५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

लकडाउनले माछा व्यवसायी पीडामा

सर्लाही, - कोभिड–१९का कारण  लकडाउनले सर्लाहीमा करोडौं मूल्य बराबरका माछा पोखरीमै थन्किँदा किसान मारमा परेका छन् । गर्मी मौसममा दैनिक ३० क्विन्टलसम्म माछा बिक्री हुने भए पनि लकडाउनका कारण व्यापारी किन्न नआएपछि ईश्वरपुर नगरपालिका–३ भक्तिपुर गाउँमा मात्र करोडौं मूल्य बराबरका माछा पोखरीमै थन्किएको स्थानीय माछा किसान तेजनारायण सहनीले गुनासो गरे । ‘सामान्य अवस्थामा गर्मी मौसममा भक्तिपुरबाट मात्र दैनिक ३० क्विन्टल माछा व्यापारीले किनेर लैजान्थे,’ सहनीले भने, ‘सरकारी लकडाउनका कारण ४० दिनसम्म कोही किसानको पनि माछा बिक्री हुन सकेन, अहिले तीन दिनयता १० क्विन्टल जति माछा गइरहेको छ ।’

सहनीका अनुसार माछा गाउँको रुपमा परिचित भक्तिपुरमा मात्र ४०० भन्दा बढी व्यवसायिक माछापालन हुने पोखरी छन् । भारतको सितामाढीसहित काठमाडौं, विराटनगर, सिन्धुली, लाहान, धरान, ईटहरी, राजविराज, गाईघाटलगायत मुलुकका प्रमुख सहरबाट व्यापारी गाडी नै लिएर माछा किन्न आउने गरे पनि लकडाउन लागू भएपछि गाडी चलाउन नमिल्लने भएकाले कोही व्यापारी नआएको स्थानीय किसान प्रेमप्रसाद देवकोटाले गुनासो गरे । ‘के गर्नु बिक्री नभएर माछाले पोखरी भरिइसक्यो, माछाको घनत्व बढेका कारण आकाशमा बादल लागेर मौसम परिवर्तन हुने बित्तिकै अक्सिजन अभावमा पोखरीमै भटाभट मर्न सूरु भएको छ,’ पौने दुई बिगहा क्षेत्रफलको पोखरीमा माछा पालेका देवकोटाले नागरिकसँग दुःखेसो पोखे, ‘दानावालाले उधारो दिँदैन, माछा बिक्री नहुँदा पैसा अभावले दाना ल्याउन सकिएको छैन, दाना नहुँदा माछाको वेट पनि स्वात्तै घटेको छ, अनि साँझ परेपछि पोखरीको डिलमा आयो टोलाएर बस्यो ।’ माछाले गर्मी मौसममा अत्यन्त बढी दाना खाने र जाडो मौसममा अत्यन्त कम खाने हुँदा यस्तो मौसममा दाना खुवाउन नसकिएपछि आगामी जाडो सिजनमा माछाको तौलसमेत निकै कमी हुने चिन्ताले किसान पिरोलिएका छन् ।

आफ्नो र ठेक्कामा लिएको गरी ६० बिगाह क्षेत्रफलको पोखरीमा माछापालन गरेका भक्तिपुरका ठूला किसान तेजनारायण सहनी लकडाउनले ठूलो आर्थिक क्षति भएको बताउँछन् ।  ‘अरु कतिपय किसानको त माछाबाहेक अन्य व्यवसाय पनि छ,’ सहनीले चिन्तित हुँदै नागरिकसँग भने, ‘मेरो त माछापालनबाहेक अन्य केही टेक्ने समाउने लौरो छैन, अब लकडाउनले माछा पोखरीमै थन्किँदा चुर्लुम्म ऋणमा डुब्ने निश्चित भएको छ ।’

यहाँका किसानले भकुरा, विगहेड, सिल्वर, कमलक्राफ, ग्राँसक्राफ, रहुँ, नैनीलगायत जातका माछा पाल्ने गरेका छन् । भक्तिपुरका अर्का किसान सन्तोष आचार्यका अनुसार दैनिक ३० क्विन्टलका दरले बिक्री हुने हिसाबले पनि लकडाउन सुरु भएयता ४३ दिनसम्म भक्तिपुरमा मात्र कम्तीमा १२९ मेट्रिक टन माछा पोखरीमै थन्किएको छ । माछाको साइज र जात हेरेर प्रतिकिलो २०० देखि ५०० रुपैंयासम्ममा पोखरीबाटै व्यापारीले किन्ने गरेका थिए । यस हिसाबले भक्तिपुरमा मात्र झण्डै साढे ४ करोडको माछा बिक्री हुन नसकेर पोखरीमै रहेको देखिन्छ । अझ जिल्लाभरकै तथ्यांक हेर्ने हो भने त १० करोडभन्दा बढीको माछा  बिक्री नभएर पोखरीमै थन्किएको जानकारहरु बताउँछन् । 

ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटा लकडाउनका कारण माछापालक किसान निकै मारमा परेको बताउँछन् । ‘लकडाउनका कारण टाढाका व्यापारी आउन नसकेकाले माछा विक्री नहुँदा किसान निकै मारमा परिरहेका छन्,’ मेयर देवकोटाले भने, ‘अहिले केही दिनयता नजिकैका केही व्यापारीलाई बिक्री गर्ने व्यवस्था मिलाइए पनि किसानको पुरै समस्या समाधान त हुने कुरै भएन ।’

प्रकाशित: २४ वैशाख २०७७ ०४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App