२५ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

चोत्र गाउँको होमस्टेमा उल्लेख्य पर्यटक

जुम्ला– जुम्ला गुठीचौर गाउँपालिका वडा नं १ चोत्र गाउँमा १५ घरधुरीबाट शुरु भएको घरबास (होमस्टे)मा अहिले आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका छन्। गुणस्तरीय सेवा र आतिथ्य सत्कारका फरक शैलीका कारण पर्यटकको संख्या वृद्धि हुँदै गएको हो। 

गुठीचौर गाउँपालिकाको सहजीकरणमा घरबास स्थापना गरिएको हो। पन्ध्र घरधुरीबाट शुरु भएको घरबास अहिले  गाउँका ५५ घरमा विस्तार गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले जानकारी दिए।

जाजरकोट र डोल्पा जिल्लाको नजिकै पर्ने चोत्र र गडीगाउँलाई पर्यटन क्षेत्रका रुपमा विकास गरिने लक्ष्य रहेको उनको भनाई थियो। विशेष गरी हिउँदको समयमा बढी पर्यटक भित्रिने गरेका छन्।

स्वच्छ वातावरण, खानेपानी, शौचालय, बिजुली बत्तीलगायत सुविधाको व्यवस्था गरिएकाले पर्यटक घरबासमा आकर्षित भएको चोत्र गाउँका हिमा आगम्मु बुढाको भनाई छ। घरबास सञ्चालन भएका घरमा पाँचदेखि १० जनासम्म पर्यटक बस्न सक्ने क्षमता रहेको उनले जानकारी दिए।

‘घरबासलाई अझै व्यावसायिक बनाउने सोच बनाएका छौँ’, उनले भने, ‘आउँदा दिनमा अझै सुविधा सम्पन्न बनाउने प्रयत्नमा छौँ।’

प्राङ्गारिक खाना आलु, मकै, मूला, कोदोको ढिँडो, सिस्नो, स्थानीय कुखुरा तथा स्थानीय परिकारमा पर्यटक रमाउने गरेका छन्। घरबास सञ्चालन गरेपछि उनीहरुले मनग्य आम्दानी समेत गर्न थालेका छन्। 

गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले घरवास सञ्चालन पछि गाउँको कला, संस्कृति र मौलिकतासँगै पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा राखेको बताएका छन्। ‘पदयात्रामा आएका स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर ग्रामीण तहमा घरबास सञ्चालन गरिएको हो’, उनले भने। 

पदयात्राका लागि पदमार्ग  धेरै भएकाले यस क्षेत्रमा बसोबासका लागि सहज हुने अपेक्षाका साथ घरबासको अवधारणा स्थानीय सरकारले ल्याएको अध्यक्ष भण्डारीले जानकारी दिए।

‘ग्रामीण तहमा घरबास सञ्चालनले स्थानीय स्रोत र साधनको परिचालन, स्थानीय कृषिको प्रवर्द्रधनसँगै स्थानीयवासीको आर्थिक अवस्थामा  सुधार भएको छ’ उनले भने, ‘यसले स्थानीय कला, संस्कृति र जीवन पद्धतिसमेत संरक्षण हुने छ।’

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने तयारी गरिरहेको अवस्थामा स्थानीय तहमा निजी र सामुदायिक घरबास बनाउनेको सङ्ख्या बढेको छ । रासस

प्रकाशित: ५ आश्विन २०७६ ०८:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App