८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

रसुवा भन्सारको राजस्व ३६ प्रतिशत बढी

रसुवा -  रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७६/७७ को माघ महिनामा लक्ष्यभन्दा ३६ प्रतिशत बढी राजस्व संकलन गरेको छ।

कार्यालयले माघ महिनामा ४६ करोड ७८ लाख ९१ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। जसमा ६३ करोड ४६ लाख चार हजार राजस्व उठेको छ। यो लक्ष्यभन्दा ३५.६३ प्रतिशत बढी हो। आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म सडक अवरोध नभएको, परियोजनाको सामग्रीको आयात बढेको, प्रविधिमा आधारित भएर मूल्य तथा मूल्यांकनलाई व्यवस्थित बनाइएको, केही सामग्रीमा भन्सार महसुल बढेका कारण राजस्व संकलन बढेको हो।

पछिल्लो समय नेपाल तथा चीनतर्फको भन्सारले जाँचपासलाई सहज बनाएका छन्। बाहिरी जिल्लाका चालक तथा सहचालकलाई अस्थायी रूपमा पास उपलब्ध गराइएको छ। कार्यालयले सात महिनामा सात अर्ब ९७ करोड ३५ लाख ३३ हजार राजस्व उठाएको छ। यो लक्ष्यको ८५.२१ प्रतिशत हो। प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले सामग्रीको आयात बढ्नुको साथै भन्सारलाई व्यवस्थित बनाउँदै लगिएका कारण राजस्व संकलनमा वृद्धि भएको बताए। ‘भन्सारको कार्यलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि सबैबाट सहयोग मिलेका कारण यो सफलता मिलेको हो,’ उनले भने, ‘यही अनुसार राजस्व उठ्यो भने वार्षिक लक्ष्यमा बढ्छ।’

गत आर्थिक वर्षमा पनि अगाडि नै वार्षिक लक्ष्य पूरा गरेपछि लक्ष्य बढाइएको थियो। कार्यालयले साउनमा एक अर्ब तीन करोड पाँच लाख ४८ हजार रूपैयाँ, भदौमा एक अर्ब ५१ करोड २६ लाख ९० हजार, असोजमा एक अर्ब ३८ करोड ८० लाख ३२ हजार, कात्तिकमा एक अर्ब ४७ करोड एक लाख ११ हजार, मंसिरमा एकअर्ब ९१ लाख ९१ हजार र पुसमा ८२ करोड ८३ लाख ५५ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो। यो वर्ष नौ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रूपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। गत आर्थिक वर्षमा नौ अर्ब ५० करोड ६२ लाख ६२ हजार रूपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य राखिएकामा १० अर्ब ६० करोड २४ लाख १९ हजार रूपैयाँ राजस्व संकलन भएको थियो।

आर्थिक वर्ष ०७२/७३ मा दुई अर्ब चार करोड ४६ लाख ८७ हजार सात सय ४४, आर्थिक वर्ष ०७३/७४ मा दुई अर्ब ९२ करोड १८ लाख दुई हजार, आथिर्क वर्ष ०७४/७५ मा चार अर्ब ५९ करोड २३ लाख १९ हजार राजस्व उठेको कार्यालयको तथ्यांक छ। रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायत सामग्री आयात भइरहेको छ भने बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात भइरहेको छ।

प्रकाशित: ६ फाल्गुन २०७६ ०३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App