७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

रसुवा भन्सार : सामग्रीको भन्सार जाँचपास प्रक्रिया अघि बढ्यो

रसुवागढी नाका । तस्बिरः हिमनाथ/नागरिक

सोमबारदेखि आयात भएर भन्सार यार्डमा राखिएको सामग्रीको भन्सार जाँचपास प्रक्रिया अघि बढेको छ । चीनको केरुङबाट सोमबार यता नियमित सामग्री आयात भइरहेको भएपनि विभिन्न समस्याका कारण भन्सार जाँचपास सुरु हुन सकेको थिएन । 

सामग्री आयात गर्ने व्यापारी तथा व्यापारीका प्रतिनिधि नाकासम्म जान नपाउँदा समस्या सिर्जना भएको थियो भने कताको कामदार गएर काम गर्ने भन्ने विवाद कायम थियो । यी समस्याको समाधान भएसँगै प्रक्रिया अघि बढेको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए । 

‘अझै केही समस्या समाधान गर्न बाँकी छ’, उनले भने, ‘शनिबारदेखि सामग्रीको प्याकिङ लिष्ट बनाउने र गाडीको डिसइन्फेक्सन गर्ने कार्य सुरु भएको छ ।’ आइतबारदेखि जाँचपास सुरु हुने छ । नाकामा दैनिक चारवटा चिनियाँ सवारीले सामग्री आयात गरिरहेका छन् । आएका सामग्री नेपाली कन्टेनरले भन्सार यार्डसम्म ल्याउने गरेका छन् ।

व्यवसायी ईश्वर गुभाजुले नाकामा व्यापारी पुग्नका लागि कठिनाइ भएको, गाडीमा सिन्डिकेट भएको र भाडामा उच्च वृद्धि भएकाले समस्या सिर्जना भएको बताए । ‘सामग्री आएको धेरै दिन भइसक्यो’, उनले भने, ‘यसलाई गन्तव्य स्थानसम्म पुर्‍याउनका लागि वातावरण सिर्जना भएको छैन ।’

अहिले चीनबाट रेडिमेड, इलेक्ट्रोनिक्स सामग्री, जुत्ताचप्पल, घरेलु उद्योगका सामग्री आइरहेको छ । चिनियाँ पक्षले मितेरी पुलसम्म सामग्री ल्याएर झार्ने र त्यहाँबाट चिनियाँ गाडी फर्किएपछि मात्र नेपाली सवारी त्यहाँ जान पाउने व्यवस्था मिलाइएको छ । 

चिनियाँ गाडीबाट आएको सामग्री चिनियाँ कामदारले झारेर फर्कने छन् । मितेरी पुलमा सामग्री लोड अनलोड गर्नका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सेट लगाएका कामदार रहने छन् । चिनियाँ पक्षले एउटा गाडीमा ल्याएको सामग्री नेपाली दुईवटा कन्टेनरमा राख्ने व्यवस्था मिलाइएको छ । नेपाली पक्षले क्वारेन्टिनमा राखिएका १५ जना चालक र १६ कामदारलाई त्यहाँ पठाएको छ ।  

नुवाकोट उद्योग वाणिज्य संघको आपत्ती
संविधानले व्यवस्था गरेको व्यवसायिक हक अधिकारलाई कुण्ठित हुने गरी कोरोना भाइरसको परिस्थिति देखाएर ७६ जिल्लाका व्यवसायी, सवारी चालक र मजदुरलाई निषेध गरेको भन्दै नुवाकोट उद्योग वाणिज्य संघको आपत्ती जनाएको छ । 

संघले रसुवा उद्योग वाणिज्य संघ, रसुवा चेम्बर अफ कमर्स र रसुवाका व्यवसायीले गरेको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्णय सच्चाएर प्रतिस्पर्धात्मक हिसावले सबै जिल्लाका कन्टेनर तथा चालक र लोडअनलोडमा संलग्न मजदुरले अवसर पाउनुपर्ने माग अघि सारेको छ । 

रसुवाको कन्टेनर व्यवसायी र चालकले मात्र अवसरमा पाएको खण्डमा यहाँबाट गएका कन्टेनर लगायत अन्य सवारी साधन नुवाकोट प्रवेशमा रोक लगाउने संघले जनाएको छ । नाका खोलेसँगै नेपाली तथा चिनियाँ पक्षले स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेका छन् । कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै गएको माघ १५ गतेदेखि नाका बन्द भएको थियो । चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ । 

त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए । 

चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।

प्रकाशित: २७ असार २०७७ ०६:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App