१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

तीन योजनामा व्यापक अनियमितता

ओखलढुंगा– जिल्लाका तीनवटा योजना निर्माणमा अनियमितता भएको पाईएको छ। तीन योजनाहरू निर्माणका क्रममा व्यापक अनियमितता भएको जिल्ला समन्वय समितिले गरेको अनुगमनबाट खुलेको हो। मोलुङ–एकवार सडक आयोजना, निशंखे खेलमैदान निर्माण र ढुस्के–पोक्तिङखोला–वरुणेश्वर–विगुटार सडक निर्माण गर्दा कार्य मूल्याङ्कन भन्दा बढी रकम भुक्तानी गरी अनियमितता भएको अनुगमन पश्चात जिससले जनाएको छ। यस विषयमा समितिले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

स्वास्थ्य कार्यालय रुम्जाटारमार्फत उपभोक्ता समिति गठन भई निशंखे खेलमैदान निर्माण गर्दा अनियमितता भएको छ। सिद्धिचरण नगरपालिका–२ मा निर्मित खेलमैदान ५० लाख रुपैयाँमा निर्माण गर्नेगरी स्थानीय उपभोक्ता समितिसँग सम्झौता भएको थियो। त्यसमध्ये ४७ लाख २२ हजार भुक्तानी भइसकेको छ। काम भने ३४ लाख १६ हजार ८ सय ७७ रुपैयाँ बराबरको मात्र भएको छ। सम्पन्न काम भन्दा १३ लाख ५ हजार १ सय २२ रुपैयाँ बढी भुक्तानी भएको देखिएको जिसस प्रमुख जयबहादुर श्रेष्ठले बताए। निर्माण सम्पन्न नहुँदै खेल मैदानको केही भाग भत्किसेको छ।

त्यसैगरी मोलुङ गाउँपालिका र सिद्धिचरण नगरपालिकाबीचको ढुस्के–पोक्तिङखोला–वरुणेश्वर–विगुटार सडक निर्माण गर्दा पनि भुक्तानी रकम अनुसारको काम भएको देखिएको छैन। जिसस प्रमुख श्रेष्ठका अनुसार ६२ लाख ९३ हजार ७ सय ५० रुपैयाँमा निर्माण गर्नेगरी स्थानीय उपभोक्ता समितिसँग सम्झौता भएकोमा प्राविधिक मूल्यांकन गर्दा २३ लाख ८५ हजार ६ सय १३ रुपैयाँ बराबरको मात्रै काम भएको छ। तर, ५७ लाख ८७ हजार ४ सय ७ रुपैयाँ भने उपभोक्ता समितिले लिइसकेको छ। सम्पन्न कामका आधारमा ३४ लाख १ हजार ७ सय ९३ रुपैयाँ बढी भुक्तानी भएको उनले बताए। करिब दुई किलोमिटर भन्दा बढी सडक फराकिलो गरेर उक्त रकम समितिले भुक्तानी लिएको देखिन्छ।

यसका साथै समितिले जिल्लाकै लामो समयदेखि निर्माणाधिन मोलुङ–एकवार–हर्कपुर–पात्ले सडक आयोजनाको पनि अनुगमन गरेको छ। यस आयोजनामा पनि अनियमितता भएको पाईएको समितिले जनाएको छ। मोलुङ–एकवार–हर्कपुर–पात्ले सडक आयोजनाअन्तर्गत सुनकोशी गाउँपालिका–६ भुल्के खण्डमा ठेकेदारले सम्झौता अनुसारको कामै नगरी रकम लिएको जिससले जनाएको छ। ३३ लाख ९४ हजार तीन सय ८४ रुपैयाँमा ठेक्का सम्झौता भएको सो सडकको निर्माणसमेत पूरा भएको छैन। हालसम्म २६ लाख २९ हजार ९२ रुपैयाँ भुक्तानी भइसकेको छ।

तर प्राविधिक मूल्यांकन अनुसार १९ लाख ६३ हजार ५ सय ४४ रुपैयाँ बराबरको मात्र काम भएको छ। सम्पन्न काम भन्दा ६ लाख ६५ हजार ५ सय ४८ रुपैयाँ बढी भुक्तानी भएको जिससको अनुगमनमा देखिएको छ। सडक डिभिजन कार्यालय हर्कपुरले ठेक्का लगाएको उक्त योजना सुगम सफल निर्माण प्रालि, भक्तपुरले ठेक्कामा लिएको थियो।

जिल्लामा सञ्चालन भईरहेका अन्य योजनाहरूको पनि अनुगमन गरिने जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठले बताए। अनियमितता देखिएका योजनाहरूमा कर्मचारी, ठेकेदार र उपभोक्ता समिति सबैको मिलेमतो देखिएको उनको भनाइ छ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App