्दा बगेर खास्टेतालमा पुगेको उनले बताए। ‘मोटरबाटोले गर्दा पानीको मुल सुक्ने अवस्था छ। माटो तालमा फ्याकेर पुरिन सघाइएको छ,’ सुनारले भने, ‘पँधेराको बारेमा आवाज उठाउँदा हल्का रुपमा लिइयो। पाइपमा पानी आएपछि कुवामा पानी चाहिँदैन भनेर जोगाउन दिइएन।’ सुनारका अुसार वर्षायाम र यो पटक बढी पानी परेकोले अहिले दुवै पँधेरा भरिएका छन्। तर हिउँदमा पानी कम हुन थालेको छ। त्यहाँका बासिन्दा अहिले पानी धारोमा पानी नआए लिन जाने ठाउँ नै पँधेरा भएकोले संरक्षण जरुरी रहेको उनको भनाई छ। ‘म आफै पनि त्यँहीको पानी खाएर हुर्केको हुँ। तर, यस्तै हेलचेक्रयाँइ गरियो भनेपछि समस्या आउन सक्छ। वडा कार्यालयमा पनि यसबारेमा हामीले भनिरहेका छौ,’ सुनारले भने।

नवराज ढुंगाना अहिले ६५ वर्षका भए। ढुंगानाको बसाई पछिल्लो चारवर्षदेखि लेखनाथको फाँटमा छ। फाँटमा झर्नुअघि जन्मेदेखि उनले त्यही ठुलापँधेराको पानी खाएका थिए। ‘हामीले वर्षाैदेखि पानी खाएको कुवा हुन्। अहिले जोखिममा छन्। अहिले पनि पाइपमा पानी नआए लिन जाने भनेकै तिनै कुवामा हो,’ उनले भने, ‘अहिले बस्ती पातलो हुँदा पानीको समस्या उत्तिसारो नभएपनि ती गाउँमा अरु श्रोतबाट रोकिँदा पानी लिन जाने ठाउँ नै पँधेरा हुन्।  

तर, मोटरबाटोले दुवै पोखरीलाई जोखिममा पारेको छ।’ त्यो गाउँमा साना सहरी सहित कुँडुले आयोजनाको पानी पनि पुगेको छ। तर, धारोमा नआउँदा गाउँलेहरु अझै पनि गाग्रो बोकेर तिनै पँधेरोमा पानी लिन जाने गरेको ढुंगानाले बताए। ‘धेरै घरपरिवारको पानीको श्रोत भएकोले नै ठुला पँधेरा नाम राखिएको हो,’ उनले भने।

पोखरा–२६ का वडाध्यक्ष नारायण बरालले खानेपानीको श्रोत अहिले कुवा नभएकोले पनि समस्या नपर्ने बताए। पहिला त्यहाँको बस्तीको पानीको मुल श्रोत तिनै पँधेरा भएपनि अहिले भने पाइपबाटै घरघरमा पुग्न थालेकोले प्रयोगमा नरहेको बताए। ‘पँधेरा नै पुर्ने गरि त मोटरबाटो बनेको होइन। तर, आन्तरिक रुपमा मोटरबाटोले असर पार्न सक्छ,’ उनले भने, ‘त्यसबारे हामीलाई पनि जानकारी थिएन।’ उनले मोटरबाटो वर्षाै अघि बनेको पनि बताए। संरक्षणमा समुदाय पनि सचेत हुनुपर्ने उनको भनाइ छ।

गण्डकी प्रदेशको वन मन्त्रालयका सचिव डा. महेश्वर ढकाल स्थानीय सरकार त्यस्ता मुल संरक्षण गर्न सक्रिय हुनुपर्ने बताउँछन्। स्थानीय सरकार संचालन ऐनले पनि पुराना कुवा, मुल, पोखरीको श्रोत संरक्षण गर्ने अधिकार दिएकोले स्थानीय सरकारले नै दायित्वबोझ गर्नुपर्ने ढकालले बताए।

स्थानीय सरकारले ती पुर्वाधार संरक्षण नगर्ने हो भने सखाप हुने उनले बताए। ढकालले डाँडाकाँडामा मोटरबाटो लैजाँदा त्यसको असर पुराना धारा, कुवा, पोखरीको मुलमा परेको बताए। ‘हामीले मोटरबाटोले पहिरो मात्र निम्त्याएको कुरा गर्छाै। तर, सिंगो बस्तीले प्रयोग गर्ने पोखरी, कुवा, पँधेरा पनि जोखिममा छन,’ उनले भने, ‘ती संरचना संरक्षणमा समुदाय र स्थानीय सरकार अग्रसर हुनुपर्छ।’

जलाधार क्षेत्रमा ७६५ मुल

तालको जलाधार क्षेत्रको अध्ययन अनुसार पोखराका नौ तालमा ७६५ वटा मुल छन्। ती मध्ये सबैभन्दा बढी फेवा जलाधारमा ४०३ वटा छन्। रुपामा १५७, बेगनासमा १३५, मैदीमा १९, दिपाङमा १६, खास्टेमा१२, न्यूरेनीमा २, गँुदेमा ५ र कमलपोखरीमा १२ वटा मुलबाट पानी आउँछ। तालको जलाधार क्षेत्रको मुलमा गरिएका यो नै पहिलो अध्ययन भएकोले मुल बढेका वा घटेको भनेर भन्न नसकिने सुवेदीले बताए। ती मध्ये ६४ प्रतिशत मुल सार्वजनिक र ३६ प्रतिशत निजी जग्गामा छन्।  

‘घरघरमा अन्य श्रोतबाट पानी आएपछि मुल संरक्षण हुन छाडेका छन,’ सुवेदीले भने, ‘यसमा स्थानीय तह बढी जिम्मेवार हुनुपर्छ। मुल संरक्षण गर्ने काम स्थानीय सरकारको हो। नागरिकलाई पानी वितरणको जिम्मा स्थानीय तहको हुनुपर्छ। तर,अहिले भद्रगोल छ।’

प्रकाशित: २० आश्विन २०७७ ०३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App