५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

सुदूरपश्चिममा रोपाइँ समयमै सकिँने

सुदूरपश्चिम प्रदेशमा गत असार महिनासम्म ९१ दशमलब ५९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । यस वर्ष रोपाइँ गर्न पुग्ने गरी वर्षा भएपछि रोपाइँ पनि समयमै सकिन लागेको क्षेत्रीय कृषि विकास निर्देशनालयले दीपायलले जनाएको छ । 'पाखो जग्गामा बाहेक सवै जग्गामा धान रोपाइँ सकिएको छ,  निर्देशक यज्ञराज जोशीले भने, समयमै बर्षा हुँदा रोपाइँ गर्न पनि किसानलाई सहज भएको छ ।'

प्रदेशमा गतजेठदेखि असार महिनासम्म अन्य प्रदेशको तुलनामा कम बर्षा भएको छ । निर्देशनालयका अनुसार गत असार २८ गतेसम्म प्रदेशको तराईको जिल्ला कैलालीमा रोपाइँ गरिने जग्गामध्ये ९३ दशमलव पाँच र कञ्चनपुरमा ९६ दशमलब पाँच प्रतिशत जग्गामा रोपाइँ सम्पन्न भएको छ । यसैगरी पहाडी जिल्ला डोटीमा ८२, अछाममा ८५, बाजुरामा ८०, बझाङमा ८५, बैतडीमा ९०, दार्चुलामा ८८ र डडेलधुरामा ९० प्रतिशत क्षेत्रफल जग्गामा धान रोपाइँ सम्पन्न भएको छ ।

प्रदेशममा एक लाख ८१ हजार ६०४ हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ गर्ने गरिएको छ । सबैभन्दा बढी कैलालीमा ७१ हजार ७०० हेक्टर र कञ्चनपुरमा ४७ हजार ५०० हेक्टर जग्गामा धान रोपाइँ हुने गरेको छ । पहाडी क्षेत्रका बाँकी सात जिल्लामा ६२ हजार ४०४ हेक्टरमा रोपाइँ हुने गरेको छ । कोभिड-१९ का कारण विदेशवाट घर फर्किनेहरु बढ्दा पहाडी जिल्लामा यस वर्ष रोपाइँ गर्न जनशक्तिको अभाव नभएको कृषि मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले जानकारी दिए ।

पुग्नेगरी बर्षा भएको र लकडाउनका कारण परिवारका सबै सदस्यले घरमै बस्नु पर्दा रोपाइँ गर्न पनि सहज भएको धनगढी उपमहानगरपालिका-१३ का मोहनराज पाण्डेयले बताए । गत वर्ष असार महिनासम्म प्रदेशमा ६८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको थियो । प्रदेशमा अधिकांश क्षेत्रफलको जग्गामा आकासे पानीको भरमा रोपाइँ हुने गरेको छ । प्रदेशमा ७३ हजार ६१७ हेक्टर जग्गामा वर्ष भरी सिँचाइ हुने गरेकोमा ३६ हजार ४८३ हेक्टर जग्गामा आंशिक सिँचाइको सुविधा रहेको तथ्याङ्क क्षेत्रीय कृषि विकास निर्देशनालयसँग छ ।

यसैबीच रोपाइँ गरिएको खेतमा रसायनिक मल युरिया छर्ने समय भइसकेको भएपनि  मलको अभाव हुँदा समस्या भएको कृषकले बताएका छन् । सीमा नाकाबाट विगतका वर्षमा भारतबाट भित्रिने रसायनिक मल यस वर्ष भित्रिन नपाएको कारण माग पनि बढ्न गई अभाव देखिएको छ ।

प्रकाशित: ३ श्रावण २०७७ ०८:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App