९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

तातोपानीबाट अत्यावश्यक सामग्री नियमित आउने

चीनबाट अत्यावश्यक सामान आयातबारे तातोपानी नाकाको मितेरी पुलमा छलफल गर्दै दुई देशका अधिकारी । दुवै देशका अधिकारीहरु तातोपानी नाकाबाट मेडिकल र अत्यावश्यक खाद्य सामग्रीको आयात बिहीबारदेखि नियमित गर्न सहमत भएका छन् । तस्बिर:नागरिक

सिन्धुपाल्चोक, - उत्तरको मुख्य व्यापारिक तातोपानी नाका भएर बिहीबारदेखि चीनबाट नियमित अत्यावश्यक सामग्री नेपाल आउने भएको छ । दुई देशका अधिकारीबीचको सीमा सुरक्षा बैठकमा स्वास्थ्य र अत्यावश्यक खाद्य सामग्री नियमित आपूर्ति गर्ने सहमति भएको हो । 

‘मेडिकल र अत्यावश्यक खाद्य सामग्रीको आयात बिहीबारदेखि नियमित हुनेछ,’ बैठकमा नेपाली पक्षको नेतृत्व गरेका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने । स्वास्थ्य र खाद्यबाहेक अन्य सामग्री भने तत्काल नाकाबाट आयात नहुने उनले जानकारी दिए । लकडाउन अवधिभर कोरोना भाइरसको सम्भावित संक्रमणसँग जुध्नका लागि अत्यावश्यक सामग्री अभाव हुन नदिन सरकारले उत्तरका तातोपानी र रसुवागढी नाका खोल्ने निर्णय गरेको थियो । निर्णयपछि दुबै नाकाबाट एक खेप थोरै सामग्री ल्याइए पनि नियमित आयात हुन सकेको थिएन । अब भने अत्यावश्क समाग्रीको आयात नियमित हुने प्रजिअ ढकालले बताए । 

सीमावर्ती नेलाम काउन्टी र सिन्धुपाल्चोकका अधिकारीबीच मंगलबार मितेरी पुलमा नाका सञ्चालनबारे बैठक भएको थियो । चीनबाट सहज र सुरक्षित ढंगले कसरी र कुन मोडालिटीबाट सामान ल्याउने भन्ने विषयमा बैठकमा सहमति जुटाइएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । ‘सामग्री आयात गर्दा दुवै मुलुकले मेडिकल प्रोटोकल पालना गर्नुपर्नेछ,’ बैठकमा सहभागी उनले भने ।  

उनका अनुसार नेपाली व्यवसायी÷व्यापारिक फर्मको अर्डरपछि चिनियाँ पक्षले नै सीमासम्म सामग्री ल्याइदिनेछ । मितेरी पुल क्षेत्रसम्म आइपुग्ने सामग्री लिन नेपाली पक्ष त्यहाँसम्म पुग्नुपर्ने छ । बढीमा २० जनासम्म नेपाली चालक र भरियालाईमात्र पुलसम्म पुग्न चीनले अनुमति दिएको भन्सार प्रमुख खत्रीले बताए । ‘अध्यागमन कार्यालयले दिने परिचयपत्रको आधारमा सामग्री आयातमा संलग्न चालक र भरियाले प्रवेश पाउनेछन्,’ उनले भने । मितेरी पुलनजिकै चालक र भरियाको नियमित स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको छ । त्यहाँ चिकित्सक र आवश्यक उपकरणसहित हेल्थ डेस्क सञ्चालनमा ल्याइसकिएको उनले जानकारी दिए । 

मितेरी पुल क्षेत्रबाट सम्बन्धित व्यवसायीले बुझ्ने सामग्री सुक्खा बन्दरगाह पु¥याइएपछि मात्र भन्सार जाँचपास प्रक्रिया सुरु हुनेछ । ‘आएका सामग्री १२–१४ घन्टासम्म भन्सारको आइसोलेसनमा राखेर मेडिकल परीक्षण पूरा गरेपछि मात्र राजधानी पठाउँछौं,’ प्रमुख खत्रीले भने । सामग्री जाँचपासका लागि भन्सार कर्मचारी तयारी अवस्थामा रहेको जानकारी दिँदै उनले बुधबार साँझसम्म केही मेडिकल सामग्री नाकामा आइपुग्ने बताए । 

सरकारको निर्णयपछि गएको बुधबार नाकाबाट २९ बाक्सा मास्क र सेनिटाइजर नेपाल भित्रिएको थियो । २०७२ वैशाख १२ को भूकम्पको कारण चार वर्ष बन्द भएको तातोपानी नाका गत वर्षको जेठ १५ गतेदेखि पुनः सञ्चालनमा आएको थियो । चीनको बुहानबाट कोरोना संक्रमण फैलिएपछि माघ १६ गतेबाट पुनः नाका बन्द गरिएको थियो ।

 

प्रकाशित: ५ वैशाख २०७७ ०३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App