१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

चिनी बोकेका ट्रक पाँच दिनदेखि नियन्त्रणमा

ईलाका प्रहरी कार्यालय हरकठवा परिसरमा रहेका ट्रक । तस्बिर : टंक/नागरिक

सर्लाही- जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने धनकौल गाउँपालिकास्थित अन्नपूर्ण सुगर मिलबाट चिनी बोकेर बाहिरिएका ट्रक पाँच दिनदेखि प्रहरी कार्यालयमा थन्किएका छन् ।

गत आईतबार मध्यराति उद्योगबाट चिनी लोड गरेर बाहिरिन लागेका ४ वटा तथा लोड हुन बाँकी २ वटा ट्रकलाई स्थानीय उखु किसानले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । चिनी लोड भएका दुईवटा ट्रकलाई प्रहरी चौकी भवानीपुर तथा २ वटा लोड भएका एवं खाली २ ट्रकलाई ईलाका प्रहरी कार्यालय हरकठवाको जिम्मा लगाइएको स्थानीय किसान संजिव सिंहले जानकारी दिए ।

‘रातारात चिनी लोड गरेर लैजान लागेको थाहा पाएपछि स्थानीय किसानले घेरेर ट्रक नियन्त्रणमा लिएका हुन्’, सिंहले भने, ‘लकडाउनको मौका छोपेर उद्योगपतिले चिनी लैजान खोजे पनि स्थानीय किसानले थाहा पाएपछि ट्रक नियन्त्रणमा लिन सफल भएका छन् ।’ किसानहरुले सबै ट्रकको टायरबाट हावा समेत निकालिदिएका छन् ।

किसानको करोडौं भुक्तानी बाँकी राखेपछि उक्त उद्योगबाट चिनी निकासीमा स्थानीय किसानले अवरोध गर्दै आएका छन् । उक्त उद्योगले चार वर्षअघि देखिकै किसानको उखुको भुक्तानी बाँकी राखेको सिंहले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले स्थानीय बासिन्दाले ६ वटा ट्रक नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताए । ‘स्थानीय किसानले चिनी बोकेर बाहिरिन लागेका ट्रक नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्’, प्रजिअ जिसीले भने, ‘समस्या समाधानका लागि प्रयास भईरहेको छ ।’ उद्योगले चिनी विक्री गर्न पाउने र किसानको पनि वर्षौंदेखिको बाँकी बक्यौता भुक्तानी गर्नुपर्ने प्रजिअ जिसी बताउँछन् ।

 

प्रकाशित: २६ वैशाख २०७७ १०:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App