५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

तीनबुँदे माग राखेर स्थानीयले पारे काम ठप्प

रसुवा - रसुवाको उत्तरगया गाउँपालिका–१, मैलुङमा निर्माणाधीन माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको काम ठप्प भएको छ। प्रभावित क्षेत्रका बासिन्दाले तीनबुँदे माग राखी आयोजनाको काम ठप्प पारेका हुन्। आयोजनाले प्रयोग गरेको जग्गाको उचित मुआब्जा पाउनुपर्ने, आयोजनासँग मिलेर जथाभावी डोजर प्रयोग गर्न अनुमति दिने जनप्रतिनिधिलाई कारबाही गर्नुपर्ने र अहिले भएको ठेक्का खारेज गरेर स्थानीयलाई रोजगारी सिर्जना गर्नुपर्ने उनीहरूको माग छ।

आयोजनासँग पटकपटक वार्ता गर्न खोजिए पनि सफल नभएपछि आयोजनाको काम पूर्ण रूपमा ठप्प पारिएको स्थानीय छेकु लामाले बताए। ‘सडक निर्माणका लागि स्वीकृत भएको जग्गामा सडक निर्माण नगरी अर्कै स्थान प्रयोग गरिएको छ,’ उनले भने, ‘यसले १८ परिवारलाई प्रत्यक्ष असर पुगेको छ।’ निजी जग्गामा डोजर चलाउँदा जग्गाधनीसँग नसोधेको कारण यो समस्या सिर्जना भएको उनको भनाइ छ। बिहीबारदेखि आयोजनाको काम बन्द गराएको भए पनि शुक्रबार ब्लास्टिङको काम गरेको थाहा पाएपछि स्थानीयले आइतबार वडा कार्यालय बन्द गर्ने चेतावनी दिएका छन्।

आयोजनाको निर्माणस्थलमा सडकमा सवारी साधन सञ्चालन हुन नदिने उनको भनाइ छ। त्रिशुली खोला र मैलुङ खोलाको दोभानदेखि रहरेखर्कसम्म सडक निर्माण भइरहेकोे छ। आयोजनाले दिएको जानकारी अनुसार एक हजार आठ सय ५५ मिटर मुुख्य सुरुङ निर्माण हुनेछ। एक हजार मिटर पेनस्टक निर्माण हुने आयोजनाले जानकारी दिएको छ। सिभिलतर्फको काम २०७७ असारभित्र सम्पन्न हुने बताइए पनि हालसम्म संरचना निर्माण कार्य अघि बढ्न सकेको छैन। १४.३ मेगावट क्षमताको आयोजनाले २०७८ असारमा विद्युत् उत्पादन सुरु गर्नेछ। उत्पादन भएको विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको थ्री बी हवमा जोडिनेछ।

त्यहाँसम्म आयोजना आफैंले प्रसारण लाइन निर्माण गर्नुपर्ने हुन्छ। थ्रिबी हबसम्म आयोजनाले करिव १५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नुपर्छ। निर्माण पूरा भएपछि आयोजनाले वार्षिक रूपमा सात करोड ९६ लाख ७० हजार चार सय ८३ किलोवाट घण्टा विद्युत् उत्पादन गर्नेछ। २५ प्रतिशत स्वपुँजी लगानी हुने छ। सानिमा हाइड्रो समूहको मुख्य लगानीमा आयोजना निर्माण हुन लागेको हो। यो आयोजना निर्माणका लागि करिब दुई अर्ब ५० करोड लाख लाग्ने आयोजनाले जनाएको छ। आयोजना निर्माणका लागि २०६८ भदौ २३ गते पिपिए भएको थियो। मोनलिया पावर लिमिटेडले निर्माणको जिम्मा लिएको थियो। यो कम्पनीले पछि सानिमा हाइड्रो समूहलाई नामसारी गरेको हो।

२०७२ साउन १ गते निर्माण सम्पन्न गर्ने गरी मोनलियाले प्रक्रिया अघि बढाएको थियो। तोकिएको समयमा निर्माण कार्य सुरु नभएपछि सानिमाले निर्माण गर्न लागेको हो। आयोजना निर्माणका लागि सिद्धार्थ बैंक लिमिटेडको अगुवाइमा नेपाल एसबिआई बैंकले ऋण लगानी गरेको छ।

प्रकाशित: २८ पुस २०७६ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App