८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

एक हप्तालाई ‘आइसिडी डिस्टफिङ’ बन्द

सुक्खा बन्दरगाहमा अत्यधिक जाम

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा ‘आइसिडी डिस्टफिङ’ हुँदै । तस्बिर : रितेश/नागरिक

वीरगन्जको सुक्खा बन्दरगाहमा आइसिडी डिस्टफिङ (कन्टेनरबाट मालसामान अन्य ढुवानी साधनमा खन्याएर लैजाने काम) सात दिनका लागि बन्द गरिएको छ ।  

सिर्सियास्थित सुक्खा बन्दरगाहमा सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सले आइतबार एक सूचना जारी गर्दै सोको जानकारी गराएको हो । कोराना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले लागू गरेको लकडाउनका कारण उत्पन्न असहजताले व्यापार तथा पारबहनको शृंखला भंग भएर सुक्खा बन्दरगाह जाममा परेपछि त्यसलाई पुनः लयमा ल्याउन यस्तो सूचना जारी गरिएको हो  ।  

तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय रेल सञ्जालमार्फत समुद्री बन्दरगासँग जोडिएको यो सुक्खा बन्दरगाहमा क्षमताभन्दा झण्डै दोब्बर मालवस्तु थन्किएको छ । यसमा सबभन्दा बढी विदेशबाट आएका साढे दुई हजार कन्टेनरबन्द सामान छन् ।  

यहाँबाट भर्ती कन्टेर लैजान भने कुनै समस्या छैन । ‘एउटा कन्टेर खन्याएर लैजाँदा त्यस प्रक्रियामा तीनवटा कन्टेनर राख्ने ठाउँ अगोटिन्छ, हामीसँग ठाउँको अहिले एकदमै अभाव छ,’ कम्पनीका वरिष्ठ अधिकृत अनिमेश कुमारले भने, ‘बाध्यतावस हामीले यस्तो सूचना निकालेका छौं, आशा गरौं यसबीचमा सबै ठीक होला ।’  

अहिले दैनिक एक सय ५० देखि दुई सयसम्म कन्टेनर केही दिनयता सुक्खा बन्दरगाहबाट निकासी भइरहेको उनले जनाए । यार्डमा अत्यधिक मात्रामा कन्टेनर थुप्रिएको हुनाले यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ ।  

हजारवटा रित्ता कन्टेनर पनि त्यहाँ थन्किएको छ । कम्पनीका अनुसार एक पटकमा २० फिटको ९० वटा कन्टेनर लोड गर्ने सातवटा रेक एक महिनाभित्र यताबाट ‘नेकेड’ अर्थात खालि नै पठाउनु पर्दा ती रेकमा जानुपर्ने खाली कन्टेनर ढिलो गरी आएर यहाँ थन्किएका हुन । आयातकर्ताले बेलैमा खालि कन्टेनर फर्काउन नसकेपछि रेक रित्तै फिर्ता हुँदा मालबाहक रेकको चेन भंग भएपछि त्यसले गर्दा पनि समस्या भइरहेको उनले जनाए ।

सिर्सिया बन्दरगाहको क्षमता एकपटकमा १५ सय कन्टेनर ह्यान्डिल गर्ने रहेकोमा अहिले यहाँ भर्ती र खालि गरी साढे तीन हजार कन्टेनर थन्किन पुगेपछि समस्या बढेको हो ।  

भारतीय फलाम प्रशोधन केन्द्रहरुबाट औद्योगिक कच्चा पदार्थको रुपमा आउने फलाम र बोराबन्द सामान पनि यहाँ भण्डारण क्षमताभन्दा बढी थन्किएको छ । फलामे छड बनाउने बिलेट, फलामे क्वायल र चदरा तथा ट्यांकीजस्ता वस्तु बनाउने सिट लगायत फलाम यहाँ आउने गरेका छन् ।

प्रकाशित: २० जेष्ठ २०७७ १०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App