४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

व्यवसायीले इमानदारी देखाए साथ दिन्छु : खतिवडा

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले निजी क्षेत्रका व्यापारी व्यवसायीले इमानदारी देखाए सरकारले साथ दिने बताएका छन्। मंगलबारदेखि राजधानीमा सुरु भएको नाडा अटो सो २०१९ को उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा अर्थमन्त्री खतिवडाले विद्युतीय सवारी साधन आयातका नाममा व्यवसायीले ठग्न खोजेको गुनासो गरे।

विद्युतीय गाडी आयातमा सरकारले भन्सार र अन्तः शुल्कको निश्चित प्रतिशत छुट दिएको मौका छोपेर केही व्यापारीले ब्याट्रीबाट स्टार्ट मात्र हुने तर गुड्नलाई तेल नै चाहिने साधन आयात गरी ठग्न खोजेको अर्थमन्त्री खतिवडाले बताए।

१० प्रतिशत पनि मूल्य अभिवृद्धि नहुने सामान ल्याएर उत्पादन गर्ने अनि सरकारले दुई सय ८० प्रतिशत राजस्व गुमाउनुपर्ने अवस्था स्वीकार्य नहुने पनि उनले बताए।

सरकारले घाटाको व्यापार गर्न नसक्ने भन्दै अर्थमन्त्री खतिवडाले राजस्व र भन्सार क्षेत्रमा कर छली नगर्न व्यवसायीलाई आग्रह गरे।

व्यापारीले गाडीमा प्रयोग हुने स्पेयर पार्टस पनि नक्कली आयात गरेर बेइमानी गरेको उनको भनाइ थियो। व्यापारी इमान्दार भए सरकारले सधैं साथ दिने उनले प्रस्ट पारे। सरकारको पहिलो प्राथमिकतामा सार्वजनिक र विद्युतीय सवारी रहेको जनाउँदै खतिवडाले पछिल्लो १० वर्षमा सवारी साधनको आयात चार गुणाभन्दा धेरै बढेको जानकारी दिए।

व्यवसायीले करको दायरा बढाएकोमा आपत्ति जनाएको भन्दै उनले देशभित्रै एसेम्बलिङ प्लान्टको निर्माण गर्न आग्रह गरे। सरकारले पनि एसेम्बली इन्डस्ट्रीलाई प्राथमिकता दिइरहेको बताउँदै विद्युतीय सवारी एसेम्बलिङ उद्योगमा २५ प्रतिशतसम्म छुट रहने जानकारी गराए।

‘केहीले अन्तः शुल्क बढाएको भन्दै सरकारको आलोचना गरिरहेका छन् त्यो राज्यले थेग्न नसक्ने अवस्था आएपछि चालेको कदम हो,’ उनले भने, ‘आवश्यकताकै आधारमा सवारी बढ्दै गएको छ। अधिकतम भन्सार शुल्क ८० प्रतिशतभन्दा बढी लगाउँदैनौं।’

व्यवसायीले करको दायरा बढाएकोमा आपत्ति जनाएको भन्दै उनले देशभित्रै एसेम्बलिङ प्लान्टको निर्माण गर्न आग्रह गरे। सरकारले पनि एसेम्बली इन्डस्ट्रीलाई प्राथमिकता दिइरहेको बताउँदै विद्युतीय सवारी एसेम्बलिङ उद्योगमा २५ प्रतिशतसम्म छुट रहने जानकारी गराए।

‘मुलुकको स्वस्थ विकास र औद्योगीकरणका लागि सवारी साधनको उत्तिकै महत्व छ,’ उनले भने, ‘सरकारले सडकको पूर्वाधार र सडक सुरक्षालाई ध्यान दिएको छ। विभिन्न मन्त्रालयसँगको समन्वयमा सडक सुविधासम्पन्न बनाउन सडक दस्तुरबाट उठेको कर सडककै मर्मत खर्च गरिने छ।’

सहरी सडकको मापदण्डलाई व्यवस्थित बनाउने कार्यमा सरकार गम्भीर रहेको भन्दै उनले भौतिक पूर्वाधारको बजेटलाई विकासमैत्री रुपमा प्रयोग गरिने बताए।

देशमा लगानीको वातावरण बन्दै गएको खतिवडाको भनाइ छ। गत वर्षको तुलनामा यो वर्ष व्यावसायिक वातावरण बन्दा दोब्बर कम्पनी दर्ता भएको उनले जनाए। मुलुकको आर्थिक वृद्धिदर सात प्रतिशत रहेको र आयातको दर २४ प्रतिशतबाट १४ प्रतिशतमा झार्न सरकार सफल भएको पनि उनको भनाइ छ। देशमा लगानीमैत्री वातावरणको विकास भइरहेको जनाउँदै निजी क्षेत्रको सहयोग सरकारलाई आवश्यक पर्नेमा उनले जोड दिए। मुलुकसँग लगानीको माग रहेको तर त्यसलाई व्यवस्थित गराउन तरलताको अभाव रहेको उनको भनाइ छ।

प्रकाशित: ११ भाद्र २०७६ ०२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App