३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

धानसँगको साइनो पुरानो

धनगढी उपमहानगरपालिका–१३ स्थित कैलाली गाउँको खेतमा धान रोप्दै स्थानिय कृषक । यहाँका अधिकांश किसानहरु हिजोआज रोपाई गर्नमा निकै व्यस्त रहेको पाइन्छ । तस्वीरः रासस

संस्कृतिमा एउटा प्रसिद्ध उक्ति छ, ‘अन्नं ब्रह्म’। अर्थात्, अन्न नै ब्रह्म हो। हिन्दु संस्कृतिमा धानलाई मुख्य अन्न मानिन्छ। धानको बोक्रा छिलेपछि आउने चामल भोजनका रूपमा हाम्रो मुख्य खुराकमात्रै बनेको छैन, शान्ति र समृद्धिको प्रतीक पनि भएको छ। त्यसैले सुख, शान्ति, समृद्धिको प्रतीकका रूपमा चामलकै टीका निधारमा लाउने चलन पनि छ।  

संस्कृतिविद्हरूका अनुसार नेपाली समुदायमा चामलको ठूलो महत्व छ। यहाँ आयोजना गरिने सबैजसो शुभ कार्यमा मुख्य परिकार चामलकै बनाइन्छ। दैनिक भोजनका रूपमा त चामलको प्रयोग छँदैछ, त्यसअलावा विभिन्न चाडपर्व र सांस्कृतिक कार्यक्रममा सिदा, दान, टीकामा चामलकै प्रयोग हुन्छ।  

धानको बहुआयामिक महत्व भएको देश नेपाल नै रहेको संस्कृतिविद् गोविन्द टन्डन बताउँछन्। ‘यहाँ धानजन्य संस्कृति र पर्व धेरै छन्, धान हाम्रो भोक मेटाउने ईश्वर हो,’ उनी भन्छन्, ‘शुभकार्य गर्दा नटुक्रिएको चामलबाट अक्षता बनाइन्छ। त्यसलाई निधार, घरको मूलढोका, मठमन्दिर, देवीदेवताका मूर्तिलगायतमा टाँसिन्छ।’ निधारमा चामलको टीका लाउँदा शान्ति, समृद्धि र सुख प्राप्ति गर्न सकिने किंवदन्ती पनि छ।  

जन्मदेखि मृत्युसम्म मात्रै नभएर मृत्युपछि पनि धान नभई नहुने वस्तु भएको धानविज्ञ भोलामान सिंह बस्नेतको व्याख्या छ। नेपाली समुदायमा यसको प्रयोग मानव जीवनको सुरुवातदेखि नै भएको हुन सक्ने उनी बताउँछन्। ‘धान हाम्रो अत्यन्तै महत्व बोकेको अन्न हो, यसको प्रयोग जताततै हुन्छ, धानबिना बाँच्न सकिन्छ भनी हामी कल्पना पनि गर्न सक्दैनौं,’ उनी भन्छन्, ‘सांस्कृतिक र धार्मिक कार्यमा अत्यन्तै महत्व रहेको धान उत्पादन खुम्चँदो छ, यो अत्यन्त दुःखद पक्ष हो।’  

नेपाली समुदायबाट सिर्जित सबैखाले धर्म चामलमै केन्द्रित भएकाले धान र संस्कृतिको विकास सँगसँगै भएको हुन सक्ने उनको तर्क छ। सबैभन्दा बढी उत्पादन हुने र भोकमरी टार्न सक्ने मुख्य अन्न धान नै भएकाले नेपालीले धानलाई नै परम्परा बनाएको उनको भनाइ छ। ‘हाम्रा हजारौं वर्ष पुराना पर्व र संस्कृति छन्,’ उनले भने, ‘तिनलाई हेर्दा धान र समाजको साइनो निकै पुरानो रहेको प्रस्ट हुन्छ।’  

मानिस ढुंगेयुगबाट अलि सभ्य भई कृषि र पशुपालन युगमा प्रवेश गरेपछि सुरुमा आविष्कार गरिएको अन्नबाली धान थियो। त्यसैले धान सबैभन्दा पुरानो बालीका रूपमा रहँदै आएको छ।

नेपाली समुदायका हरेक जातजाति आफ्ना सांस्कृतिक पर्वहरूमा धानको प्रयोग गर्छन्। उनीहरूको दैनिक भोजनमा मुख्य खुराक नै धान बन्ने गरेको छ। मानव समुदाय ढुंगेयुगबाट सभ्यता अर्थात् कृषि र पशुपालनको युगमा प्रवेश गरेको झन्डै १० हजार वर्ष पुगेको छ। कृषि युगमा प्रवेश गरेपछि मानिसले सुरुमा आविष्कार गरेको अन्नबाली धान नै हो। 

धानको इतिहास निकै लामो छ। संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठको भनाइमा पनि कृषि र पशुपालन युगमा सबैभन्दा पहिले आविष्कार भएको अन्नबाली धान नै थियो। यसको कुनै लिखित यथेष्ट प्रमाण भने छैन। यसको अर्थ दिने किंवदन्ती भनेका हाम्रा चाडपर्व नै हुन्। ती पर्वहरूमा चामल र धानको नै बढी प्रयोग भएको पाइन्छ। ‘तत्कालीन समयमा जे सहजै उपलब्ध हुन्छ, त्यसलाई नै मानिसले आफ्नो संस्कृतिका रूपमा विकास गरेका थिए,’ उनी भन्छन्, ‘हरेक पर्वसँग जोडिएकाले धानलाई पुरानो अन्न मान्न सकिन्छ।’  

श्रेष्ठका अनुसार नेपाली संस्कृतिमा धानलाई सभ्यताको सहकालका रूपमा लिइन्छ। मानिस ढुंगेयुगबाट अलि सभ्य भई कृषि र पशुपालन युगमा प्रवेश गरेपछि सुरुमा धानकै आविष्कार गरेका थिए। त्यसैले धान सबैभन्दा पुरानो बालीका रूपमा रहँदै आएको छ। पुरानो बाली भएकै कारण यो नेपाली संस्कृतिसँग सीधा जोडिएको छ। ‘नेपालमा जुनबेला बस्ती बस्न र पशुपन्छी  पाल्न सुरु भयो, धान उत्पादन पनि त्यतिबेलादेखि नै भएको हुनुपर्छ, त्यसकारण पनि धान हाम्रो संस्कृति र जीवन हो।’  

त्यसो त नेवारी समुदायमा धानलाई उन्नति र ईश्वरका प्रतीकका रूपमा लिइन्छ। उपत्यकामा सबैभन्दा पहिले धान रोपाइँ गर्ने पुस्ता गोपाल वंश नै रहेको संस्कृतिविद् श्रेष्ठको भनाइ छ। उनका अनुसार यसकारण पनि काठमाडौं (नेपाल मण्डल) मा खेतीपाती गर्ने र धान फलाउने नेवार जाति नै हुन्। गोपाल वंशलाई नेपालमा सभ्यमाताको आरम्भ गर्ने प्रथम जातिका रूपमा पनि लिइन्छ। ‘धान हाम्रो जीवन्त संस्कृति हो, यसको सम्बन्ध शरीर–आत्माको जस्तै छ,’ श्रेष्ठले थपे, ‘मानिसलाई उन्नतिको शिखरमा ल्याउने र भोकमरीबाट बचाउने धान उत्पादनमा गिरावट आएको छ, यो साह्रै नराम्रो पक्ष हो।’ 

श्रेष्ठले बाल्यकालमा काठमाडौं उपत्यकाका फाँटहरूमा धानका बाला लहलह झुलेको देखेको स्मरण गरे। ‘महामारीका बेला भकारीमा भएको अन्न खाने चलन थियो,’ उनले भने, ‘अहिले दुई दिन बन्द हुँदा पनि बाँच्न गाह्रो हुने अवस्था आयो।’ उनका अनुसार २०२७ सालमा सरकारले कोरियामा भोकमरी लागेपछि चामल र धान अनुदान दिएको थियो। तर हिजो अरूलाई खाद्यान्न संकट परेका बेला सहयोग गर्ने देश अहिले मगन्ते हुनु लज्जास्पद रहेको उनको भनाइ छ।  

संस्कृतिविद् हरिराम जोशीले संस्कृति र पर्वहरूमा धानको मुख्य योगदान रहेको बताए। उनले आजभन्दा करिब १४ सय वर्ष पुरानो योमरी पर्व पनि यसको उदाहरण भएको जानकारी दिए। ‘नेपाली पर्वहरूमा धानचामलको धेरै प्रयोग भएको पाइन्छ, धान भिœयाउने मंसिरे पूर्णिमालाई धान्यपूर्णिमाका रूपमा मनाइन्छ। यो अवसरमा नेवारी समुदायमा योमरी पकाउने चलन छ,’ उनले भने। उनका अनुसार मानव समुदायको उन्नति पनि धानका बालासँगै भएको हो।  

जिम्मेवारी थप्ने धानको बाला  

खाद्य सुरक्षा टार्ने मुख्य बाली धान हो। त्यसकारण पनि धान देशको राष्ट्रियतासँग जोडिएको छ। धानको बालासहितका विभिन्न लोगा पनि प्रयोगमा रहेको पाइन्छ। संस्कृतिविद् टन्डनले धानलाई समृद्धिको द्योतकका रूपमा लिइने बताए। ‘धान शान्ति र समृद्धिको प्रतीक हो, यसले मानिसको भोक मेटाएको छ, त्यसकारण भोकबाट हुने अशान्ति पनि रोकिएको पाइन्छ, त्यसैले धानको लोगो सरकारले नै प्रयोग गरेको पाइन्छ,’ उनले भने।

 हाल नेपाल प्रहरीले पनि धानको बालाको लोगो प्रयोग गर्दैै आइरहेको छ। यसको भाव निकै फरक र अर्थपूर्ण रहेको पूर्वडिआइजी हेमन्त मल्लले जानकारी दिए। उनले धानचामलको प्रयोग अनन्त रहेको बताए। ‘धान खाद्य संकट टार्ने सबैभन्दा मुख्य बाली हो,’ उनले भने, ‘यो देशका हरेक नागरिकको खाद्य सुरक्षासँग जोडिएकाले पनि लोगो प्रयोग हुने गरेको छ।’

प्रकाशित: १५ असार २०७७ ०२:१९ सोमबार

राष्ट्रिय धान दिवस धान