२५ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

राष्ट्रिय प्रसारणमा नार्माजुनको १२ मेगावाट

नार्माजुन मादी जलविद्युत् आयोजनाबाट उत्पादित १२ मेगावाटको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान भएको छ। गत शनिबार आयोजनाको विद्यृत्गृहबाट उत्पादन भएको बिजुली माथिल्लो मार्दी जलविद्युत् आयोजनाको स्विचयार्डमा जोडेर लेखनाथ सबस्टेसनमा जडान गरिएको थियो। आयोजनाले सोमबारदेखि नियमित परीक्षण प्रसारण थालेका हो। यो परीक्षण प्रसारण करिब १५ दिन जारी रहनेछ।

गत चैत १० गते अगावै आयोजनाको हाइड्रोमेकानिकल, सिभिल इन्जियिरिङ तथा विद्युत्गृहको शतप्रतिशत काम सम्पन्न भए पनि उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने बेला कोभिड १९ नियन्त्रणको लागि गरिएको लकडाउनले ६ महिना ढिलो भएको हो।

आयोजनाले चिनियाँ र भारतीय प्राविधिकको सहयताले विद्युत् जडान गर्न सफल भएको हो। प्रवद्र्धक हिमालयन हाइड्रोपावर कम्पनीका निर्देशक शिवकृष्ण श्रेष्ठले एक साता छिटो लकडाउन हुँदा आयोजनाबाट उत्पादन भएको बिजुली राष्ट्रिय ग्रिडमा जडान गरेर परीक्षण प्रसारण गर्न नपाउँदा करिब १५ करोड रुपैयाँ नोक्सानी बेहोर्नुपरेको बताए।  

कोरोना महामारीले ६ महिना ढिलो जडान हुँदा १५ करोड नोक्सान भएको प्रवर्द्धक कम्पनीको दाबी

‘सरकारले एक साता ढिलो मात्रै लकडाउन घोषणा गरेको भए आयोजनाले उत्पादन गरेको बिजुली राष्ट्रिय ग्रिडमा जोडेर परीक्षण प्रसारण गर्न पाउन्थ्यौं,’ उनले भने, ‘समयमै जडान गर्न नपाउँदा एकातर्फ आयोजनाबाट उत्पादन भएको बिजुली खेर गयो, अर्काेतर्फ बैंकको ब्याज थपियो।’ निर्देशक श्रेष्ठले आयोजनाले वार्षिक २९ करोड रुपैयाँ आम्दानी गर्नेमा ६ महिना राोकिँदा करिब १५ करोड रुपैयाँ नोक्सान भएको बताए।

‘कोभिड १९ को कारण चीन फर्किएका प्राविधिक आउन नसकेपछि नेपालमै उपलब्ध चिनियाँ र भारतीय प्राविधिकको सहायतामा जडान गर्न सफल भयौं,’ उनले भने, ‘ढिलै भए पनि आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय ग्रिडमा जडान गर्न सफल भएका छौं। यसले उत्साह बढाएको छ।’ निर्देशक श्रेष्ठले करिब १५ दिन परीक्षण प्रसारण गरेर प्राधिकरणलाई बिजुली बेच्न थाल्ने बताए।

‘धेरै नोक्सानी बेहोर्नुपरेकाले १५ दिन मात्रै परीक्षण प्रसारण गर्न प्राधिकरणसँग माग गरेका छौं,’ उनले भने, ‘अब प्राधिकरणको टोलीले आवश्यक सम्पूर्ण प्रक्रिया गरेपछि विद्युत् बिक्री गर्ने बाटो खुल्नेछ।’ हिमालयन हाइड्रोपावर कम्पनीले यो आयोजना निर्माण सम्पन्न गर्न करिब दुई अर्ब ५१ करोड रुपैयाँ लागत पुग्ने अनुमान गरेको छ।  विद्युत् उत्पादन हुँदासम्म आयोजनाको लागत प्रतिमेगावाट झण्डै २१ करोड रुपैयाँ पुग्ने देखिएको छ। २०७३ सालमा यो आयोजना निर्माण सुरु गरिएको थियो।  

नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा एक सय ४९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान भएको जनाएको छ। निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धक कम्पनीबाट एक सय ३५ मेगावाट र प्राधिकरण मातहतका आयोजनाबाट १४ मेगावाट बिजुली राष्ट्रिय जडान भएको थियो। प्राधिकरणले गत आवमा एक हजार मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखे पनि कोभिड १९ र ठेकेदार कम्पनीको ढिलासुस्तीले लक्ष्य अनुसार भएन। हालसम्म राष्ट्रिय प्रसारण लाइनमा प्राधिकरण र निजी क्षेत्रबाट करिब १३ सय मेगावाट बिजुली जडान भएको छ। प्राधिकरणले चालु आर्थिक वर्षमा करिब १३ सय मेगावाट बिजुली थप हुने जनाएको छ।

प्रकाशित: २४ भाद्र २०७७ ०३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App