७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कोरोना कहरसँग लड्दै उदयपुर सिमेन्ट

सातादिनमा १४ करोडको गैंडा छाप विक्यो

उदयपुर सिमेन्ट उद्योग लिमिटेड । तस्बिर : महेश्वर

सरकारी स्वामित्वको गैंडा छाप सिमेन्ट उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) कोरोना भाइरस (कोभिड–१९) को लकडाउनलाई चिर्दै उत्पादन र बिक्री गर्दैछ । चैत ११ देखि जारी लकडाउनलाई छिचोल्दै उसिउलिले जेठ दोस्रोसाता ६६ औं दिनदेखि मौज्दात सिमेन्ट बिक्री थालेको थियो ।  

कोरोना महामारी सुरु हुनुअघि मौज्दात सिमेन्ट जेठ १६ गतेदेखि बेच्न थालेको उद्योगले जिल्लामा कोरोना नियन्त्रणोन्मुख देखिएपछि जेठ २२ गते ‘किल्न फाईरिङ’ गरेर क्लिंकर उत्पादन थालेको थियो । त्यसयता दैनिक सरदर ७ सय मेट्रिक टनका दरले उत्पादन हुँदै आएको उद्योगका उत्पादन महाशाखा प्रमुख सञ्जयलाल कर्णले बताए । उसिउलिको दैनिक उत्पादन क्षमता ८ देखि १२ सय मेट्रिक टनसम्म रहेको छ । कर्णका अनुसार २२ गते रातिदेखि कम्तीमा ६ सय ५० देखि साढे ७ सय मेट्रिक टनसम्म क्लिंकर उत्पादन हुँदै आएको छ ।  

‘फाईरिङ गरेदेखि हालसम्म एकाध घण्टाबाहेक मेसिन रोक्नुपरेको छैन’ कर्णले भने ‘फाईरिङको ८ दिनभित्र ७ हजार ३ सय ४७ मेट्रिक टन क्लिंकर अर्थात १ लाख ४६ हजार ९ सय ४० बोरा सिमेन्ट उत्पादन भईसक्यो ।’ अहिलेसम्म उत्पादन राम्रो रहेको र विद्युत र मेसिन उपकरणले धोका नदिए यही रप्mतारमा उत्पादन भईरहने उनले बताए ।  

उद्योगका प्रवक्ता तथा बिक्री विभाग प्रमुख रामबहादुर जिसीले मौज्दात सिमेन्ट बिक्री थालेको सातादिनपछि फाईरिङ गरेर उत्पादन र बिक्री भईरहेको बताए । लकडाउन सुरु हुनुअघि मौज्दात डेढलाख बोरा सिमेन्ट बेचिसकेपछि उत्पादन थालिएको र बिहीबारसम्म पौने दुई लाख बोरा बेचिसकेको जिसीले बताए । उनका अनुसार लकडाउनको अवधिमै दैनिक ८ हजारदेखि १२ हजार बोरासम्म सिमेन्ट बिक्ने गरेको छ र जसबाट १४ करोडभन्दा बढी रकम जम्मा भएको छ ।  

‘१६ गतेयता एकलाख ७४ हजार ६ सय ६९ बोरा बिक्री भईसक्यो, आज मात्र १० हजार बोरा गयो’ जिसीले भने ‘यसबाट १४ करोड ३ लाख ३४ हजार ३ सय १४ उद्योगमा जम्मा भयो ।’ गैंडा सिमेन्टको द्वारमूल्य हाल प्रतिबोरा ८ सय ३ रुपैंया ४३ पैसा कायम गरिएको छ ।  

उद्योगका महाप्रबन्धक (जिएम) नवलकिशोर साहले कोरोनाका कारण लकडाउन लागेपछि दुईमहिनाभन्दा लामो समय उत्पादन रोक्नु पर्दा करोडौं व्यवसायिक घाटा बेहोर्न बाध्य हुनु परेको बताए । आर्थिक वर्ष अन्त्यको बेला भएकाले वैशाखदेखि असारसम्म सिमेन्ट प्रयोगको ‘पिक सिजन’ हुने हुँदा सिमेन्ट जतिसक्दो बढी उत्पादन र बिक्रीमा उद्योगले ध्यान दिने गरेको उनले बताए ।  

८ सय मेट्रिक टन क्षमताको उद्योगले दैीनक सरदर ६ सयकै हाराहारी उत्पादन गर्ने आधार मान्दा पनि ६५ दिन बन्द हुँदा ३९ हजार मेट्रिक टन क्लिंकर अर्थात ७ लाख ८० हजार बोरा सिमेन्ट उत्पादन हुन नपाएको र जसको त्यतिबेलाको कायम मूल्य अनुसार ५८ करोड हाराहारी व्यवसायिक घाटा भएको जिएम साहले बताए । उनका अनुसार उत्पादनबाहेक ३ सय ८० कर्मचारी/मजदुरलाई तलब भत्तावापत मासिक ६२ लाखका दरले १ करोड २५ लाख थप व्ययभारसमेत उद्योगलाई परेको छ ।  

जिएम साहका अनुसार उद्योगले चालु वर्ष ३२ लाख बोरा उत्पादनको लक्ष्य लिएको छ । तर, कोरोनाले लक्ष्य पुरा गर्न हम्मे पर्ने देखिएको छ । पिक सिजनकै बेला अढाई महिनासम्म लकडाउन हुनु नै लक्ष्य चुम्न कठिनाई सावित भएको उनले बताए । लकडाउनअघि झण्डै २० लाख बोरा उत्पादन गरिसकेको उद्योगले आउदो असारभरी उत्पादन गर्दा झण्डै झण्डै लक्ष्य चुम्न सकने अपेक्षा गरेको छ । आर्थिकवर्ष सुरुमै प्रिहिटर पंखा (एसपी फ्यान) बिग्रेर झण्डै दुई महिना उत्पादन रोकिन गएकाले पनि समस्या परेको उनले बताए ।

प्रकाशित: ३० जेष्ठ २०७७ ०७:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App