९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

गण्डकी प्रदेशको बजेट अघिल्लो वर्षकै आकारमा

गण्डकी प्रदेश सरकारले आगामी चालु आर्थिक वर्षको आकारमै बजेट ल्याउने भएको छ । विज्ञ तथा कर्मचारीले बजेट घटाउन दिएको सुझावलाई बेवास्ता गर्दै गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको जत्रै आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउने तयारी गरेको हो ।  

चालु आर्थिक वर्षमा गण्डकी प्रदेशमा ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजारको बजेट छ । तर झण्डै आधा मात्र खर्च हुने देखिएको छ । बजेट कार्यान्वयनको पुरानै निरन्तरता र कोभिड–१९ लाई नियन्त्रण गर्न सरकारले गरेको बन्दाबन्दीका कारण बजेट खर्च नभइरहेको अवस्थामा सरकारले चालु आर्थिक वर्षको जत्रै बजेट ल्याउने तयारी गरेको श्रोतले बताएको छ । सरकारले स्थानिय तहलाई अघिल्लो वर्षको तुलनामा बजेट बढाउने, वित्तिय हस्तान्तरणको आकार बढाउने, अवण्डा बजेट, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलगायतलाई समेटेर बजेट ल्याउने तयारी गरेको श्रोतको भनाई छ ।  

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा चालुतर्फ ४० प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत हाराहारीको बजेट विनियोजन गर्ने तयारी गरेको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका महाशाखा प्रमुख ध्रुव पाण्डेले जानकारी दिए । चालु आर्थिक वर्षमा सरकारले चालुतर्फ १२ अर्ब २८ करोड  ५७ लाख ७२ हजार अर्थात कुल बजेटको ३८ प्रतिशत र  पुँजीगततर्फ १९ अरब ८४ करोड ९० लाख २० हजार अर्थात कुल बजेटको ६२ प्रतिशत बजेट विनियोजन गरेको थियो ।

प्रदेश सरकारले यस वर्ष स्वास्थ्यलाई केन्द्रीत गरेर बजेट विनियोजन गर्ने आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताउँदै आएका छन् । उनका अनुसार बजेट कोरोना केन्द्रीत हुँदै संक्रामक रोग अस्पताल, जिल्ला अस्पतालहरुको स्तरोन्नती, कोरोना रोकथाम, नियन्त्रण र उपचारसँगै स्वास्थ्य उपकरणहरुको खरिद गर्नेलगायतमा बजेट केन्द्रीत हुनेछ । त्यसका अलावामा कृषि र रोजगारमूलक क्षेत्रलाई पनि बजेटमा प्राथमिकता दिइने मन्त्री गुरुङले बताए ।

प्रशासनिक खर्च कटौती गर्ने घोषणा गरेको प्रदेश सरकारको प्रशासनिक खर्च अघिल्लो वर्षको तुलनामा थप बढ्ने देखिएको छ । ताल विकास प्राधिकरण, गण्डकी विश्वविद्यालय, गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानलगायत थपिएकाले प्रशासनिक खर्च घट्नुको सट्टा बढ्ने अनुमान गरिएको महाशाखा प्रमुख पाण्डेले बताए ।

बजेट निर्माणमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङसहित मन्त्रालयका कर्मचारीहरु दैनिक १५ घण्टा खटिदै आएका छन् । विगत १ हप्तादेखि मन्त्री गुरुङसहित मन्त्रालयका सचिव, २ उपसचिवसहित ८ जना कर्मचारी दैनिक विहान ७ बजेदेखि राती १० बजेसम्म मन्त्रालयमै बसेर बजेट निर्माणमा खटिने गरेको महाशाखा प्रमुख पाण्डेले बताए । ‘बजेट निर्माणमा खटिदा मन्त्रीज्यूसहित हामीलाई अहिले खाना खानेसमेत फुर्सद छैन्’, उनले भने ।

प्रकाशित: ३० जेष्ठ २०७७ १०:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App