८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

रसुवा घुम्न आउने ७२ प्रतिशत नेपाली

रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ जाँदै गरेका स्वदेशी पर्यटक। तस्बिर : हिमनाथ/नागरिक

रसुवा – पर्यटकीय सिजन सुरु भएसँगै रसुवामा पर्यटकको आवागमन बढेको छ। जिल्लाको पर्यटकीय क्षेत्रमा सञ्चालित होटल भरिन थालेका छन्। यद्यपि पर्यटनको मुख्य सिजनमा विदेशी पर्यटकको आगमन भने न्यून छ।

चालु आर्थिक वर्षको तीन महिनामा नौ हजारभन्दा बढी पर्यटक रसुवा भित्रिएका छन्। जिल्लाको पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकनका लागि नेपाली, सार्क तथा अन्य देशका पर्यटक रसुवा आएका हुन्।

तीन महिनामा नौ हजार एक सय १४ पर्यटक रसुवा आएका लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ। जसमा ७२.४१ प्रतिशत अर्थात ६ हजार ६ सय नेपाली छन्। दुई हजार चार सय ७१ विदेशी र ४३ जना सार्क राष्ट्रका पर्यटक रहेको निकुञ्जको तथ्यांक छ।

साउन महिनामा पाँच हजार चार सय ९० नेपाली, दुई सय १२ विदेशी र तीन जना सार्क राष्ट्रका पर्यटक आएका थिए। त्यस्तै भदौमा एक सय ५७ नेपाली, तीन सय ८३ विदेशी र एक जना सार्क राष्ट्रका पर्यटक आएकामा असोजमा नौ सय १३ नेपाली, एक हजार आठ सय ७६ विदेशी र ३९ सार्क राष्ट्रका पर्यटक रसुवा घुम्न आएको कार्यालयले जनाएको छ।

आर्थिक वर्ष ०७२/७३ को तीन महिनामा ६ सय १०, आर्थिक वर्ष ०७३/७४ को तीन महिनामा एक हजार तीन सय १८ र आव ०७४/७५ को तीन महिनामा दुई हजार दुई सय ४१ आएका थिए।

निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन्। साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटक आउँछन्।

असोज १५ गतेदेखि कात्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन्। जिल्लाको पर्यटकीय क्षेत्रमा बाह्रै महिना पर्यटक आउने गरेका छन्। तर तीन महिना पर्यटनका लागि उपयुक्त मौसम नहुने भएकाले कम हुने गरेको निकुञ्जले जनाएको छ।

स्वदेशी पर्यटक नभए रसुवा मात्र नभइ अन्य पर्यटकीय जिल्लाको पर्यटन तथा होटल व्यवसाय धरासायी हुने अवस्था आएको होटल तथा पर्यटन व्यवसायी संघ रसुवाका महासचिव निशान गजुरेलले बताए। ‘मुख्य सिजनमा विदेशी पर्यटकको आवागमन घटेको छ,’ उनले भने, ‘आएका पर्यटकले पनि खाने कुरा बाहिरबाट किनेर ल्याउँछन्।’ होटलमा खानेले पनि चिया र पाउरोटी मात्रै खाने गरेको उनको भनाइ छ।

मुख्य सिजनमा आएका विदेशी पर्यटकले गर्ने खर्चले घरभाडा तिर्न सकस हुने व्यवसायी बताउँछन्। इजरायल, फ्रान्स, क्यानडा, जापान, इटली, अमेरिका, थाइल्यान्ड, बेलायत, कोरिया, रसिया, स्पेन, उरुग्वे, कोरिया, सिंगापुर लगायत देशका पर्यटक आउने गरेका छन्। लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ पुग्छन्।

निकुञ्ज क्षेत्रमा आएपछि लाङटाङलगायत एक दर्जन हिमशृंखला, गोसाइँकुण्डलगायत विभिन्न कुण्ड, ऐतिहासिक स्थल रसुवागढी पर्छ भने विश्वको दुर्लभ रेडपाण्डा, हिमचितुवा लगायत जनावर पनि देख्न सकिन्छ।

प्रकाशित: २० कार्तिक २०७६ ०२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App