२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

स्वास्थ्य परीक्षण गर्ने संस्थासँग आवेदन माग

काठमाडौं – मलेसियाले रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थालाई आफ्नो प्रणालीमा जडान गर्न आवेदन माग गरेको छ।

मलेसियाद्वारा माग गरिएको आवेदमा यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छनोट गरेका एक सय २२ स्वास्थ्य संस्थामध्ये ८६ वटाले आवेदन गर्न पाउनेछन्। मलेसियाले तोकेको मापदण्ड अनुसार ती संस्थाले आवेदन दिएमा आवश्यक निरीक्षणका लागि मलेसियन टोली नेपाल आउने छ।

२०७५ कात्तिक १२ मा मलेसिया र नेपालबीच भएको एमओयूमा स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको पहिलो चरणको छनोट नेपालले गर्ने र अन्तिम छनोट मलेसियाले गर्ने उल्लेख छ। मन्त्रालयले एक सय २२ संस्था स्वास्थ्य परीक्षणका लागि योग्य रहेको भन्दै छनोट गरेको थियो।

विभिन्न १४ स्रोत मुलुकबाट मलेसिया कामदार जाँदा स्वास्थ्य परीक्षण गर्ने जिम्मा पाएको बेस्टिनेट एसडिएन बिएचडीले मलेसियाको अध्यागमन विभागसँग सम्बन्धित आफ्नो वेबसाइटमार्फत आवेदन माग गरेको हो। मलेसियाले मापदण्ड पूरा गरेका संस्थालाई आवेदन दिन एक महिनाको समय दिएको छ।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण ३६ वटा संस्थाले गर्दै आए पनि अन्य गन्तव्य मुलुकका लागि स्वास्थ्य परीक्षण गर्ने संस्थाको संख्या अत्यन्तै न्यून छ।

आवेदन दिन इच्छुक संस्थाले पूरा गर्नुपर्ने प्रक्रियासमेत सूचनामा उल्लेख छ। नेपाल र मलेसियाबीच भएको श्रम समझदारी (एमओयू) अनुसार आवेदन खुला गरिएको हो। नेपाल सरकारले सिफारिस गरेका एक सय २२ संस्थामध्ये ३६ वटा संस्था चार वर्षअघि नै निरीक्षण पास गरी बायोमेडिकल स्वास्थ्य परीक्षण गर्दै आएका छन्। त्यसैले अब ती ३६ संस्था नयाँ प्रक्रियामा सहभागी हुने छैनन्।

मलेसियाले मागेको आवेदनमा बायोमेडिकल गर्न इच्छुक संस्थाले विस्तृत प्रोफाइल, संस्थाका सञ्चालकको नाम, ठेगाना, कम्पनी रजिस्ट्रार कार्यालयबाट पाएको संस्था सञ्चालन अनुमति प्रमाणपत्र, संस्थाको सांगठानिक संरचनाका साथै काठमाडौंस्थित मलेसियन दूतावासबाट सिफारिस पत्र पेस गर्नु पर्नेछ। त्यस्तै स्वास्थ्य संस्थाले स्वास्थ्य मन्त्रालय मातहत रहेका विभिन्न निकायबाट पाएका अनुमति पत्रसहित मलेसियाले मागेको विभिन्न १० आवश्यक कागजात संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ।

पहिलोपटक २०७० मा मलेसियाले नेपालमा बायोमेट्रिक सुरु गर्दा सरकारबाट सूचीकृत एक सय ६० संस्थामध्ये ३९ लाई छनोट गरेको थियो। छनोटमा परेकामध्ये गुणस्तरमा ध्यान नदिई काम गरेका तीन संस्थालाई मलेसियाले स्वास्थ्य परीक्षणको सूचीबाट हटाएको थियो।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने काम हाल ३६ वटा संस्थाले गर्दै आइरहेको भए पनि अन्य गन्तव्य मुलुकमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाको संख्या न्यून छ। कतार जाने कामदारको स्वास्थ्य परीक्षण एउटै संस्था (कतार भिसा सेन्टर) बाट हुँदै आइरहेको छ।

त्यस्तै साउदी अरेबिया, ओमान तथा बहराइन जाने कामदारको स्वास्थ्य परीक्षण गाम्का नेपाल अन्तर्गतका १२ वटा स्वास्थ्य संस्थाले गर्दै आइरहेका छन्। 

मलेसियाले स्वास्थ्य परीक्षणलाई गुणस्तरीय बनाउने भन्दै नेपाललगायत भारत, इन्डोनेसिया, फिलिपिन्स जस्ता स्रोत मुलुकबाट कामदारको स्वास्थ्य परीक्षण बायोमेडिकल विधिबाट गर्छ। बायोमेडिकल स्वास्थ्य परीक्षणमा सफल भएका कामदारको स्वास्थ्य परीक्षण रिपोर्ट मलेसियाको अध्यागमन विभागमा पुगेपछि मात्र कामदारको कलिङ भिसा आउँछ। सोही कलिङ भिसाको आधारमा काठमाडौंस्थित मलेसियाली राजदूतावासले भिसा दिने गर्छ। 

श्रम स्वीकृति लिएर गएका आधारमा मलेसिया नेपालको सबभन्दा ठूलो गन्तव्य हो। वैदेशिक रोजगार विभागका अनुसार हालसम्म मलेसियाको रोजगारीमा जान करिब ११ लाखले श्रम स्वीकृति लिएका छन्। नेपालको हावापानीसँग मिल्दोजुल्दो तथा खुला वातावरण भएका कारण नेपाली युवाले मलेसियालाई मन पराएको बताइन्छ।

प्रकाशित: २० कार्तिक २०७६ ०१:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App