८ वैशाख २०८१ शनिबार
अर्थ

सिलिण्डरको माग घट्दा ग्यास उद्योगी समस्यामा

बेलहिया नाकाबाट आउदै गरेको ग्यास बुलेट ।

भैरहवा- उपभोक्ताले ग्यास संचित गरेर राख्दा ग्यास उद्योगीहरुमा समस्या सृजना भएको छ । लकडाउनमा ग्यासको अभाव हुन सक्ने त्रासले आवश्यकता भन्दा बढी ग्यास भरेर राख्दा व्यवसायमा गिरावट आउनुका साथै बुलेट खाली हुन सकेको छैन ।

ग्यास बढि खपत हुने उद्योग, होटल तथा ठूला प्रतिष्ठानहरु बन्द भएकोे र उपभोक्ताले आफूसँग भएको ग्यास सिलिण्डर भरेर संचित गरिदिँदा उद्योगमा खाली सिलिन्डर अभाव हुन थालेको छ । ग्यासका बुलेट भन्सारबाट नियमित रुपमा आए पनि बजारमा पठाएको सिलिण्डर प्रयोग नभई संचित भइदिदा ग्यास बोक्ने बुलेट खाली हुन समय लागिरहेको त्रिशुल ग्यासका व्यवस्थापक देबी भुसालले बताए । सरकारले काठमाडौमा ग्यासको अभाव देखेर देशभरिनै आधा सिलिण्डर दिने घोषणा गरिदिदा समस्या आएको हो, उद्योगमा क्षमता अनुसारकै ग्यास उपलब्ध छ व्यवस्थापक भुसालले नागरिक न्युजसँग भने । बजारमा खपत पनि ह्वात्तै घटेको छ, आयात निरन्तर भएपनि खाली सिलिण्डर नआउदा उद्योगलाई ग्यास भर्न समस्या भएको छ । अहिले पहिलाको सरदरमा ५० प्रतिशत भन्दा कम ग्यास उद्योगबाट गइरहेको छ ।

रुपन्देहीमा ४ वटा उद्योग सञ्चालनमा छन् । ५ सय ८२ वटा ग्यास व्यवसायीबाट जिल्ला भरि महिनामा करिब १ लाख ९८ हजार सिलिण्डरको खपत रहे पनि अहिले घटेर एक लाखमा झरेको ग्यास विक्रेतासंघ रुपन्देहीका अध्यक्ष प्रदिपप्रसाद पन्थले जानकारी दिए । सरकारको कमि कमजोरीको कारण रुपन्देहीमा समस्या भएको दाबी गरे, संघले रुपन्देहीमा ग्यास अभाव छैन आयात नियमित छ फुल सिलिण्डर नै बजारमा पठाऔ भन्दा प्रजिअ सकारात्मक भए पनि उद्योगीहरुले हाफ सिलिण्डर बजारमा पठाएकोले सिलिण्डर अभाव देखिएको अध्यक्ष पन्थले बताए । दैनिक विक्री पनि घटेको छ उद्योगले नगदमै भुक्तानी मागीरहेका छन यस्तो परिस्थीतीमा चेकबाट भुक्तानीमा समस्या आइरहेको छ ।

नाकाबाट पर्याप्त मात्रामा ग्यासका बुलेट भित्रिएपछि अहिले फुल सिलिण्डर (१४.२ किलोको) पठाउने सरकारले निर्देशन दिएको छ । आधा सिलिण्डर ग्यास अधिकांस उपभोक्ताहरुले लिनै मानेका छैनन्  पहिलाका हाफ सिलिण्डर (७.१ किलो) नै फसेको ग्यास विक्रेतासंघ भैरहवा शाखाका अध्यक्ष राममिलन यादवले बताए । जिल्लामा ४ वटा उद्योग भएपनि १८ वटा उद्योगको ग्यास रुपन्देहीमा बिक्री हुने गरेको छ, आइतबारबाट फुल ग्यास बिक्री गर्ने सरकारले निर्णय गरेपनि यहाका अधिकांस विक्रेताहरुसँग हाफ सिलिण्डर नै ग्यास छ, बिक्री नभएसम्म उद्योगले फुल ग्यास दिदैन अध्यक्ष यादवले नागरिक न्यूजलाई भने ।

उद्योगहरुले भने विगत भन्दा बढी मात्रामा ग्यास आयात भइरहेकाले जिल्ला भरि माग अनुसारको ग्यास उपलब्ध रहेको बताएका छन् । अहिले सबै ग्यास उद्योगसँग पर्याप्त मात्रामा ग्यास मौज्दात रहेको र ग्यास आयातमा कुनै समस्या नरहेको बताए ।

एलपी ग्यास उद्योग संघ र ग्यास बिक्रेता महासंघ नेपालले आम उपभोक्तको हितलाई ध्यानमा राख्दै आपूर्ति व्यवस्था सहज राख्न विज्ञप्ति जारी गर्दै घरमा भएको खाली सिलिण्डरलाई मात्र ग्यास दिन र नयाँ सिलिण्डर (ग्यास सहितको सिलिण्डर) बिक्री वितरण नगर्न पनि बिक्रेताहरुलाई आग्रह गरेको थियो । त्यस्तै आफूसँग रहेको खाली सिलिण्डर डिलरमा बुझाउनसमेत संघले आग्रह गरेको छ । बजारमा खाना पकाउने ग्यासको माग उच्च भएपछि चैत १२ गते आधा सिलिण्डर ग्यास बिक्री वितरण गर्ने निर्णय भएर चैत १६ गतेदेखि मुलुकभर आधा सिलिण्डर ग्यास बिक्री हुदै आएको थियो ।

ईन्धन आयात निरन्तर
मुलुक लकडाउन भएसँगै भैरहवा भन्सार कार्यालयबाट निरन्तर ईन्धन आयात भइरहेको छ । डिजेल, पेट्रोल चैत २० गतेबाट आयात नभए पनि ग्यास बुलेट र अन्य ईन्धन निरन्तर आइरहेका छन् । लकडाउनपछि बुधबारसम्म यस नाकाबाट ३ सय ८३ वटा ईन्धनका गाडी भित्रिएको भैरहवा भन्सार कार्यालयका सुचना अधिकारी पूर्ण प्रसाद लम्सालले जानकारी दिए । ३ हप्तामा ३३६ वटा एलपी ग्यास, ३५ वटा पेट्रोल र १२ वटा डिजेल गरी ३ सय ७७ वटा पेट्रोलियम ईन्धनका गाडी भन्सार पास भएको छ । मंगलबार मात्रै ११ वटा बुलेट यस नाकाबाट भित्रिएको सूचना अधिकारी लम्सालले बताए ।
 

प्रकाशित: ५ वैशाख २०७७ ०९:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App