८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

बिजुली बल्यो, सिचाइँ चल्यो

जुम्ला तिला गाउँपालिका ८ का धनबहादुर नेपाली एक बर्ष अघि सम्म सिचाइँ नहुदा निकै आजित थिए । उनको खेतिपाती आकाशे पानीको भरमा चल्थ्यो । सिचाइँका लागि खोला थियो तर खोला देखि पानी लिन सकिएको थिएन् । धानखेति गर्ने ठाउँमा मकै सिमि लगाइन्थ्यो । बगैँचामा रहेका स्याउ सुक्दै थियो । खोलादेखि बोकेर लिएको पानीले नपुग्दा किसानलाई विरुवा हुर्काउन निकै सकस थियो । तर पछिल्लो समयमा पक्की सिचाइँ कुलो निर्माण भएपछि यहाँका किसानलाई सिचाइँ गर्न कुनै कठिनाई छैन् ।  गाउँमा बालिराखेको बिजुली पनि पक्की कुलो नहुँदा नियमित बलेको थिएन् । हप्तै पिच्छे मर्मत गरि राख्नु परिरहेको हुन्थ्यो ।

पछिल्लो समयमा न खेतवारीमा सिचाइँ गर्न कठिन छ । नत किसानलाई सिचाइँ गर्ने चटारो नै । अहिले निर्धक्क पुर्वक सिचाइँको प्रबन्ध हुदा स्थानीय किसान खुसि छन् । त्यो सिचाइँ कुलोले बिजुली समेत बलेको छ । प्रत्येक हप्तामा मर्मत गर्नु पर्ने विद्युत कुलो धेरै लामो समय देखि बनाउनु परेको छैन् । एउटै कुलोले सिचाइँ र विजुली बलेकोले स्थानीय उत्साहित छन् । धनबहादुर भन्छन्,‘पहिले कच्ची कुलो थियो । दैनिक दिन भत्कन्थ्यो । विजुली बाल्न निकै गाह्रो थियो । खेतबारीमा सिचाइँ गर्न पालो पर्खनु परेको थियो । तर अहिले सिचाइँका लागि पानी प्रयाप्त छ । अहिले सिचाइँ पनि हुन्छ । बत्ति पनि बल्छ ।’

दिउँसो सबै पानी सिचाइँमा प्रयोग हुन्छ । राति विजुली बाल्नमा । कुलोको दुवै तिर सिचाइँ हुने गरेकोले किसानका लागि निकै ठुलो राहत मिलेको छ । अहिले गाउँका एक सय १० घरधुरीका लागि सिचाइँ पुगेको छ । सिचाइँ नहुदा अधिकांस जग्गा बाझो राख्नु परेको अनुभव स्थानीय सुनाउँछन् ।सिचाइँ गर्न पानी बोक्नु पथ्र्यो । निकै सास्ती भइरहेको थियो ।सिचाइँको व्यवस्था भएपछि धानखेति थालिएको छ । आसपासमा स्याउका बगैँचा स्थापना हुन थालेका छन् ।तरकारी खेति मौलाउन थालेको छ । पहिले सुख्खा खडेरी जस्तो देखिने यहाँको जमिन अहिले हरियाली देखिन्छ ।  

त्यो सिचाइँ कुलोले सिचाइँ गर्ने ३० देखि ३५ बगैँचा छन् । सिचाइँ समस्या भएपछि पेस नेपालको क्याप्स कर्णाली परियोजनामा माग गरिएको थियो । स्थानीयको आवश्यकता र माग अनुसार सिचाइँ कुलो बनाउने मागको संवोधन भयो । अहिले भरपर्दो र पक्की सिचाइँ कुलो निर्माण भएको छ । सरिया सिमेण्ट र आरसिसियुक्त छ । न पानी चुहिने डर न कुलो भत्केर सिचाइँ रोकिने डर । धनबहादुर भन्छन्,‘निरन्तर सिचाइँ हुनाले किसानलाई बाली लगाउन दोधार हुनुपर्दैन् ।  

अनुकुलन कोष बन तथा वातावरण मन्त्रालय र विश्वखाद्य कार्यक्रमको आर्थिक सहयोगमा पेस नेपालद्धारा सञ्चालित क्याप्स कर्णाली परियोजना अन्र्तगत निर्माण भएको यो पक्की सिचाइँ कुलोले किसानमा खुसियाली ल्याएको छ । यो क्षेत्र सदरमुकाम खलंगा देखि ३० किलोमिटर टाढा पर्छ । ३९ लाख ५० हजार २२४ रुपैयाँ ४० पैसाको लागतमा पक्की कुलो निर्माण भएको हो ।

पेस नेपालका अध्यक्ष किशोर न्यौपाने स्थानीय तह संगको समन्वयमा सिचाइँ कुलो निर्माण भएको बताउँछन् । उनले भने,‘अहिले यो सिचाइँ कुलो किसानको लागि खुसि बनेको छ । ’ सिचाइँ कुलोको अनुगमन स्थानीय तहको अनुमगन समिति, वडा स्तरीय अनुगमन समिति र सर्वपक्षिय टोलीले समेत अनुगमन गरिसकेको छ । यो सिचाइँ कुलाले बाझो जग्गा उपयोगमा आएको स्थानीय बताउँछन् ।

त्यो कुलोबाट ११ किलोवाट विजुली वलेको छ । सिचाइँले बालीनाली हराभरा छ । बिजुली बल्दा गाउँ नै उज्यालो देखिन्छ । विद्युतीय उपकरण प्रयोग गर्न सहज बनेको छ ।

प्रकाशित: ९ श्रावण २०७७ १०:२४ शुक्रबार

बिजुली बल्यो सिचाइँ चल्यो