४ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

सरकारको प्राथमिकतामा परेपछि स्थानीय उत्साहित

सिन्धुलीको गोलञ्जोर गाउँपालिका र सुनकोसी गाउँपालिकाको सिमानामा देखिएको सुनकोसी नदीस्थित सुनकोसी मरिण डाइभर्सन गर्ने भनिएको स्थान। तस्बिर: नागरिक

सिन्धुली - सुनकोसी मरिन डाइभर्सनलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्दै बजेट विनियोजन भएपछि स्थानीयमा उत्साह छाएको छ। लामो समयदेखि भाषण र चर्चामा रहेको सुनकोसी मरिन डाइभर्सन बन्ने निश्चित भएसँगै स्थानीयमा हौसला बढेको छ।

‘अब यो आयोजना बन्छ भन्नेमा हामी विश्वस्त भएका छौं, केही दिन अघिमात्रै हाम्रै बस्तीमा सर्वेक्षण गरेर गएका थिए,’ कमलामाई नगरपालिका–२ कुसुमटारका स्थानीय समर विकले भने, ‘बजेट भाषणमै प्राथमिकताको योजनाभित्र परेकाले यो योजना बन्नेमा अब पूर्ण विश्वस्त छौं।’ आयोजनाका कारण बस्ती नै छाडेर अन्यन्त्र सर्नुपर्ने अवस्था आए पनि गौरवको आयोजना बन्न लागेकाले खुसी लागेको उनको भनाइ छ।

‘देशलाई नै फाइदा हुने आयोजना बन्न लागेकाले हामी खुसी छौ,’ उनले भने, ‘हामीले आयोजनाका लागि बस्ती छाड्दै गर्दा यस्तै ठाउँमा जग्गा किनेर घर बनाउन सक्ने हैसियत आयोजनाले बनाइदिनुपर्छ।’ सोही अनुसार क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ। भद्रकालीस्थित कुसुमटारका तिर्थ थिङ पनि आयोजना बन्नेमा अब विश्वास लागेको बताउँछन्। ‘केही दिन अघिमात्रै आयोजनाभित्र पर्ने घरजग्गाको सर्भे गरेका थिए, त्यसको केही दिनमै सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको छ, अब आयोजनाको काम अगाडि बढ्ने निश्चित छ,’ उनले भने।

केही दिनअघि अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा सुनकोसी मरिन डाइभर्सन आयोजना सरकारको प्राथमिकताको आयोजना घोषणा गरेपछि स्थानीय हर्षित भएका हुन्। गत जेठ १५ गते आर्थिक वर्ष ०७६÷७७ को बजेट प्रस्तुत गर्ने क्रमममा अर्थमन्त्री खतिवडाले सुनकोसी–मरिन डाइभर्सनको काम आगामी वर्षबाट सुरु गर्न दुई अर्ब पाँच करोड बजेट विनियोजन गरेको जानकारी गराएपछि स्थानीय आयोजना बन्नेमा ढुक्क हुनुका साथै उत्साहित भएका हुन्। सुनकोसी गाउँपालिका–६ स्थित सुनकोसी नदीको पानीलाई सुरुङमार्फत मरिण खोलामा खसाल्ने आयोजनाको लक्ष्य छ। आयोजनाबाट सुनकोसीको ६७ क्युमेक्स पानी मरिणमा खसाल्ने योजना बनेको छ।

उक्त आयोजनाबाट साढे २७ मेगावाट बिजुलीसमेत उत्पादन गर्ने सुनकोसी मरिण डाइभर्सन आयोजनाका इन्जिनियर दिलिप विश्वकर्माले जानकारी दिए। विद्युत् आयोजनाको पावर हाउस भने कमलामाई नगरपालिका–२ को कुसुमटार फाँटमा रहने बताइएको छ। तराईका विभिन्न जिल्लालाई सिँचाइ सुविधा पु¥याउन सरकारले यो आयोजनालाई अगाडि बढाएको हो। तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको कुल एक लाख २२ हजार हेक्टरमा सिँचाइ पु¥याउने यो आयोजनाको उद्देश्य रहेको छ।

सुनकोसीको पानी डाइभर्सनपछि मरिण नदीमा मिसाउन कमलामाई नगरपालिका–२ कुुसुमटार फाँटमै खसालिने छ। उक्त फाटबाट मरिण नदी हुँदै ४२ किलोमिटर दूरीमा रहेको बागमती बाँधमा पानी पु¥याइ सिँचाइ सुविधा बढाउने लक्ष्य सरकारको छ। हाल बागमती आयोजनाबाट सर्लाही र रौतहटका ४२ हजार हेक्टर जमिनमा मात्र सिँचाइ हुँदै आएको छ भने सुनकोसी–मरिन–डाइभर्सनपछि थप ८० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने देखिएको छ।
१५ दिनभित्र डिपिआर तयार

सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको सुनकोसी–मरिण डाइभर्सन आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने कार्य अन्तिम चरणमा पुगेको छ। केही वर्र्ष पहिलेदेखि सुरु भएको डिपिआर तयार पार्ने कार्य अबको १५ दिनभित्र पूर्ण रुपमा सकिने आयोजनाले जनाएको छ। ‘डिपिआर सकिनेबित्तिकै विज्ञलाई राखेर छलफल हुनेछ,’ आयोजनाका इन्जिनियर दिलिप विकले भने, ‘त्यसपछि टेन्डर प्रक्रिया अगाडि बढाइनेछ।’

करिब ४६ अर्ब रुपैयाँ लागतमा आयोजना निर्माण हुने आयोजनाले जनाएको छ। आयोजनाका इन्जिनियर विकका अनुसार डिपिआर निर्माणपछि रिभ्यू छलफल गरिने र कात्तिकसम्म टेन्डर आह्वान गरिनेछ। विकका अनुसार ४३ मेगावाट विद्युत् उत्पादनसहितको डिपिआर तयार गरिएको भए पनि सुनकोसी–कमला डाइभर्सनलाई समेत पानी दिनुपर्ने भएकोले विद्युत् उत्पादन घटेर साढे २७ मेगावाट मात्र हुने भएको हो।   ‘टिबिएम (टनेल बोरिङ मेसिन) कस्तो गर्ने, त्यसको स्टिमेट गर्न बाँकी नै छ, त्यो डिपिआरभन्दा भिन्न हो,’ उनले भने।

सुनकोसी गाउँपालिका–६ स्थित सुनकोसी नदीमा बाँध बाधेर १३.८ किलोमिटर लामो सुरुङमार्फत मरिणखोलामा पानी खसालिने छ। त्यहाँ ६६ मिटर हेडबाट पानी झारेर साढे २७ मेगावाट विद्युत् उत्पादन गर्ने गरी डिपिआर निर्माणको काम अन्तिम चरणमा पुगेको छ। ‘कात्तिकभित्र टेन्डर आह्वान हुन्छ, त्यसपछि आठ महिना विभिन्न प्रक्रिया मिलाउन लाग्छ, त्यसपछि मात्रै काम सुरु हुन्छ,’ इन्जिनियर विकले भने।

विपी राजमार्गमा क्षति
सुनकोसी मरिण डाइभर्सन आयोजना निर्माण गर्दा विपी राजमार्गमा क्षति हुने देखिएको छ। राजमार्गको केही भाग डुबानमा पर्ने देखिएको हो। सुनकोसीको पानी डाइभर्ट गर्ने क्रममा सुनकोसीमा पानीको सतह १४ मिटरसम्म माथि उठ्न सक्ने भएकाले विपी राजमार्गको केही भागमा डुबान हुने आयोजनाले जनाएको छ। आयोजनाका इन्जिनियर विकका अनुसार तीन सय मिटर विपी राजमार्ग अन्यन्त्र सिफ्ट गर्नुपर्ने देखिएको छ। आयोजनाबाटै राजमार्ग सिफ्ट हुने उनले जनाए। यसले पूर्व–उत्तरतर्फ पर्ने खुर्कोट मन्थली सडकलाई भने असर नगर्ने आयोजनाले जनाएको छ।

नदी किनारको राजमार्गसहित अन्य व्यक्तिको समेत जग्गा प्रभावित हुन सक्ने र प्रभावित हुने क्षेत्रको अध्ययनसमेत भइरहेको आयोजनाको भनाइ छ। सुनकोसीको पानी बाध बाँधेर १३ किलोमिटर लामो सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कशुमटारसम्म पु-याइने आयोजनाले जानकारी दिएको छ।

प्रकाशित: २३ जेष्ठ २०७६ ०३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App