३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

चक्रपथमा बुधबारदेखि बिजुली बस गुड्ने

काठमाडौं – सुन्दर यातायात प्रालिका बिजुली बस बुधबारदेखि काठमाडौं उपत्यकाको चक्रपथमा गुड्ने भएका छन्। प्रालिले ल्याएका विद्युतीय बस सेवाको सोमबार उद्घाटन गरिएको छ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल अविष्कार केन्द्रका संस्थापक महावीर पुन, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले उद्घाटन गरेका हुन्।

कम्पनीले सोमबार उद्घाटन गरेका बिजुली बस बुधबारदेखि उपत्यकाको चक्रपथमा गुडाइने जनाएको छ। प्रालिका अध्यक्ष थापाले सोमबार उद्घाटन भएको दुईवटा विद्युतीय बस बुधबारदेखि चक्रपथमा चल्ने बताए।

‘यातायात व्यवस्था विभागबाट नम्बर प्लेटलगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरेर बुधबारदेखि सञ्चालनमा ल्याउनेछौं,’ प्रालिले प्रतिबस एक करोड ६२ लाख रुपैयाँ खर्चेर दुईवटा विद्युतीय बस भिœयाएको हो। प्रालिले ल्याएको एउटा विद्युतीय बस एउटा ३५ सिटे र अर्काे ४० सिटे छ।

थापाले वायु प्रदूषण र ध्वनि प्रदूषणबाट आक्रान्त सर्वसाधारणलाई बिजुली बसले केही हदसम्म भए पनि राहत दिने दाबी गरे। ‘पेट्रोलियम पदार्थबाट चल्ने सवारीको तुलनामा बिजुलीबाट चल्ने सवारी साधन निकै उपयोगी हुनेछ,’ उनले भने, ‘विद्युतीय गाडीले वातावरणीय प्रदूषणमा समेत नियन्त्रण गर्नेछ।’

कम्पनीले एक साताभित्रै थप पाँचवटा विद्युतीय बस आइपुग्ने जनाएको छ। उक्त बस दुई घन्टा चार्ज गरेपछि करिब दुई सय ६५ किलोमिटर गुड्ने कम्पनीको दाबी छ। कम्पनीले भाडा स्मार्ट कार्डबाट भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको छ। अध्यक्ष थापाले सरकारले तोकेको भाडाभन्दा २० प्रतिशत कम हुने गरी भाडादर तोकिएको जानकारी दिए।

सुन्दर यातायातले थप ११ वटा बस चीनबाट झिकाउने योजना बनाएको छ। सञ्चालक  थापाले प्रदेश ५ को राजधानी बुटवल र प्रदेश १ को विराटनगरमा पनि यस्तै बस चलाउन समझदारी भएको जानकारी दिए। काठमाडौंमा एक दशक अघिसम्म बिजुलीबाट ट्रली बस चल्थ्यो।

२०३२ सालमा त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्म ट्रली बस सञ्चालनमा ल्याइएको थियो। २०४७ सालपछि यसको सञ्चालनमा समस्या देखियो। २०४७ सालपछि क्रमशः ट्रली बस कम्पनी धराशयी हुँदै बन्द भएको थियो। त्योसँगै पेट्रोलियम पदार्थबाट चल्ने सवारीले ट्रली बसलाई विस्थापन गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक ६ गते पाँचवटा विद्युतीय बसको शुभारम्भ गरे पनि प्राविधिक समस्या देखिएको भन्दै उक्त बस गुडाउन रोक लगाइएको छ।

प्रकाशित: २४ भाद्र २०७६ ०२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App