६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

कतै बिकेन, कतै पुगेन

जाजरकोट- भूगोलका हिसाबले तीन भागमा विभाजित डोल्पामा कतै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल बिक्री नहुँदा समस्य देखिएको छ भने कतै चामल नपुग्दा हैरान भएको छ।

यातायातको सहज पहुँच भएका ठाउँमा कम्पनीको चामल कम बिकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी डोल्पाले जनाएको छ। यातायातको पहुँच नभएको र भारी हिमपातका कारण समस्या भोगिरहेको उपल्लो डोल्पाका दुई बिक्री केन्द्रमा चामलको गेडासम्म नभएको कम्पनीको भनाइ छ।

तल्लो तथा मध्य डोल्पामा नेपाल कम्पनीबाट बिक्री हुने चामलको मूल्य बजारमा पाइनेभन्दा कम रहेको छ। कम्पनीले मोटा चामल ४६ रुपैयाँ, सोना मन्सुली ५४ रुपैयाँ, जिरा मसिनो ६१ रुपैयाँ र जापानिज चामल ४४ रुपैयाँ प्रतिकिलोग्राम बिक्री भइरहेको कम्पनीका कमलराज पाण्डेले जानकारी दिए।

उनका अनुसार बजारमा प्रतिकिलो जिरा चामल ८० रुपैयाँ र दुर्गा ६५ रुपैयाँ पर्दछ। अहिले दुनैस्थित गोदाममा तीन हजार क्विन्टल चामल बिक्री नभएर मौजदात रहेको छ। गोदामको क्षमताभन्दा झण्डै ५०० क्विन्टल चामल बढी रहेको पाण्डेको भनाइ छ।

यातायातको सहज पहुँच भएकै कारण जिल्लाका गाउँगाउँमा चामल ढुवानी कार्य भएकाले कम्पनीको चामल बिक्न समस्य भएको छ। बजारमा चामल उद्यारोमा पाइने तर कम्पनीको चामल उधारोमा नपाइने भएका कारण अर्को समस्या देखिएको हो।

कम्पनीका डिपो टाढा रहेकाले गाउँमै ढुवानीको पहुँच बढेसँगै स्थानीय बजारमा पाइने चामल बिक्रीदर बढेको छ। कम्पनीबाट घरसम्म चामलको ढुवानी खर्चलाई जोड्दा सोही दर, रेट पर्ने हुँदा स्थानीयवासी घर नजिकैको पसलमा खरिद गर्न बाध्य भएको मुड्केचुला गाउँपालिका–७ का नर्कुका प्रेम शाहीले जानकारी दिए।

सर्मी डिपोमा अहिले ३०० क्विन्टल चामल मौजदात रहेको छ। त्यस्तै काइगाउँ एक हजार ४०० क्विन्टल चामल बिक्री नभएका कारण मौजदात रहेको छ। जुफाल डिपोमा समेत चामल स्टक रहेको छ। तल्लो तथा मध्य डोल्पामा रहेका लिकु, काइगाउँ, जुफाल र दुनै डिपोमा चामल कम बिक्री हुँदा अघिल्लो वर्षकै मौजदात रहेको छ।  

उपल्लो डोल्पामा चामल छैन
स्थानीय जमिनमा कम उत्पादन हुने र चिसो मौसममा हिमपातका कारण कष्टकर जीवन बिताउन बाध्य उपल्लो डोल्पामा रहेका कम्पनीको बिक्री केन्द्रमा एक गेडा चामल नभएको पाइएको छ।

काइके गाउँपालिकाको शहरतारा बिक्री केन्द्र एक हजार ८०० क्विन्टल चामल पठाइको भए पनि सबै बिक्री भएको छ। त्यस्तै बुद्धडोल्पो गाउँपालिकाको तेञ्जे बिक्री केन्द्रमा चार हजार ५०० क्विन्टल चामल पठाएकामा सबै बिक्री भइसकेको छ। अहिले उपल्लो डोल्पामा गेडा चामल नभएको कम्पनीको डोल्पा कार्यालयले जानकारी दिएको छ। चीन हुँदै उपल्लो डोल्पामा चामल ढुवानी गर्नुपर्ने भएकाले यहाँ ढुवानी गर्न चुनौती रहँदै आएको छ। चीन सरकारबाट रुटको अनुमति मागेर काठमाडौँबाट तातोपानी हुँदै उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्नुपर्दछ।

हवाइमार्गबाट खाद्यान्न ढुवानी गर्दा महङ्गो पर्ने भएकाले उपल्लो डोल्पामा खाद्यान्न ढुवानी कार्य अवरुद्ध हुँदै आएको छ। हिमपातका कारण अहिले जाने बाटो अवरुद्ध हुँदा जेठ महिना मात्र खाद्यान्न पठाउन सकिने संस्थानको भनाइ छ।

उपल्लो डोल्पाका हुनेखानेले अहिले हिमपातको समयमा तलतिर झर्ने गर्दछन्। गरिब तथा अर्थाभाव हुने स्थानीयवासी उपल्लो भेगमै बस्ने गरेको डोल्पाका पत्रकार विष्णुलाल बुढाले जानकारी दिए। केही स्थानीय जम्बुको, सिमीलगायतका वस्तु लिएर व्यापार गर्न काठमाडौँसम्म पुग्ने गर्दछन्।

 

प्रकाशित: २५ माघ २०७६ १०:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App