२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भृकुटीमण्डपका व्यवसायी भन्छन्ः कतिन्जेल छाप्रोमा?

काठमाडौं– भृकुटीमण्डप वरपरको छाप्रोमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले व्यवस्थित टहरो निर्माण गर्न माग गरेका छन्।

त्रिपालको छाप्रोमा वषौंदेखि व्यवसाय गर्दै आएका व्यवसायीहरुले ‘सेमी पर्मानेन्ट’ टहरो निर्माण गर्न माग गरेका हुन्।  
२७ वर्ष देखि व्यवसायीहरु त्रिपालको छाप्रोमा व्यवसाय गर्दै आएका छन्। तर सम्बन्धित निकायले ध्यान नदिदाँ करोडौंको लगानी जोखिममा भएको व्यवसायीहरुको गुनासो छ।

‘त्रिपालको छाप्रोबाट २ हजार जना प्रत्यक्ष स्वरोजगार भएका छन्’, काठमाडौं निम्न व्यापारी संघका अध्यक्ष लक्ष्मी ओलीले भने, ‘छाप्रोमा व्यवसाय गर्दा हुरी, बतास तथा पानीले निकै समस्या हुने गरेको छ।’ उनले जस्तापाता प्रयोग गरेर टहरो निर्माण गर्न माग समेत गरे। 

उक्त जग्गा महिला वालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत समाज कल्याण परिषद् मातहतमा रहेको छ। जाइकाले २०४८ सालमा भृकुटीमण्डको विस्तृत योजना तयार पार्दा अहिले टहरो रहेको स्थान समावेश भएको थिएन। त्यतीबेला देखि नै खाली रहेको उक्त स्थानबाट समाजकल्याण परिषद्ले लाखौं राजस्व समेत संकलन गर्दै आएको छ। 

उक्त टहरोबाट समाज कल्याण परिषदले प्रति फिट स्कायर १५ रुपैयाँ भाडा लिदैं आएको छ। व्यवसायी र परिषदबीच प्रत्येक तीन–तीन वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने सहमती पनि भएको छ। 

‘हामीले मासिक ६ लाख रुपैयाँ भाडा तिर्दै आएका छौं’ अध्यक्ष ओेलीले भने, ‘हिजोको जस्तो अस्थिर राजनीति छैन, अब भृकुटीमण्डपको व्यवसाय पनि व्यवस्थित पार्नुपर्छ।’ उनले व्यवसायीको समस्याको विषयमा महिला वालबालिका तथा जेष्ठ नागरिक मन्त्रीसंग पनि छलफल गरिएको जानकारी दिए।  

जवाफमा मन्त्री पार्वत गुरुङले भृकुटीमण्डपका व्यवसायलाई व्यवस्थित गरिने प्रतिवद्धता व्यक्त गरे। उनले भृकुटीमण्डपको स्तर उन्नती गर्न छुट्टै गुरुयोजना ल्याउन लागेको भन्दै त्यसमा छाप्रा व्यवसाय रहेको स्थान पनि समेट्ने जानकारी दिए।

‘हजारौं स्वरोजगार भएको स्थानबाट हामी व्यवसयीलाई हटाउने पक्षमा छैनौं’ मन्त्री गुरुङले भने,‘भृकुटीमण्डपका व्यवसायीसंग पनि छलफल गरेर नयाँ गुरु योजना सार्वजनिक गर्नेछौं।’

प्रकाशित: ३ पुस २०७६ ०९:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App